s
Year of Publication: 8 September 2023 | Gorkhapatra
Published by: CESLAM
पशुपतिनगर (इलाम), भदौ २१ गते । इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।
दलालले सीमाना कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिनुभयो ।
उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनुभयो । उहाँले राती आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार गर्न सफल भएको जानकारी दिनुभयो ।
यस्तै, उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् । प्रजिअ पोख्रेलका अनुसार महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरिएको छ भने पुरुषलाई समेत विभिन्न कामको प्रलोभन देखाएर शरीरका विभिन्न अङ्ग बिक्री गर्नका लागि भारत लैजाने गरिएको छ । प्रजिअ पोख्रेलले भन्नुभयो, “मानव तस्करले यौनजन्य क्रियाकलापमा महिला र किड्नी, मुटु, आँखा जस्ता अङ्ग बिक्री गर्नका लागि पुरुषको मानव तस्करी हुने गरेको छ ।”
इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन् । पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जवेगुले जानकारी दिनुभयो ।
माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले उद्धार गरिएका पाँच जनामध्ये तीन जनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ । दुई जनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ । प्रमुख ढकालका अनुसार काठमाडौँ लगिएका दुई जनालाई माइती नेपालको संरक्षणमा राखी सीपमूलक तालिम दिएर उनीहरूको वृत्ति विकासमा पहल गरिनेछ ।
प्रमुख ढकालले कोरोना महामारीपछि पशुपतिनगर नाका मानव तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतका विभिन्न मार्केटिङ कम्पनीमा जागिर लगाउन भनेर लगेर कोठीमा राख्ने गरिएको छ ।”
आर्थिक अवस्था कमजोर भएका र पारिवारिक कलहका कारण घर छोडेर विभिन्न प्रलोभनमा परेका महिला बढी दलालीको फन्दामा पर्ने गरेका छन् । कामको प्रलोभनमा भारत लैजाँदै गर्दा मासिक रूपमा २० देखि ३० जना महिलाको उद्धार गर्ने गरिएको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा पशुपतिनगर नाकाबाट भारत जाँदै गरेका एक सय ५२ जनालाई रोकी परिवारको जिम्मा लगाइएको छ । हराएका ८ जनामध्ये सात जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको माइती नेपाल पशुपतिनगरले जानकारी दिएको छ ।
प्रमुख ढकालका अनुसार नेपालका पश्चिमी जिल्लाका महिलालाई दलालले बढी मात्रामा भारत लैजाने गरेका छन् । उहाँले खुल्ला सीमा नाका भएका कारण पशुपतिनगर सहित नेपाल भारत सीमा क्षेत्रमा मानव तस्करी नियन्त्रण गर्नका लागि थप जनशक्ति परिचालन गर्नुपर्ने बताउनुभयो ।
Published on: 8 September 2023 | Gorkhapatra
GET IN TOUCH