s

चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय

Year of Publication: 30 July 2012 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

रवीन्द्र उप्रेती

कहाँ गइन् जन्नती खातुन ? मुस्लिम बहुल पर्सा देवाड ७ की यी १४ वर्षीया किशोरीको खोजी गर्दै उनका बाबुआमा अहिले जिल्ला प्रशासनदेखि भारतीय थाना र ग्राम पञ्चायतसम्म धाइरहेका छन् । तर छोरी फिर्ता पाउन नसक्दा शेष इलियासको परिवार अहिले बेचैन छन् । छोरीलाई दिल्लीको वेश्यालयमा बेचिएको पछिल्लो जानकारीले उनीहरू थप मर्माहत छन् । आँखा ओबाएको छैन । भोकतिर्खा बिर्सेका छन् ।

जन्नतीकी ५२ वर्षीया आमा ललिया खातुन भन्छिन्, 'सबैभन्दा ठूलो अपराध उनीहरूको गरिबी हो, त्यसैको सजाय अहिले छोरी र मेरो परिवारले बेहोर्नुपरेको हो ।' यही गरिबीको फाइदा उठाउन जेठ दोस्रो सातातिर पर्सादेवाड ७ कै छिमेकी हासिम भन्ने शेष मुन्नीले ४ जना भारतीय मुसलमानलाई उनको घरमा लिएर आएका थिए । मीठामीठा कुरा गरे । अनेक प्रलोभन दिए । र, उनीहरूको गरिबीमा सहयोग गर्न आएको भनी चारै जनाको परिचय गराए ।

यसरी परिचय गराइएको भारत विहार सीतामढी जिल्ला परिहार थानाअन्तर्गत मनिकपुर मुसहरनीयाँका ३० वर्षीय अब्दुल मन्नान, सोही ठाउँका ४८ वर्षे मो. सविर अन्सारी, अदौलीका ५५ वर्षीया मो. मञ्जुर र सुतिहाराका ३८ वर्षे शाहबुद्धिन उर्फ दब्बीर छन् ।

ती सबैले उनीहरू गरिब भएकाले छोरी जन्नतीको बिहे खर्च जुटाउन, भोजभतेर गर्न नसक्ने भएकाले सहयोग गर्न आएको भरोसा दिलाए । साथमा रहेका ३० वर्षे अब्दुल मन्नानलाई देखाउँदै जन्नतीका लागि केटासमेत साथै लिएर आएकाले बिहेको चिन्ता टरेको बताए । 'केटा तगडा छ खुब कमाउँछ,' आगन्तुकको भनाइ उद्धृत गर्दै ललियाले भनिन्, 'तिम्री छोरी राम्री भएकीले माया गरेर राख्छ भनी ललाई फकाई गरे ।' ललियाका अनुसार उनीहरूले जाने बेलामा केटी हेरेबापत नगद सलामीसमेत दिएका थिए । नक्कली लड्का (दुलहा) बनेका अब्दुल मन्नानले जन्नतीलाई इन्डियन सिमसहितको एक मोबाइलसमेत दिएर गएका थिए ।

सीमावर्ती गाउँ पर्सादेवाडमा भारतीय मोबाइल सहजै समाउने भएकाले मन्नानले जन्नतीलाई भारतीय भूमिबाटै फोन गर्न थाले । मीठा-मीठा कुरा गरे, फकाए । र, जुनसुकै बेला आफूसँग आउन सक्ने बनाए । चरम गरिबीका कारण चेलीबेटी बेचबिखनका यी दलालले आफूहरूलाई फसाउँदै गएको उनीहरूले कल्पनासमेत गर्न सकेनन् ।

शेष इलियासको परिवारलाई जालमा फसाइसकेको विशलेषणपछि पुनः उनीहरू पर्सादेवाड आए । 'भारतमै लगरे बिहे गर्छौ,' भन्दै असार ७ गते जन्नतीलाई लिएर हिँडे ।

भारत लगेको साता दिनपछि इलियास परिवार छोरी भेट्न भारतीय गाउँ पुग्दा त्यहाँका गाउँलेले 'कहाँ बिहे गर्नु तिम्री छोरीसँग ती केटी बेचुवाहरूले दिल्लीतिर लगेर बेचिसके' भनेपछि उनीहरूको भ्रम टुट्यो ।

'छोरी बेचिएको थाहा पाएपछि टेकेको जमिन नै भासिएजस्तो लाग्यो,' आमा ललियाले सप्कोले आँखा पुछिन्, 'कत्ति रुँदै होली मेरी छोरी ।' छोरी बेचिएको थाहा पाएपछि उनीहरूले त्यहींका समाज गुहारे । गाउँलेले चारै जनालाई समाई परिहार थानाअन्तर्गत पञ्चायत बसाए । त्यहाँ उनीहरूले आफूहरूले बिहेको प्रलोभन दिई ल्याएको जन्नतीलाई दिल्लीमा लगी देह व्यापार गर्ने उद्देश्यले बेचेको स्वीकार पनि गरे ।

पञ्चायतसमक्ष उनीहरूले जन्नतीलाई ८ दिनभित्र फिर्ता ल्याई बाबुआमाको जिम्मा लगाइदिने भनी भारतीय प्रचलनअनुसारको लिखत 'इकरारनामा' समेत गरेका छन् । 'अगर लड्कीको लाकर ८ दिन के अन्दर माँ-बाप के हवाले नही कर दुंगा तो मेरेविरुद्ध कानुनी कारबाही करनेका पूरा हक है' इकरारनामामा उनीहरूले उल्लेख गरेका छन् ।

तर भारतीय भूमिमा एकरारनामा गरेको महिना बित्दा पनि जन्नतीको अवस्था अझै अज्ञात रहेकाले आमा ललियाले मंगलबार जिल्ला प्रशासनमा उजुरी दर्ता गरेकी छन् । उजुरीमा एक नेपाली तथा ४ जना भारतीय नागरिकलाई विपक्षी बनाइएको छ ।

'कहाँ लगे मेरी जन्नतीलाई ?' उजुरीका लागि प्रशासन पुगेकी ललियाले डाँको छाडिन् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले घटनाप्रति आफू अत्यन्तै गम्भीर भएको बताए । उनले प्रशासनमा पर्न आएको जन्नती परिवारको उजुरीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तथा सीमावर्ती भारतीय अधिकारीसँग सम्ान्वय गरी अनुसन्धान कारबाही अघि बढाइएको जानकारी गराए । 'जन्नतीको खोजी र अपराधीलाई कारबाहीका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय अधिकारीको ध्यानाकर्षण गराउन पत्राचारसमेत गरिसकिएको छ,' कँडेलले भने ।

घटनाको जानकारीपछि शेष हासिम भन्ने शेष मुन्नी फरार छन् । जिल्लामा चेलीबेटी बेचबिखन नियन्त्रण गर्ने नाममा क्रियाशील रहेको दाबी गर्ने दर्जनांै संघसंस्था नभएको होइन । तर जन्नती बेचिएकी यति दिन बितिसक्दा पनि उनको खोजखबर र पीडित परिवारको आँसु पुछ्न अहिलेसम्म कोही नपुगेको स्थानीय बासिन्दाले जनाए ।

Published on: 30 July 2012 | Kantipur

Back to list

;