s
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकको लागि आवेदन दिएकाहरुको कागजी छानबिन भइरहेका बेला इजरायलले बिहीबार 'लक्की ड्र'बाट २२ सय जना छनोट गरेको छ । इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले 'लक्की ड्र'बाट २२ सय आवेदक छनोट गरेको हो ।
जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् । लक्की ड्रमा तेलअभिभस्थित नेपाली दूतावासका प्रतिनिधि समेत सहभागी थिएनन् । तर, काठमाडौंस्थित इजरायली दूतावासमा जेरुसेलममा गरिएको लक्की ड्र हेर्न परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व थियो ।
वैदेशिक रोजगार विभागले आवेदकहरुले पेस गरिएको कागजात छानबिन गरी ३४ सय ६१ जनाको अन्तिम नामावली लक्की ड्रको लागि इजरायल पठाएको थियो । विभागले आवेदकको नामवली इजरायल पठाए लगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नक्कली कागजात पेस भएको भन्दै उजुरी परेको थियो ।
श्रमले कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच भइरहेको भन्दै तत्काल लक्की ड्र अगाडि नबढाउन आग्रह गरेको थियो । मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले भदौ १२ गतेसम्म ३४ सय ३१ जनामध्ये १२ सय ८० जनाको कागजात छानबिन गर्दा ४३ जनाको कागजातमा कैफियत देखिएको छ ।
४३ जनामा उच्च शिक्षाको प्रमाणपत्र नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, तालिम प्रदायक संस्था सुचीकृत नभएको, तालिम प्रमाणपत्रमा उल्लेख भएको राहदानी सो प्रमाणपत्रभन्दा पछिको मितिमा जारी भएको, तालिमको अवधि पूरा नभएको लगायत कैफियत देखिएको छ ।
इजरायलले पारदर्शी ढंगले लक्की ड्र गरेको दाबी गरेको छ । श्रमको सहमति विना गरिएको यो लक्की ड्र विवादमा परेको छ । नेपाल र इजरायली पक्षबीच भएको श्रम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार दुवै पक्षको सहमतिमा छनोट गरिने उल्लेख छ ।
श्रम सहायक प्रवक्ता कविराज उप्रेतीले इजरायलसँगको द्विपक्षीय संबादबाट टुंगोमा पुर्याइने बताए । ‘यो सरकार–सरकारवीचको प्रक्रिया भएकोले हामी नक्कली कागजात बाहक आवेदक सहभागी नहोस् भन्नेमा छौं । नेपाल सीप भएको ब्यक्ति पठाउन चाहान्छ । हामी सक्कली प्रमाणपत्र भएको ब्यक्ति लक्की ड्रबाट छानियोस् भन्ने चाहन्छ । छानबिन भइरहेको हुदाँसम्म लक्की ड्र नगरौ भन्ने श्रम मन्त्रालयको चाहना थियो’, सहायक प्रवक्ता उप्रेतीले भने,‘यो सम्बन्धी इजरायलको तर्फबाट भएको प्रगति, अनुसन्धान समितिको सिफारीस, विद्यमान अवस्थाको विश्लेषण गरी द्विपक्षीय छलफलबाट भर्ना प्रक्रियालाई अगाडि बढाउछौं ।’
इजरायलले दुई हजार नेपाली केयर गिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले गत असार ११ देखि भर्ना छनोट प्रक्रिया अघि बढाएको थियो । सुरुमा इजरायलले ५ सय जना लैजाने भनेको थियो । त्यसका लागि तीन सय जनालाई वैकल्पिकमा राख्ने गरी ८ सय जना माग गरिएको थियो । तर, अनलाइनमार्फत चार हजार २४ जनाको उम्मेदवारी परेको थियो, जसमा दुई हजार दुई सय ९ जना पुरुष र एक हजार आठ सय १५ महिला छन् । यो निवेदनमाथि छानबिन गरी विभागले ३४ सय ३१ जनाको नामवाली पठाएको हो । यसमाथि पनि मन्त्रालयको उच्चस्तरीय समितिले छानबिन गरिरहेको छ ।
छनोट भएकाहरूको मासिक तलब ५८ सय ८४ इजरायली मुद्रा (करिब दुई लाख रुपैया) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ । छानबिन समितिले इजरायल र नेपालको सम्झौताअनुसार तोकिएको शर्तमाथि छानबिन गरिरहेको जनाएको छ ।
जसमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्ने प्रावधान छ । यो पटक भाषा परीक्षालाई थप पारदर्शी बनाउन भन्दै ब्रिटिस काउन्सिलबाट परीक्षा लिइएको छ ।
इजरायल जान छानिएका नेपाली कामदारले त्यहााको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ । इजरायलले २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयरगिभर लैजान थालेको हो । अहिलेसम्म १३ सय जना गइसकेका छन् ।
गत वर्ष असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रसाग जोडिएको इजरायलका विभिन्न ठाउँमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध थालेको कारबाही हालसम्म जारी छ । हमासको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि क्षेत्रमा गएकामध्ये १० नेपाली विद्यार्थी मारिएका थिए । कञ्चनपुरका विपिन जोशी हाल पनि हमासको कब्जामा छन् । हमास प्रमुख इरानमा मारिएपछि इजरायल–इरानबीच थप तनाव बढेको छ ।
Published on: 30 August 2024 | Kantipur
GET IN TOUCH