s
ललितपुर — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायत सरोकारवालाहरूले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपाल, होटल एशोसियशन नेपाल र नेपाल उद्योग परिसङ्घले संयुक्तरूपमा बिहीबार आयोजना गरेको शिक्षा र रोजगारी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा उनीहरुले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताए ।
'शिक्षा र उद्योग सँगसँगै गएनन भने अब देशको विकास हुनसक्दैन । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरी नीति निर्माण गर्न छलफल गरिरहेका छौं । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएका यहाँ योगदान गर्ने जनशक्ति तयार गर्न सकेनौँ, यसमा सरकारको ध्यान गएको छ' शिक्षामन्त्री भट्टराईले भनिन् ।
मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले बनाउने पाठ्यक्रममा ज्ञान, सीप र कलालाई श्रम तथा समाजसँग जोड्ने गरी निर्माण गरिनुपर्ने उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान दिएर अगाडि बढेको धारणा राखिन् ।
'त्यतिबेलाको आवश्यकता अहिलेको अवस्थासँग समय सान्दर्भिक रहेको देखिँदैन, समय धेरै परिवर्तन भएको छ, नयाँ प्रविधिको विकास भएको छ, अब सिटिइभिटीको पुनःस्थापना गरिनुपर्छ, यसका लागि संसद्मा विद्येयक प्रस्तुत गर्ने तयारी भएको छ', मन्त्री भट्टराईले भनिन् ।
सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले विश्वलाई उपयोगी हुने व्यावसायिक शिक्षा सिटिइभिटीले काठमाडौँको बालाजु र दोलखाको जिरीमा सञ्चालन गरिरहेको जानकारी दिए । उनले उद्योगको आवश्यकता अनुसारको जनशक्ति तयार गर्न पाठ्यक्रम विकास गरेर लागू गर्न सकिने बताए ।
नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले कुनै पनि व्यवसाय र संस्था सञ्चालन गर्न जनशक्ति बलियो हुनुपर्ने भन्दै अटोमोबाइल क्षेत्रका धेरै जनशक्ति पलायनको समस्याले धेरै यस क्षेत्रमा चुनौती थपिएको बताए । 'अटोमोबाइल क्षेत्र परिवर्तनशील छ, विद्युतीय सवारी साधनको बजारीकरण तीव्र रुपमा अगाडि बढ्दै गएको छ, साना–साना काम गर्नेदेखि कम्पनीको मालिकसम्मलाई रोजगारी दिनसक्ने यस क्षेत्रलाई देशभित्रै दक्षजनशक्ति आवश्यक छ, अटोमोबाइल क्षेत्रका लागि दक्षजनशक्ति सिर्जना गर्नु अत्यन्तै जरुरी छ', उनले भने ।
होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समर्पण र क्षमता प्रदर्शन गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता होटल क्षेत्रमा रहेको बताए । उनले उद्योग व्यवसायको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्न नवीन सोच र नवप्रवर्तनका काममा सहकार्य गर्न सिटिइभिटीलाई आग्रह गरे ।
नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग व्यवसायमा आवश्यक सीपयुक्त दक्ष जनशक्तिको परिपूर्ति गर्न तालिम तथा रोजगारमूलक प्रशिक्षण दिएर सीप परीक्षण गरिनुपर्नेमा जोड दिए ।
नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको समन्वयमा भएको कार्यक्रममा एजुकेसन सिस्टम ई.टि.एच. ज्युरिकका प्रमुख प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने कुराको सुनिश्चितताका लागि उद्योगसँगको साझेदारी महत्वपूर्ण हुने बताइन् ।
स्विस दुतावासका डेप्युटी हेड अफ मिसन माथियास मेईरले स्विटजरल्याण्डले ड्वेल-भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा विगत एक वर्ष भन्दा लामो समय देखि प्रवर्धन गर्दै आइरहेको छ बताए ।सेमिनारमा दुई वटा प्राविधिक सत्रहरु थिए । जसमा रोजगारदाताका आवश्यकता र उत्पादनबीचको दुरीलाई कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
Published on: 30 August 2024 | Kantipur
GET IN TOUCH