s

विवाहको बहानामा भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने महिला पक्राउ

Year of Publication: 28 June 2024 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : विवाहको बहानामा भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छन्।

प्रतिवादीले जाहेरवालालाई चीनमा पुर्‍याएर १ लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपश्चात नेपाल फर्किएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक पटक यौन शोषण गरेको खुल्न आएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले बताए।

अधिकारी गौतमका अनुसार राईले सामाजिक सञ्चाल म्यासेन्जर मार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराइदिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन्। चिनियाँ केटासँग भेट गराएर गत फागुन १० गते भिजिट भिसामा चीनमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको छ।

पीडितलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा यही असार ९ गते उद्धार गरिएको थियो। पीडितको जाहेरी दरखास्तको आधारमा प्रतिवादी राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भई रहेको ब्युरोले जनाएको ।

Published on: 28 June 2024 | Annapurna Post

Link

Back to list

;