s
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लाई श्रम मामिलाका अन्तर्राष्ट्रिय मापदण्डलाई सम्बोधन गर्ने गरी स्रोत र गन्तव्य देशबीच श्रम सम्झौता गराउन पहलकदमी लिन आग्रह गरेका छन् ।
दुईदिने नेपाल भ्रमणमा रहेका जेनेभास्थित आईओएम मुख्यालयका निर्देशक जोसेफ समुयल अपियाहसँगको भेटमा श्रममन्त्री भण्डारीले नेपाल सरकार र आईओएमको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली श्रमिकको अधिकार स्थापित गराउने गरी श्रम सम्झौता जरुरी रहेकामा जोड दिए ।
‘नेपालले १२ वटा श्रम गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । कतिपय श्रम सम्झौता परिमार्जनको प्रक्रियामा छन् । नेपाली श्रमिकको संरक्षण, सामाजिक सुरक्षाको प्रत्याभूति र पारदर्शी भर्ना प्रक्रियादेखि पुनः एकीकरणसम्मको चरणलाई समेट्ने गरी श्रम सम्झौता चाहिएको छ,’ श्रममन्त्री भण्डारीलाई उद्धृत गर्दै श्रम मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले भने । नेपालले कतार, जोर्डन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, मौरिसस, जापान, मलेसिया, बहराइन, गणतन्त्र कोरिया, जर्मनी र रोमानियासँग श्रम सम्झौता गरेको छ ।
श्रममन्त्री भण्डारीले नेपाली श्रमिकमाथि भइरहेको शोषणलाई हटाउन अनैतिक भर्ना प्रक्रियालाई रोक्न रणनीति बनाउन सहकार्य गर्नुपर्ने प्रस्ताव गरे । ‘नेपालको श्रम प्रशासनका संरचनाको क्षमता अभिवृद्धि, तथ्यांक व्यवस्थापन, अनुगमन र नीति निर्माणलाई अझ प्रभावकारी बनाउन आईओएमको प्राविधिक सहयोगको खाँचो छ,’ उनले भने, ‘ठगीरहित हुने गरी श्रमिकको भर्ना प्रक्रियालाई सहजीकरण गर्ने म्यानपावर कम्पनीका लागि चाहिने उपयुक्त मापदण्ड बनाई पारदर्शिता सुनिश्चित गर्न र श्रमिकसँग मर्यादित व्यवहार गर्ने प्रणाली विकास गर्न सहकार्य गर्न तयार छौं ।’
स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत रोजगारसम्बन्धी एकीकृत सेवा प्रदान गर्ने गरी काम अगाडि बढिरहेको श्रममन्त्री भण्डारीले जानकारी गराए । ‘रोजगारीसम्बन्धी सबै कार्य सञ्चालन गर्ने क्षमता विकास गरी रोजगार सेवा केन्द्रलाई नै बलियो बनाउने योजना बनाएको छु,’ उनले भने, ‘श्रम आप्रवासन र आन्तरिक रोजगारीमा योगदान गर्न सबै दातृ निकायसँग समन्वय भइरहेको छ ।’
सबैभन्दा बढी सहयोग चाहिने मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई उच्च जोखिमबाट निकाल्ने प्रयास भइरहेको श्रममन्त्री भण्डारीको भनाइ छ । ‘बेरोजगार र गरिबीको दर बढी भएको यी क्षेत्रका नागरिकलाई रोजगारी दिलाउने गरी कार्यक्रम अगाडि बढाएको छु,’ उनले भने ।
भेटमा आईओएमका निर्देशक अपियाहले श्रम आप्रवासनको क्षेत्रमा नेपालले गरिरहेको पहलकदमीको प्रशंसा गरे । ‘श्रम आप्रवासनको क्षेत्रमा नेपाल सरकारले लिएका नीतिगत पहलकदमीको हामी प्रशंसा गर्छौं,’ उनले भने, ‘पारदर्शी भर्ना प्रक्रिया, तथ्यांकको उचित व्यवस्थापन र श्रम सम्झौतामा हामी सहयोग गर्न तयार छौं ।’
शिष्टाचार भेटमा अपियाहको साथमा आईओएम नेपाल प्रमुख हेलेन फोर्स, आईओएम नेपालका आप्रवासन तथा विकास शाखा प्रमुख प्रज्वल शर्मा सहभागी थिए ।
Published on: 23 August 2024 | Kantipur
GET IN TOUCH