s
Year of Publication: 8 March 2014 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
देवेन्द्र भट्टराई
अनेक तामझाम र औपचारिकताका साथ नेपालसहित विश्वले शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला पूर्वी अफ्रिकी मुलुकमा नाच्ने कामका लागि पुर्याइएका नेपाली युवतीका बारे भने देशदुनियाँलाई कमै मात्रै थाहा छ ।
झापा, बुधबारे घर बताउने २१ वषर्ीया सुस्मिता शर्मा पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवी आइपुगेको ७ दिनमात्रै भयो । झापाको काँकडभिट्टा हुँदै सिलिगुडीबाट कोलकाता र त्यहाँबाट विमान चढेर नैरोवी आएकी उनी आएकै साँझबाट पार्कल्यान्डको एउटा डान्स सेन्टरमा 'नसोचेको नाचगान' गर्न पुगिहालिन् । केन्याका नैरोवी र मोम्बासा सहरमा एक दर्जनभन्दा बढी डान्स सेन्टर छन्, जसलाई भारतीय मूलका स्थानीय सञ्चालकले 'मुज्रा' भन्ने गरेका छन्, भलै त्यहाँ परम्परागत बुझाइका मुज्रा नभई चल्तीका डान्स गरिन्छन् ।
अधिकांश डान्स सेन्टरमा नाच्नेहरू २० देखि ३५ वर्षभित्रका नेपाली युवती मात्र छन् । 'अन अराइभल भिसा' पाइने केन्या र तान्जानियामा पर्यटक भिसामा तीन महिनाका लागि युवती ल्याएर रातभर डान्स सेन्टरमा नचाउने र दिनभर कुनै अज्ञात कोठामा थुनेर राख्ने एजेन्टहरू भारतीय र पाकिस्तानी मूलका छन् ।
'हाम्रो पासपोर्ट रेस्टुराँ मालिकसँगै छ, सातामा एक दिन पनि छुट्टी नपाई बेलुका ९ देखि बिहान ४ बजेसम्म नाचेको नाच्यै गर्नुपर्छ,' के-वन बिल्डिङमा रहेको एउटा सेन्टरकी २५ वर्षे तामाङ युवतीले स्टेजमा नाचिरहेका बेला सुनाइन् । केन्याको नियममा स्टेजमा रहेका केटीले ग्राहकको इच्छा र 'फर्माइस' अनुसार नाचेर देखाउन सके भने त्यस केटीमाथि पैसा फ्याँक्न पाइन्छ । तर, थुपि्रएको पैसा तत्कालै वेटरले उठाएर मालिककहाँ लगेर बुझाइहाल्छन् ।
कुनै सेन्टरमा भने स्टेजमा राखिएको बाल्टीमा 'बक्सिस' आएको पैसा जम्मा गरेर राखिन्छ । तर उठेकोमा १०/१५ प्रतिशतमात्रै 'टिप्स' का रूपमा नर्तकीले पाउन सक्छन् । त्यसमा पनि केही 'सिल' तोकेका हुन्छन्, एक रातमा एक केटीले १५ हजार सिलिङ -झन्डै १२ हजार रुपैयाँ) उठाउनैपर्ने । यही उठ्ने रकमका आधारमा तलबबाहेक डान्सर केटीले केही 'टिप्स' पनि पाउँछन् ।
नैरोवीस्थित डाइमन्ड प्लाजा पार्कल्यान्डको एउटै भवनमा ३ डान्स सेन्टर छन् । पार्कल्यान्ड प्ल्म्स, मुथाइटी रोड र राप्ता रोडमा पनि मुज्रा सञ्चालनमा छन् । एउटा सेन्टरमा १० देखि १५ सम्म नेपाली युवतीहरू छन्, जो हिन्दी र नेपाली गीतको सुरमा लगातार नाचिरहेका हुन्छन् । पार्कल्यान्डको एउटा सेन्टरमा पानीमा भिजेर गर्ने -सावर डान्स) पनि निकै चल्तीमा छ । 'त्यहाँ भने गइसक्नु हुन्न, पानीले भिजेर निथ्रुक्क बनेका केटीलाई सीधै आफू बसेको टेबलमा बोलाएर अनेक हर्कतपूर्ण नाच गर्न मालिकले अह्राउँछ,' नैरोवीस्थित एक रेस्टुराँमा काम गर्ने नेपाली भन्छन्, 'अनि ७/१० हजार सिलिङ त त्यत्तिकै दिनैपर्ने हुन्छ ।' यहाँ आएपछि अधिकांश केटीलाई 'काजोल' भनेर बोलाइन्छ, फर्माइसमा नेपाली गीत बजाउनुपर्दा 'नेपाली कान्छी' भनेर सञ्चालकले स्टेजमा उक्साइरहेका हुन्छन् । पार्कल्यान्डका डान्स सेन्टरमा रहेका नेपाली डान्सर केटीहरू नयाँ ग्राहक आउनासाथ टेबल-कुर्सीमै हात मिलाउन जान्छन् ।
केन्यास्थित गैरआवासीय नेपाली संगठनले स्थानीय डान्स सेन्टरमा बढ्दो नेपाली केटीको जमातबारे चासो राख्दै आएको छ । एक साताअघि मात्रै बोगटी थरकी एक युवतीलाई उनकै आग्रहमा पार्कल्यान्डको डान्स सेन्टरबाट उद्धार गरेर संघले काठमाडौं पठाएको थियो । 'टुरिस्ट भिसामा नेपाली चेलीबेटी ल्याएर यहाँ गर्ने गरिएको हर्कतबारे हामीलाई थाहा छ,' संघका अध्यक्ष रामचन्द्र बस्यालले भने, 'तर कुनै केटीले उद्धार गर्न आग्रह नगरुन्जेल केही गर्न सकिने अवस्था छैन ।'
केन्यामा नेपाली सञ्चालक राजन थापाका तीन डान्स सेन्टर छन् । 'द रेडी' नाममा नैरोवी र मोम्बासामा सञ्चालित यी सेन्टरमा मात्रै १९ नेपाली युवती छन् । 'म काठमाडौंको विमानस्थलदेखि नैरावीसम्म केटी ल्याउन कम्तीमा ३ लाख रुपैयाँ त सेटिङमै खर्च गर्छु,' थापा भन्छन्, 'फेरि यहाँ पनि भनसुन र पैसा ख्वाउने काम उत्तिकै चल्छ । यसबेला पैसा कमाउनका लागि गरेको व्यवसायमा केटीहरूलाई स्वतन्त्र छाडिदिएर मात्रै कसरी यो धन्दा चल्छ र ? यसकारण निश्चित ठाउँमा उनीहरूलाई राखिएको हो, पासपोर्ट पनि मेरै जिम्मामा राखिएको हो ।'
थापाले आफूले सबै केटीलाई राजीखुसी केन्या ल्याएको र कम्तीमा पनि ४० हजार रुपैयाँ मासिक तलब दिएको बताए । उनले नियमित प्रक्रिया र बाटोबाट केटीलाई नाचगान काममा आउन दिनका लागि नेपाल सरकारले मार्गप्रशस्त गर्नुपर्ने जिकिरसमेत गरे । नत्र भारतको दिल्ली वा कुनै विमानस्थल हुँदै पनि केटीहरू आउनेक्रम उस्तै रहने उनको दाबी थियो । 'तर कोही अलपत्र परे वा गाह्रो-साह्रो भएको जानकारी आए मलाई खबर गर्नुस्, म आफैं उद्धारमा लाग्नेछु,' बेलबारी, मोरङ घर भएका थापाले भने ।
उता केन्याको छिमेकी मुलुक तान्जानियामा पनि हन्टर -पार्ट १/२), टक अफ द टाउन, दावत, सलाम बम्बे, सारेगमजस्ता डान्स सेन्टरमा हरेक रात ९ बजेपछि भिन्नै चहलपहल हुन्छ । अधिकांश सेन्टरमा भारतीय वा पाकिस्तानी मूलका सञ्चालक छन् भने उनीहरूको पनि केटी ल्याउने एजेन्टहरू काठमाडौं- दिल्ली हुँदै दारेसलामसम्म छरिएका छन् । 'यहाँ भने नाचगानमा ग्राहक खुसी भएमा केटीलाई माला लगाइदिने चलन छ, एउटा मालाको मूल्य ५ हजार सिलिङ छ,' स्थानीय एक नेपाली व्यवसायीले भने, 'यस्तो माला त एकैछिनमा लाखौं सिलिङ बराबरको लगाइने गरिन्छ ।' यहाँका नर्तक केटीहरूलाई पनि 'घरेलु बन्धक' झैं कहाँ लगेर राखिन्छ, दिनभरको स्थिति के हुन्छ कसैले भन्न सक्दैन । साँझमा सधैंको कृत्रिम हाँसो अनुहारमा भरेर उनीहरू स्टेजमा उत्रिहाल्छन् । 'हामीले नेपाली चेलीबेटीको यस्तो बाध्यकारी स्थितिबारे नजिकबाट बुझिरहेका छौं,' दारेसलाममा भेटिएका गैरआवासीय नेपाली संघका तान्जानिया अध्यक्ष भीमसेन छेत्रीले भने, 'नौ महिनाअघि हन्टर सेन्टरमा रहेका केटीको आग्रहपछि १० जनाको उद्धार गरेर घर पनि पठायौं, यहाँको स्थिति निकै असहज छ ।'
तीनमहिने पर्यटक भिसा टुंगिएपछि सीमावर्ती केन्याको मुम्बासा सहरसम्म लगेर फेरि र्फकंदा थप तीन महिनाको भिसा लगाउँदै यहाँ ल्याइने गरेको प्रमाणसमेत संघका पदाधिकारीले पाएका छन् । बिहान ३/४ बजेसम्म स्टेजमा नाचेपछि मदिरा पियाएर अथवा 'सेक्स-ट्याब्लेट' खुवाएर ग्राहक तान्नेसम्मको काम हुने गरेको जानकारी बाहिर आइसकेको छ । 'औपचारिक तहमा भइरहेको गल्र्स-ट्राफिकिङको यो स्थितिबारे सम्बद्ध निकायबाट सुनुवाइ हुन सकेको छैन,' छेत्रीले भने । दारेसलाममा रहेका डान्स सेन्टरमा भने केही भारतीय युवती पनि छन् । तर सयभन्दा बढीको संख्यामा नेपाली युवती यहाँमात्रै छन् ।
तान्जानिया वा केन्याका डान्स स्टेजमा बज्ने गीत भने एकै प्रकृतिका छन् । 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला', 'सुन रहा है तु', 'टिपटिप वषर्ा पानी', 'तेरा लाल कजरा', 'दिल तु ही बता', 'आए हो मेरी जिन्दगीमें', 'झलझल पूणिर्माको जून' वा अन्य रक पप गीतहरू एउटा-अर्को नबिसाई बजिरहन्छन् । रिमोट-कन्ट्रोलका भरमा चल्ने मेसिनझैं स्टेजका डान्सरले पनि ताल बदलिरहन्छन् । 'त्यसमा पनि सोलो-डान्सको फर्माइस आयो भने केटीले जेजसरी भए पनि सामु बसेको फर्माइसकर्ता ग्राहकको गोजीबाट सक्दो पैसा निकाल्नैपर्ने हुन्छ,' दारेसलामको हन्टर सेन्टरमा गइरहने एक भारतीय चालकले भने । गत मंगलबार राति टक अफ द टाउन डान्स सेन्टर पुग्दा एक नेपाली युवती पैसा झार्ने उपायमा 'टिपटिप वषर्ा पानी' गीतमा अर्धनग्न बनेर नाचिरहेकी थिइन् । अन्तिममा बस्त्र अरू खोल्दै गएपछि मात्रै सामुन्ने बसेका ग्राहकले एकैचोटि १५० माला -साढे ७ लाख सिलिङ) पहिर्याएका थिए ।
चर्को बत्तीको संयोजन र ड्याभ-मेटल साउन्ड मिसिएको गानाबजाना चलाउन 'एरेन्जर' बेग्लै हुन्छन् भने डरलाग्दो ज्यान भएका बाउन्सर पनि घुमिरहेका हुन्छन् । बुधबार राति १२ बजे दारेसलामको एउटा सेन्टरमा पुग्दा ५ दिनअघि दिल्लीस्थित विमानस्थलमा भेटिएकी नेपाली कलाकार भनेर आफूलाई चिनाउने एक युवती पनि डान्सका लागि स्टेजमा उत्रिएको भेटिइन् । उनले दिल्लीमा भेट हँुदा 'नायक राजेश हमालसँग भर्खरै नाचेर अन्तर्राष्ट्रिय नाच सिक्न तान्जानिया हिँडेको' बताएकी थिइन् । 'खोइ दाइ, मलाई नराम्ररी फसाइयो । मसँग रहेको मोबाइल पनि खोसियो, पासपोर्ट पनि साथमा छैन,' उनी नाचिरहेको स्टेजछेउ गएर ५ हजार सिलिङको माला लगाइदिन गएपछि उनले कानैमा आएर भनिन्, 'नेपालबाट मलाई यहाँ पठाउने मान्छे भन्नका लागि मात्रै मेरो लोग्ने हो, अरू एजेन्टबारे म तपाईंलाई यहाँबाट निस्कन सकें भनें बताउँला ।'
अफ्रिका स्थित राजदूत अरुणप्रसाद धितालले 'अफ्रिकी मुलुकमा नेपाली चेलीबेटीको दुर्दशाबारे आफू जानकार रहेको' प्रतिक्रिया दिए । 'पर्यटक भिसामा चेलीबेटी ल्याएर चलाइएको डान्स सेन्टरबारे म सम्बद्ध निकायको ध्यानाकर्षण गर्नेछु,' धितालले भने, 'यसरी अनधिकृत बाटोबाट युवती ल्याउने, अनुगमन सुरक्षाबिना काममा लगाउने तथा समस्यामात्रै थपिरहने यो प्रवृत्तिबारे म केन्या सरकारलाई समेत अवगत गराउनेछु ।'
Published on: 8 March 2014 | Kantipur
GET IN TOUCH