s
यस अध्ययनमा सन् २०१५ पछि नेपालबाट अन्तर्राष्ट्रिय मुलुकहरूमा हुने मानव बेचबिखनका मार्गहरूमा भएका परिवर्तनहरूका बारेमा बुझ्नका लागि नेपालबाट मानव बेचबिखनमा संलग्न भएका विभिन्न व्यक्तिहरूबारे समाचारहरुमा गरिएको चित्रणलाई विश्लेषण गरिएको छ। यस अध्ययनका निष्कर्षहरू सन् २०१६ देखि २०२० सम्मको पाँच वर्षको अवधिमा नेपालका छ वटा राष्ट्रिय समाचार पत्रमा प्रकाशित ४८० वटा समाचारहरुको विश्लेषणका साथसाथै यस विषयमा प्रकाशित विद्यमान दस्तावेजहरू र समाचारपत्रका संवाददाता र सम्पादकहरूसँगको अन्तर्वार्तामा आधारित छन्। समाचारमा रिपोर्ट गरिएका आरोपीत अपराधीहरूमा धेरैजसो पुरुषहरू थिए भने पीडितहरूमा महिलाहरूको सङ्ख्या धेरै थियो। रिपोर्ट गरिएका यौन बेचबिखनका पीडितहरूमा महिलाहरूको ठूलो सङ्ख्या देखिएको थियो भने रिपोर्ट गरिएका श्रम बेचबिखनका पीडितहरूमा पुरुष र महिलाको सङ्ख्या बराबर थियो। यो नेपालबाट विदेशमा काम गर्न जाने पुरुष र महिला आप्रवासीहरूको वास्तविक अनुपात भन्दा फरक छ, जहाँ वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने महिला कामदारहरू भन्दा पुरुष कामदारहरू ८० प्रतिशतले बढी छन्। समाचार लेखहरूको विश्लेषणमा भारत ऐतिहासिक रूपमा बेचबिखनको गन्तव्य र ट्रान्जिटको हिसाबले शीर्ष मुलुक रहेकोमा अझै पनि सोही स्थानमा नै रहेको देखिएको छ। खाडी सहकार्य परिषद् (GCC) अन्तर्गतका मुलुकहरू, उत्तर अमेरिका, युरोप, दक्षिणपूर्वी एसिया र अष्ट्रेलिया नयाँ गन्तव्यका रूपमा देखा परेका छन् भने म्यानमारसहित युरोप, अफ्रिका र ल्याटिन अमेरिकाका केही मुलुकहरू नेपालबाट हुने मानव बेचबिखनको नयाँ ट्रान्जिटका रूपमा देखा परेका छन्। अध्ययनले नेपाली सञ्चारमाध्यममा मानव बेचबिखनसम्बन्धी रिपोर्टिङमा सुधार गर्न अनुसन्धानात्मक पत्रकारिताका लागि स्रोतहरू बाँडफाँड गर्न र समालोचनात्मक लैङ्गिक विश्लेषण सहितका ठोस रिपोर्टिङमा संवाददाताहरूलाई तालिम दिन सिफारिस गरेको छ। सरकारी निकायहरू बीचको समन्वय र अप्रभावकारी नीतिहरूको संशोधनले मानव बेचबिखन नियन्त्रण गर्न र रोजगारका लागि सुरक्षित आप्रवासनलाई प्रोत्साहित गर्न योगदान पुर्याउन सक्छ।
GET IN TOUCH