s
१४ साउन, काठमाडौं । युएईबाट ४ घण्टा लामो हवाई यात्रापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए भुवन श्रेष्ठ ।
सात वर्षपछि नेपालको भूमिमा टेक्दा उनी एकाएक भावुक भए । भुईँमा घोप्टो परे, शीरले माटो छोए । सम्हालिन खोज्दाखोज्दै आँखा रसाइहाले । निकैबेर भक्कानिए ।
नयाँ जीवन पाएर देश फर्किँदाको खुसी थियो त्यो । ‘मलाई लाग्थ्यो, म कहिल्यै फर्कन पाउँदिन’, भुवनले भावुक हुँदै भने, ‘तर आज म यहाँ छु नयाँ जीवन पाएर ।’
रोजगारीको खोजीमा सन् २०१७ मा खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका ओखलढुंगाका २९ वर्षीय भुवन श्रेष्ठले जे भोगेर फर्किए, त्यो पुनःजन्म पाएजस्तै थियो ।
उनलाई नेपाली सहकर्मीको हत्याको आरोपमा साउदीमा मृत्युदण्डको सजाय सुनाइएको थियो । ब्लडमनीबाफत ५० लाख रुपैयाँ बुझाएपछि जेलमुक्त भएका उनी बिहीबार नेपाल आइपुगेका हुन् । त्यही अभियोगमा भुवनसँगै धादिङका पहलमान थापालाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । सँगै सफाइ पाएका उनी भने केही दिनपछि मात्र स्वदेश फर्किने तयारीमा छन् ।
‘गल्ती विनाको सजाय’
२०१७ मा परदेश गएका थिए भुवन । ओखलढुंगाका भुवन, धादिङका पहलमान र नवलपरासीका बाबुराम आले युएईको एक निर्माण कम्पनीमा स्क्र्याफफोल्डर रुपमा काम गर्थे । कम्पनीको क्याम्पमा सँगै बस्थे । भुवन र पहलमान रुम पार्टनर थिए । बाबुराम भने दुईकोठा पर अर्को कोठामा सुत्थे ।
‘उमेरमा तीन/चार वर्ष जेठो भएकाले हामी (बाबुरामलाई) दाइ भनेर भनेर बोलाउँथ्यौं । काम पनि सँगै र बस्ने पनि सँगै भएकाले हामी मिल्थ्यौं । दुःख सुख साट्थ्यौं’ उनले भने, ‘एकदमै सहज र सहयोगी उहाँले पनि कहिल्यै नराम्रो व्यवहार गर्नु भएन ।’ नमिठो बोलीबचन समेत गर्नु नपरेको उनी सुनाउँछन् ।
२०१९ जुन ३ को दिन । सधैँझै उनी र पहलमान कामबाट बेलुका ६ बजे क्याम्प फर्किए । त्यसदिन बाबुराम भने काममा गएका थिएनन् । बेलुका कोठामा फकिएपछि मात्र उनीहरुको भेट बाबुरामसँग थियो । ‘खाना बनाउने भन्सा एउटै थियो, आ–आफ्नो खाना बनाएपछि बाबुराम दाइसहित ८/१० जना बाहिर हावा खाना गयौं’ उनले भने, ‘केहीबेर हिँडेपछि कोठामा फर्कायौं ।’
भुवनका अनुसार कोठा फर्कदासम्म बाबुराम ठीकठाक थिए । राति करिब १० बजे खाना खाएर सबै आ–आफ्नो कोठामा सुत्न गए । भुवन र पहलमान पनि आफ्नो कोठामा गएर पल्टिए । बाबुराम चाहिँ नेपाली र भारतीय नागरिकसँग अर्काे कोठामा गए ।
करिब २ घण्टापछि रातको १२ बजेतिर बाहिरको हो–हल्लाले उनीहरु ब्यूँझिझे । ‘बाबुराम दाइ बिरामी भएको भनेर बाहिर हो–हल्ला गरिरहेका थिए’ उनले भने, ‘हामी बाहिर जाँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । हामीले घटना के हो भनेर पनि बुझ्न पाएका थिएनौं ।’
प्रहरीले क्याम्पमा बस्ने १०/१५ जनालाई नियन्त्रणमा लियो । अरुलाई केही दिनमा छाड्यो, तर भुवन र पहलमानलाई चाहिँ राख्यो । ‘बाबुराम दाइ प्राय हामीसँगै हुने भएको क्याम्पको इन्चार्जले प्रहरीलाई पहलमान र मेरो नाम दिएको रहेछ’, भुवनले भने, ‘जबकी त्यो बेलासम्म हामीलाई बाबुरामको मृत्युको भएको कुरा थाहा थिएन । घटनाको २६ दिनपछि मात्र दाइको मृत्यु भएको थाहा पायौं ।’
प्रहरी हिरासतमा उनीहरुले १७ महिना बिताए । त्यतिञ्जेल उनीहरुले आफूहरु निर्दाेष भएको बताइरहे । तर प्रहरीले सुन्दै नसुनेको भुवन बताउँछन् । ‘भाषा नबुझेकाले पनि आफ्नो कुरा राख्न समस्यमा भयो’, उनले भने, ‘प्रहरीले पनि हाम्रो कुरा सुन्न चाहेन । बरु यातना दिएर जबर्जस्ती कागजमा हस्ताक्षर गर्न लगायो । त्यसमा के लेखिएको थियो, हामीलाई थाहा भएन ।’
१७ महिनापछि उनीहरुलाई अदालतमा पेश गरियो । अदालतमा न्यायाधीशले ‘हो’ वा ‘होइन’ को प्रश्नमात्र सोधे । त्यहाँ पनि उनीहरुले आफूहरु निर्दाेष भएको बताउन चाहेका थिए । तर न्यायाधीशले त्यो मौका नदिएको उनी बताउँछन् ।
‘हामीलाई हत्या भएको हो कि हैन भन्ने नै थाहा थिएन’, उनले भने, ‘हत्या नै भएको रहेछ भने पोर्टमार्टम रिपोर्ट देखाऊ भनेका थियौं । तर त्यो पनि उनीहरुले देखाउन मानेनन् । निर्दाेष छौं भनेर बताउँन खोज्यौं तर हाम्रो केही लागेन ।’
सन् २०२१ मा अगस्टमा युएईको अदालतले भुवन र पहलमान दुबैलाई मृत्युदण्डको फैसला सुनायो । अदालतले ब्लडमनी दिए माफी दिनसक्ने वा फासी नै दिने अधिकार मृतकका परिवारलाई दियो ।
अर्थात ब्लड मनी लिएर दुबैलाई रिहा गर्ने कि मृत्युदण्ड नै दिने भन्ने अधिकार बाबुरामको परिवारको हातमा आयो । मृतक बाबुरामको परिवारले एक करोड १५ लाखको ब्लडमनी माग्यो । दुई जनाले करिब ५५/५५ लाख जति ब्लड मनी बुझाउनुपर्ने भयो ।
जेलमा रहेका भुवन र पहलमान फैसलाले स्तब्ध थिए । परिवारले चाहेर पनि बुझाउन सक्ने अवस्था थिएन । आर्थिक अवस्था कमजोर भएकै कारण भुवन गाउँमा वृद्ध बुबाआमालाई छोडेर खाडी गएका थिए । पहलमानको अवस्था पनि नाजुक थियो । ‘घरजग्गा बेच्दा पनि आधा पैसा आउँदैनथ्यो’, उनी भन्छन्, ‘त्यत्रो पैसा उठाउन सक्दैनथ्यौं । त्यसैले जेलमै सड्ने पक्का पक्की थियो ।’
तर परिवारले हार मानेन । मृतक बाबुरामको परिवारलाई माफी दिन आग्रह गरे । तर मृतक परिवार ब्लड मनी नबुझाएसम्म माफीमिनाहा दिन सहमत भएनन् ।
ब्लड मनी बुझाउन नसक्ने भएपछि भुवनले विदेशी भूमिमा मृत्युदण्ड निश्चत भएको स्वीकार गरे, दिनरात रोएरै बिताउन थाले । ‘मृत्युदण्ड सुनाएपछि जीवन सकियो भन्ने सोच्यौं रुदै कराउँदै बस्न थाल्यौं’, भुवन भन्छन्, ‘‘गल्ती गरेको भए जस्तोसुकै सजाय भोग्न पनि तयार हुन्थ्यौं, तर हामी गल्ती नै नगरी जेलमा जानुपरेको थियो । त्यो कुरा सम्झदा झन् धेरै पीडा हुन्थ्यो ।’
जेलमा बस्दाबस्दै उनीहरुले ब्लड मनी बुझाउन नसकेर जेलमा बस्दाबस्दै मृत्युवरण गरेको पनि देखे । जेलमा भएकाहरुलाई लगेर फासी दिएको खबरहरु पनि सुने । यसले उनीहरुको मनमा अझ आँधीबेहरी ल्याउँथ्यो । ‘मृत्यु पक्का देखेपछि देश सम्झिएँ, घर सम्झिएँ । बुढा बा–आमा सम्झिएँ’, भुवन भन्छन्, ‘कहिल्यै घर फर्किन पाउदिँन भन्ने चिन्ताले म त डिप्रेसनमा गएछु ।’
भुवनका वुद्ध बुबा आमा भने परदेशमा छोराको मृत्यु भएको खबर सुन्न तयार थिएनन् । ६५ वर्षीय बाबु यमबहादुर, छोराको ज्यान बचाउन ब्लडमनी जुटाउन लागे । उनले आफन्त, छरछिमेक र भुवनका साथीभाइबाट सहयोग संकलन सुरु गरे । कहिले मिडियामा रुदै आसु बगाए, कहिले सरकारी निकायमा सहयोग माग्दै भक्कानिदै रुन थाले ।
केही समयपछि अभियानमा पहलमानको परिवार पनि जोडियो । दुवै परिवारले दिनरात गरेर सहयोग संकलन थाले । परदेशमा नेपाली मृत्युदण्डको सजाय पाएको खबर थुप्रै नेपालीको मन हृदय छोयो सायद । छोटो समयमै राम्रो सहयोग उठ्यो । ५/६ महिनाको अवधिमा १ करोड १५ लाख रुपैयाँ रकम जम्मा भयो ।
‘खुसीले रोए’
भुवन र पहलमानका परिवारले मृतक परिवारलाई ब्लडमनी बाफत पैसा गत चैतमा बुझाए ।
जेलमा रहेका भुवनले पनि त्यो खबर पाए । त्यसपछि कहिले छुटौंला भन्ने हुन थाल्यो । पीडित परिवारले ब्लडमनी बुझेपछि माफीमिनाहा दिएको पत्र युएई पठाउनुपथ्र्याे । त्यसलाई अदालतमा पेश भएपछि उनीहरु रिहा हुनसक्थे ।
करिब चार महिना लामो प्रक्रिया पार गरेपछि गत मंगलबार अदालतले भुवन र पहलमानलाई छोड्ने आदेश दियो । ‘यहाँबाट जिउँदै फर्कन्छु भन्ने आश मरिसकेको थियो’, भुवन भन्छन् भन्छन्, ‘छुट्ने खबरले खुसीले एकछिन उफ्रिए । बाँचेर फर्कन पाउने भयौं भनेर धेरैबेर दुबै जना अंगालो हालेर रोयौं ।’
गत बिहीबार भुवन नेपाल आइपुगे । नेपाल फर्किएलगत्तै उनले केहीदिन काठमाडौं दाइको घरमा बसे । आफन्तसँग भेटघाट गरेर काठमाडौं छाड्नुअघि भुवनले अनलाइनखबरसँग भने, ‘बुबाआमा नदेखेको वर्षाैं भयो । एकदमै मन अत्तालिएको छ ।’
पाँच वर्ष दुई महिना जेल बसेका उनी सकुशल फर्कन पाएकोमा खुसी छन्, तर विना कसुर परदेशमा जेल बस्नु पर्दा दुःखी छन् । ‘गल्ती नै नगरेको घटनामा सजाय भोग्नुपर्यो’ उनले भने, ‘यतिका वर्ष शारीरिक, मानसिक, तनाव झेल्नु पर्यो ।’
त्योभन्दा धेरै दुःख चाहिँ आफूलाई मुत्युदण्डकै सजाय सुनाउने गरी भएको बाबुरामको मृत्यु के कारणले भएको थियो भन्ने थाहा हुन नसकेकोमा छ । बाबुरामको मृत्युलाई लिएर उनको मनमा अहिले पनि थुप्रै अनुत्तरित प्रश्न छन् ।
पहिलो, बाबरामको हत्या भएको कि अरु कारणले मृत्यु भएको भन्ने यकिन हुनसक्ने पोर्टमार्टम रिपोर्ट किन देखाइएन ?
दोस्रो, हत्या भएको हो भने बाबुरामको कोठामा रहेका सहकर्मीहरुले किन देखेनन् ?
क्याम्पका इन्चार्जले दिएको नामको आधारमा आफूहरुले अनाहकमा सजाय भोग्नुपरेको भन्दै उनले भने, ‘परदेशमा हाम्रो केही लाग्दैन रहेछ । हाम्रो कुरा कसैले नसुन्दा रहेछन् । निर्दाेष छौं भनेर भन्दाभन्दै पनि हाम्रो कुरा कसैले सुनेन ।’
तर भुवनले नमिठो विगत भुल्न चाहेका छन्, आफूलाई नयाँ जीवन दिनेहरुलाई माया साट्न चाहेका छन् । मृतक बाबुरामको परिवारसँग सम्पर्क गर्न चाहेका थिए, तर तत्काल सम्भव नभएको उनले सुनाए । ‘जे जस्तो दुःख भोगे पनि सबै नेपालीहरुले मलाई नयाँ जीवन दिनुभयो’ भुवन भावुक भए, ‘त्यो माया नपाएको भएर सायद म बाँचेर फर्किँदैन थिएँ होला ।’
Published on: 30 July 2024 | Onlinekhabar
GET IN TOUCH