s
काठमाडौँ — श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन् । उनीहरूसँग पढ्न विश्वविद्यालय छैन, काम गर्न रोजगारदाता छैन र रुसमा बस्न भिसा छैन । विश्वविद्यालयमा पढ्ने र रोजगारीबाट पैसा कमाउने भनेर गएका उनीहरू काममा जोतिँदा कक्षा लिन सकेनन्, त्यसैले उनीहरूको भिसा पनि नवीकरण नभएकाले अब न पढाइ न रोजगारीको अवस्थामा पुगेका छन् ।
१० लाख रुपैयाँसम्म लगानी गरेर रुस पुगेका ती विद्यार्थी भिसा थप्न दलालको सहारा लिँदा झनै ठगिएका छन् । ती विद्यार्थीबाट भिसा नवीकरण गर्ने भन्दै करिब ३ करोड ५० लाख रुपैयाँ उठाएर दलाल फरार छन् ।
पीडितका अनुसार प्रतिविद्यार्थी १ लाख ६० हजार रुवेल (करिब २ लाख ३५ हजार रुपैयाँ) सम्म उठाइएको छ । पैसा उठाउनेमा सिन्धुलीका राजकुमार श्रेष्ठ, अर्जुनकुमार चौधरी र रोहण उप्रेतीलगायत रहेको पीडित विद्यार्थीको भनाइ छ ।
मस्कोमा रहेका सप्तरीका जीवस यादवले आफूहरू ठगिँदा एकैपटक सडकमा आइपुगेको बताए । ‘हामी डेढ सय जना घर न घाटका भयौं । हामीसँग रुसमा बस्ने भिसा छैन,’ उनले फोनमा भने, ‘न घर फर्कन सक्ने अवस्थामा छौं, न रुसमा बस्न पाउने अवस्थामा छौं । जता धाए पनि सहयोग पाइएको छैन, बिचल्लीमा छौं ।’
गत मंसिरमा रसियन भाषा पढ्न भन्दै ड्रिम कन्सल्टेन्सीलाई १० लाख रुपैयाँ तिरेर यादव मस्को पुगेका थिए । ‘कन्सल्टेन्सीले पढ्दै काम गर्न पाइन्छ, महिनामा ७० हजार रुवेल (करिब एक लाख रुपैयाँ) कमाउन सकिन्छ भन्यो । सुरुमा त ६ लाख लाग्छ भनियो, उड्ने बेलासम्म १० लाख पुग्यो,’ उनले भने, ‘शिक्षा मन्त्रालयबाट एनओसी पनि पाइएन, उनीहरूले भारतमा ७ दिनसम्म राखेर रुस ल्याए ।’
उनका अनुसार विश्वविद्यालय भर्ना भएपछि कन्सल्टेन्सीले भनेको भन्दा अवस्था फरक भयो । ‘विश्वविद्यालयमा साताको ५ दिन दैनिक ६ घण्टा पढ्नु पर्दोरहेछ, उता काम भने १२ घण्टाभन्दा कम गर्न नपाइने रहेछ,’ उनले भने, ‘नाइट ड्युटी गर्ने हो, दिनमा ३–४ घण्टा पनि सुत्न पाइएन ।’
गोरखाका सुजन मगरले पैसा खर्चेर रुसमा सित्तैमा काम गर्न आएजस्तो भएको बताए । ‘हामीले कमाएर रुसमा बस्न र पढाइ खर्च धान्नै सकिएन । पढाइ शुल्क मात्र १ लाख ७६ हजार ४ सय रुवेल (दुई लाख ५८ हजार रुपैयाँ) लाग्दोरहेछ । कोठाभाडा १२ हजार रुवेल लाग्छ । दैनिक १२ घण्टा खट्दा ६० हजार रुवेल आउँथ्यो,’ उनले भने, ‘सुरुसुरुमा काम गर्न नै सकिएन, ऋणसमेत तिर्न सकिएको छैन, अलपत्र परियो ।’
मगरले अर्को विश्वविद्यालयमा भिसा लगाउन खोज्दा आफूहरू सफल नभएको बताए । उनको भिसा अगस्टबाट सकिँदै छ । ‘ड्रिम कन्सल्टेन्सीलाई १० लाख तिरेर हामी ९ जना मस्कोमा पढ्न मंसिरमा आएका थियौं, कन्सल्टेन्सीले भनेजस्तो भइदिएन, हामीले १३ घण्टा नसुती नसुती कहिले रेस्टुरेन्ट त कहिले प्याकिङमा काम गर्नुपर्यो,’ उनले भने, ‘पहिलाको विश्वविद्यालयमा कोर्स सकियो, अर्को विश्वविद्यालयमा पढ्ने गरी भिसा लगाउन दलाललाई १ लाख २५ हजार रुवेल दिएका थियौं, तर दलाल भाग्यो ।’
भिसा नभएपछि आफूहरू सडकमा आइपुगेको उनले बताए । ‘कम्पनीले काम गर्ने भए भिसा लिएर आइज भनिरहेको छ । होस्टलमा बस्नसमेत भिसा चाहिन्छ । भिसा नभएपछि होस्टलबाटै निकालिएका छौं,’ उनले भने, ‘कोही पार्कमा गएर बसिरहेको अवस्था छ । होस्टलमा बस्न नपाएपछि कतिपय साथीहरू १०–१२ दिनदेखि एउटै लुगा लगाएर हिँडेका छौं ।’ नेपालगन्जकी रिना शाह (नाम परिर्तवन) को भिसा जुलाईमै सकिएको हो । नेपालगन्जस्थित ल्यान्डमार्क कन्सल्टेन्सीलाई ८ लाख रुपैयाँ तिरेर मस्को आएकी शाहीले अध्ययन र काम एकसाथ सम्भव नरहेको बताइन् ।
‘शैक्षिक परामर्शदाताले भनेजस्तो काम र अध्ययन सँगैसँगै गर्न सकिँदैन । रसियन सोसल विश्वविद्यालयमा आएकी थिएँ, इन्फर्मेसन टेक्नोलोजीमा भिसा दियो । १२ घण्टाभन्दा तल काम नै गर्न पाइँदैन । हामीलाई कलेज पनि लगिएन,’ उनले भनिन्, ‘मेरो समूहमा ७ जना आएका थियौं । सोचेको जस्तो नभएपछि तीन जना साथी रसियन सेनामा भर्ना भए । तीमध्ये दिनेश नायक ८ महिनादेखि बेपत्ता छन् । दुई जना सेना छोडेर नेपाल पुगिसके । एक जना घाइते थिए । म र अर्को एक जना सँगै अलपत्र अवस्थामा छौं ।’
आफूले अर्को एक विश्वविद्यालयमा भिसा लगाउन दलाललाई पैसा दिएको तर त्यसमा भिसा नलागेपछि एक लाख ६० हजार रुवेल लिने दलाल फरार भएको उनले बताइन् । ‘एक महिनादेखि कोठाभित्रै छु, बाहिर निस्कनसमेत सकेको छैन । जुलाईदेखि काम गरेकी छैन । होस्टलमा बस्न नाम दर्ता गर्नुपर्छ, त्यसका लागि भिसा चाहिन्छ,’ उनले भनिन्, ‘हाम्रो त बिजोग नै भयो । हामीलाई ठगी गर्नेलाई कारबाही गर्न र भिसा नवीकरणका लागि सहजीकरण गर्न नेपाली दूतावासलाई अनुरोध गर्छौं ।’
दूतावासमा ४० विद्यार्थीले दलालमाथि कारबाही गर्न र आफूहरूको भिसा सहजीकरण गरिदिन अनुरोध गरेका छन् । दूतावासले ती विद्यार्थी स्वदेश फर्कनुको विकल्प नभएको जनाएको छ । ‘धेरै विद्यार्थीको भिसा सकिँदै छ, हामीलाई भिसा थपका लागि सहजीकरण गर्न निवेदन परेको छ,’ दूतावासका प्रवक्ता सुशील घिमिरेले भने, ‘भिसा अवधि समाप्त भएपछि स्वदेश फर्कनुभन्दा दोस्रो विकल्प छैन ।’
पीडित विद्यार्थीले आफूहरू रुसमा आएपछि थप ऋणमा डुबेको र दलालद्वारा पनि ठगिएको बताए । ‘रुसमा दलालबिना केही काम गर्न सकिँदैन । काम खोज्ने, डेरा खोज्नेदेखि भिसा नवीकरणसम्म दलाल नै खोज्नुपर्ने रहेछ,’ दुई वर्षअघि रुस पुगेका एक विद्यार्थीले भने, ‘गत वर्ष त थपिएको थियो, यो वर्ष भने थप गर्न नसक्ने भयौं ।’
गैरआवासीय नेपाली संघ रुसका महासचिव मिलन कट्टेल कक्षा निरन्तर गर्न नसक्नेलाई विश्वविद्यालयले निकालिदिने बताउँछन् । ‘नेपालका एजेन्ट (शैक्षिक परमर्शदाता) ले रुस पुगेपछि युरोप छिर्न पाइन्छ र रुसमै पनि काम पाइन्छ भनेर विद्यार्थी पठाउँछन् । त्यसरी आउनेमा कमै मात्र सरकारी विश्वविद्यालयका विद्यार्थी हुन्छन् । भाषा सिकाउने जस्ता निजी विश्वविद्यालयमा नियमित कक्षा लिनुपर्छ, पढ्न रकम तिर्नुपर्छ,’ उनले भने, ‘यहाँ पढाइ र काम सँगसँगै सम्भव छैन, गर्न पनि पाइँदैन । जसले गर्दा विद्यार्थी काम गर्नतिर लाग्छन्, काम गर्दा विश्वविद्यालयबाट निस्कनुपर्छ ।’ रकम भुक्तानी गर्न नसक्ने विद्यार्थी पनि विश्वविद्यालयबाट निकालिन्छन् । ‘त्यसरी निस्किएका विद्यार्थीलाई अरू विश्वविद्यालयबाट भिसा लगाइदिने भन्दै रकम लिने दलालहरू सक्रिय छन्,’ उनले भने, ‘अहिले समस्यामा परेका विद्यार्थीको अवस्था यस्तै हो ।’
उनका अनुसार रुसी सेनामा भर्ती हुने नेपालीमा यसरी आएका विद्यार्थी धेरै छन् । लाखौं खर्चेर पढ्दै कमाउने सपना बोकेर पुगेकाहरू काम गरे पनि रकम बचत गर्न नसक्दा रुसी सेनामा भर्ती भएका हुन् । रुसी सेनामा विद्यार्थी भर्ती हुनेक्रम बढेपछि नेपाली दूतावासले काम गर्ने गरी पढ्न नआउन सूचना नै जारी गरी सचेतसमेत गराएको थियो ।
‘रुसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढिरहेको छ । त्यसरी आउने विद्यार्थीमध्ये अधिकांश नेपाली यथेष्ट आर्थिक उपार्जनको अवसर रहेको एवं सहजै युरोप प्रवेश गर्न सकिने जस्ता प्रलोभनमा परी आउने गरेको पाइएको छ,’ दूतावासले २०७९ पुस १ मा जारी गरेको सूचनामा भनिएको थियो, ‘नेपालका शैक्षिक परामर्श केन्द्रको झूटा र अव्यावहारिक आश्वासनमा परेर रुस आउने नेपालीले यहाँ आएपछि कबुल गरेबमोजिम अवसर नपाएको र दैनिकीसमेत कष्टकर रहेको भनी सम्पर्कमा आउने क्रम बढ्दो छ । रुसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासनमा नपर्न अनुरोध गरिएको छ ।’
Published on: 29 August 2024 | Kantipur
GET IN TOUCH