s

वैदेशिक रोजगार : लैङ्गिक हिंसाको कारण कि हिंसाबाट पन्छिने उपाय?

Author(s): स्वर्णकुमार झा

Year of Publication: 2018

काठमाडौँ — २०७५ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म सञ्चालन गरिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्रीले लैङ्गिक हिंसाको मुख्य कारण मध्ये वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिटेन्स भएको औंल्याएको समाचार आएको छ ।

साथै लैङ्गिक हिंसा अन्त्यका लागि वैदेशिक रोजगारीमा जाने परिपाटीको अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएको बताइएको छ।तर, हाम्रो अध्ययनमा वैदेशिक रोजगारबाट फर्केर आएका कतिपय महिला कामदारले लैङ्गिक हिंसा र विभेदबाट छुट्कारा पाउनकै लागि वैदेशिक रोजगारीमा गएको अनुभव पनि सुनाएका छन्। यही सन्दर्मा केही अनुभव साटौँ भन्ने विचारले दुईचार शब्द लेख्ने प्रयास गर्दैछु।

राष्ट्रिय जनगणना—२०६८ अनुसार नेपालको कूल जनसंख्या लगभग २ करोड ६५ लाख छ। जसमा महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ। त्यस संख्यामा पनि २ लाख ३७ हजार ४ सय जना महिला नेपालमा अनुपस्थित देखिन्छन्। जसमध्ये अधिकांश महिला वैदेशिक रोजगारी गर्ने उद्देश्यले नेपाल बाहिर गएका हुन् भन्ने विश्वास गरिएको छ। पछिल्ला दुई आर्थिक वर्ष (२०७३/७४ र २०७४/७५) को तथ्यांक हेर्ने हो भने कामको खोजीमा हजारौं महिलाहरू विदेशिएका छन्। वैदेशिक रोजगार विभागबाट उक्त दुवै आवमा महिलाहरूको लागि २०–२० हजार भन्दा बढी श्रम स्वीकृति जारी गरिएको छ। अवैधानिक हैसियतमा विदेशिने महिलाहरूको त कुनै तथ्यांक नै छैन।

वैदेशिक रोजगारबाट आर्जन गरी पठाईने रेमिटेन्सले रोजगारीमा गएका घरपरिवारलगायत नेपालको अर्थतन्त्रमा ठूलो महत्व बोकेको छ। महिलाले पठाउने रेमिटेन्सले उनीहरूको घरपरिवार चलाउन पुर्याएको योगदान पनि कम छैन। यो कुरा विभिन्न अध्ययनले पनि देखाएका छन्।

यति हुँदाहुँदै पनि महिलाहरूबाट हुने वैदेशिक रोजगारलाई घरपरिवार तथा समाजले सजिलै स्वीकार्न सक्ने स्थिति रहेको देखिँदैन। जसका कारण रोजगारीबाट फर्केपछि उनीहरूलाई परिवार र समाजमा पुनर्स्थापित हुन विभिन्न समस्या र चुनौतीहरूको सामना गर्नुपर्ने स्थिति रहेको छ। तथापि महिलाहरूबाट हुने वैदेशिक रोजगारको सकारात्मक पक्षको चर्चा गर्दा यसबाट महिलाहरूको आत्म सम्मान, आत्म विश्वास र व्यक्तिगत स्वतन्त्रता जस्ता कुरा रोजगारीमा नजाँदाको तुलनामा बढेको देखिन्छ। तरपनि सबै घरपरिवारमा वैदेशिक रोजगारमा गएका महिलाहरूको स्थिति यस्तै छ भनेर भन्न भने सकिन्न।

रोजगारीमा जाने सन्दर्भमै केही महिलाहरू आत्म सम्मान र व्यक्तिगत स्वतन्त्रताकै लागि गाउँ समाज, परिवार वा श्रीमान्बाट टाढा भएर वैदेशिक रोजगारमा जाने गरेको पनि देखिएको छ। गाउँ समाज, परिवार अनि श्रीमान्बाट टाढिएर वैदेशिक रोजगारमा जाने कसलाई पो रहर हुन्छ र? आखिर किन आत्म सम्मान र स्वतन्त्रताका लागि महिलाहरू गाउँ समाज, परिवार वा श्रीमान्बाट टाढिएर बस्ने वा भनौं (पुनः) वैदेशिक रोजगारमा जाने परिस्थिति सिर्जना हुन्छ त? त्यस बारेमा पनि सार्वजनिक बहस हुनु आवश्यक छ।

यस सन्दर्भमा थप चर्चा गर्दा विगत ५ वर्षमा हामीले सामाजिक अध्ययनका क्रममा नेपालको हिमाल, पहाड, तराईका विभिन्न जिल्लाहरूको भ्रमण तथा वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरूसँग कुराकानी गर्दा— श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने, मादक पदार्थको नशामा जथाभावी गालीगलौज गर्ने, परिवारको लागि आम्दानी नजुटाउने बरु उल्टै श्रीमतीको कमाइ पनि मादक पदार्थ खाएर सक्ने। त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएकी महिलालाई परिवार तथा समाजले शंकास्पद दृष्टिले हेर्ने, लान्छना लगाउने आदि जस्ता कारणले पनि गाउँ समाज, परिवार वा श्रीमानबाट टाढिएर महिलाहरू (पुनः) विदेश जाने गरेको विभिन्न अध्ययनबाट देखिएको छ। अर्थात् समाज र घर परिवारबाट लान्छना लगाइनुका साथै श्रीमानबाट शारीरिक तथा मानसिक यातना दिइँदा अनि पीडाबाट आहत बनेका महिला आफ्नो आत्म सम्मानका लागि, व्यक्तिगत स्वतन्त्रताका लागि वा सो पीडाबाट छुट्कारा पाउनकै लागि पनि परिवार र गाउँ समाजबाट टाढिन्छन्। यसै सिलसिलामा वैदेशिक रोजगारीबाट फर्किएर आएकी एकजना महिलाले आफ्नो अनुभव साट्दै भनेकी थिईन्, “घरमा न लोग्ने न सासू ससुरा, कसैको आडआधार केही थिएन। विदेश जानुभन्दा अघि बुढाले कति पिटे कति, अति भएर विदेश गएँ।”

त्यस्तै अर्की एकजना महिलासँगको कुराकानीमा उनको पनि उस्तै अनुभव रहेको थियो, “श्रीमानले झुक्याएर बिहे गरे, कमाइ पनि नगर्ने अनि मेरो कमाइ पनि रक्सीमा उडाएर कुट्ने पिट्ने गर्थे। त्यसैले उनीबाट टाढिएर विदेश गएँ।” त्यस्तै अर्की एकजना महिलाले भनिन्, “श्रीमान विदेश छँदा ममाथि शंका गर्थे। मैले घर बाहिर हिँड्डुल गरेको, काम गरेको अनि अरूसँग बोलचाल गरेको उनलाई मन पर्दैन थियो। फोनमा जहिले पनि त्यस्तो नगर भन्ने कुरा मात्रै गर्थे। यी सबैबाट दिक्क भएर म विदेश गएँ।” ती सबै महिला पात्रहरूले व्यक्त गरेका अनुभवले सिंगो नेपाली समाजको प्रतिनिधित्व गर्दै महिलाहरूमाथि हुने गरेका दुर्ब्यवहार तथा शारीरिक अनि मानसिक यातनालाई प्रष्ट्याउने प्रयास गरेको छ।

नेपालको संविधानले आफ्ना नागरिकलाई वाक स्वतन्त्रताका साथै जीविकोपार्जन गर्ने स्वतन्त्रता प्रदान गरेको छ। महिलाको हकमा पनि यो कुरा उत्तिकै लागू हुन्छ। महिलालाई पनि घरबाहिर हिँड्डुल गर्न, काम गर्न अनि अरूसँग बोलचाल गर्न पुरुष जत्तिकै अधिकार छ। तर त्यसको विपरित महिलाहरूबाट माथि अभिव्यक्त भएका अनुभवहरूले हाम्रो समाजमा पितृ सत्तात्मक सोच कति हावी छ भन्ने झल्काउँछ। हामी पितृ सत्तात्मक सोच भएको समाजमा हुर्केका छौँ। हाम्रो सामाजिकीकरण पनि त्यस्तै नै भएको छ। एउटी महिलाले बुवा, दाजुभाई, श्रीमान जस्ता विभिन्न रुपमा पुरुष सदस्यबाट सहयोग नलिई कुनै कामका निम्ति अग्रसर हुन सक्दिनन् भन्ने मान्यता समाजमा व्याप्त छ। लैङ्गिक असमानताका कारण पुरुषको इच्छा, आकांक्षालाई समाजमा जति सरल रूपमा ग्रहण गरिन्छ, महिलाका तिनै इच्छा, आकांक्षालाई अझ पनि सजिलै स्वीकार्न सकिने अवस्था छैन। तथापि महिलाले गरेको तथा गर्न चाहेको आय आर्जनलाई पुरुषले सम्मानजनक तरिकाले नलिनु जायज हुँदैन।

सम्मानपूर्वक बाँच्न पाउनु सबैको हक हो। चाहे त्यो पुरुष होस् वा महिला। संविधानको धारा १६ ले पनि सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरेको छ। त्यसमा कसैलाई विभेद गरेको छैन। अनि पुरुषबाट ती कुरामा महिलालाई विभेद किन? मादक पदार्थ सेवन गरेर श्रीमती कुट्नु र गालीगलौज गर्नुमा पुरुष र श्रीमान हुनुको कुनै सकारात्मक अर्थ बोध हुँदैन। बरू महिलाले गरेको आयआर्जन तथा उनलाई पनि सम्मान दिन सक्नुमा असल श्रीमान तथा पुरुषको परिचय झल्किन्छ। महिलाले गाउँ समाज, घरपरिवारमा बस्न सक्ने, काम गर्न सक्ने वातावरण पाएको भए उनी ती सबै कुरा त्यागेर टाढा अथवा विदेश जाँदिन थिईन् होला। यसको अर्थ यो पनि होइन कि महिलाहरूलाई वैदेशिक रोजगारमा जाने इच्छा हुँदैन। उनको इच्छालाई पनि हामीले सम्मान गर्नुपर्छ। साथै वैदेशिक रोजगारीबाट फर्किएपछि महिलाहरूलाई नकारात्मक दृष्टिकोणले हेर्ने, व्यवहार गर्ने र लान्छना लगाउनुभन्दा पनि गाउँसमाज, घर परिवारलगायत श्रम बजारमा उनीहरूलाई पुनर्स्थापित हुने अवसर दिईनुपर्छ। समग्रमा महिलाहरूले पनि घरपरिवार र समाजमा सम्मानजनक जीवनयापन गर्न पाउनुपर्छ। जसका लागि घरपरिवार र समाजमा त्यस अनुरुपको परिवेश तयार गर्नु आवश्यक छ। साथै वैदेशिक रोजगारलाई फरक दृष्टिकोणबाट हेर्न पनि जरुरी छ |
 
प्रकाशित: मंसिर १६, २०७५
कान्तिपुर  
 
Link

Back to list

;