s

बेचिएका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार

Year of Publication: 1 March 2024 | Naya Patrika

Published by: CESLAM

एक वर्षको अवधिमा माइती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट बेचिएका २५ महिला तथा बालिकाको उद्धार गरेको छ।

माइती नेपाल कञ्चनपुरको तथ्यांकअनुसार पुना ६, मुम्बई/हिमाञ्चल चार/चार, साग्ली/दिल्ली तीन/तीन, पञ्जाव/पिथौरागढ दुई/दुई र गुजरातबाट एकजनाको उद्धार गरिएको छ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बेचिएका नेपाली महिलाको रेडलाइट एरियाबाट उद्धार गरिएको बताइन्।

‘विभिन्न प्रलोभन पारेर मानव तस्कर समूहले महिला तथा बालिका, किशोरीलाई यहाँबाट भारतमा लग्ने र त्यहाँ रेडलाइट एरियादेखि विभिन्न कोठीमा बेच्दै आएका छन्,’ उनले भनिन्, ‘घर परिवारले दिएको निवेदन, उजुरीका आधारमा हामीले बेचिएकी छोरीचेलीको उद्धार गरेर घर परिवारको जिम्मा लगाएका छौँ।’

भारतमा बेचिएका अधिकांश महिला भैरहवा नाका भएर भारत पुगेको केही महिला अन्य नाकाबाट समेत गएको पाइएको संयोजक भट्टले बताइन्।

माइती नेपाली कञ्चनपुरले सन ०२३ जनवरीदेखि डिसेम्बरसम्म जिल्लाका दुई नाका गड्डाचौकी र दोधाराचाँदनी झोलुंगेपुल क्षेत्रबाट एक सय १८ महिलालाई बेचबिखनको जोखिमबाट बचाएको जनाइएको छ। जसमध्ये ८७ जना सुदूरपश्चिम प्रदेश, ३७ कञ्चनपुर भीमदत्त नगरपालिकाका मात्रै १४ जना छन्। भारतमा जोखिमपूर्ण यात्रा गर्न लागेका २४ जनालाई सीधै सीमानाकाबाट घर फर्काइएको थियो।

माइती नेपालका अनुसार मानव बेचबिखन रोकथामका लागि गड्डाचौकी र दोधाराचाँदनी झोलुंगेपुल नाकाबाट २४ हजार एक सय ९३ जनालाई परामर्श दिइएको छ। यस्तै, संस्थाले सीमा क्षेत्रमा चार हजार पाँच सय ३३ सवारीसाधन चेकजाँच गरेर एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराएको जनाएको छ।

गएको एक वर्षमा एक सय ७१ निवेदन खोजतलासका लागिपरेका छन्। जसमा ५३ कञ्चनपुरबाट परेको छ। त्यसमध्ये ४९ जना भेटिएका छन्। घरेलु हिंसातर्फ ३२ निवेदन मध्ये १९ समाधान भएका छन्।

गरिबी, बेरोजगारी, खुला सीमानाका मोबाइल फोन, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसा, देखासिखी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथीभाइ, सीमापार गराउन चिनजान एवं जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संस्थाको अनुभव छ।

Published on: 1 March 2024 | Naya Patrika

Link

Back to list

;