s

कोलम्बो जेलका २६ महिला कहिले छुट्लान् ?

Year of Publication: 18 April 2021 | Kantipur

Published by: CESLAM

जनकराज सापकोटा  

काठमाडौँ — श्रीलंकाका जेलमा करिब २ महिनादेखि थुनामा रहेका २६ नेपाली छुट्नेबारे अझै टुंगो लागेको छैन । उनीहरू स्थलमार्ग हुँदै भारत र त्यहाँबाट अवैध रूपमा श्रीलंका हुँदै खाडी देशमा घरेलु कामदारका रूपमा जान खोजेका बेला पक्राउ परेका हुन् ।

यसअघि यसरी नै पक्राउ परेका १० जनालाई फागुनको पहिलो साता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा श्रीलंकाबाट उद्धार गरेर स्वदेश ल्याइएको थियो ।

सरकारले २०७३ चैतमा खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन प्रतिबन्ध लगायो । त्यसपछि भारतको विभिन्न सहर हुँदै नेपाली महिलालाई अवैध रूपमा खाडी पुर्‍याउने क्रम निरन्तर जारी देखिन्छ । श्रीलंकामा पक्राउ परेका महिलाहरू भारतको बाटो हुँदै निरन्तर भइरहेको महिला मानव बेचबिखनको पछिल्लो शृंखलामात्रै हो । थुनामा रहेका महिलाहरू कहिले छुट्छन् र तिनीहरूलाई छुटाउने प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे सरोकारवाला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भने बेखबर जस्तै देखिन्छ ।

करिब डेढ महिनाअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव भएर आएका सूर्यप्रसाद गौतमलाई पनि श्रीलंकाको जेलमा रहेका २६ महिलाबारे केही जानकारी छैन । कान्तिपुरसँगको कुराकानीमा उनले आफू नयाँ भएको र यसबारे केही थाहा नभएको बताए । मन्त्रालयकी सूचना अधिकारी चन्द्रकला ओलीले पनि यसबारे आफूलाई थाहा नभएको बताइन् । २६ महिलाको उद्धार प्रक्रियाबारे कान्तिपुरले वैदेशिक रोजगार बोर्ड र वैदेशिक रोजगार विभागमा पनि सोधपुछ गरेको थियो । बोर्डका एक कर्मचारीले उद्धार प्रक्रिया मन्त्रालयले थालेकाले उतै बुझ्न भने । विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले पनि यसबारे थाहा नभएको बताए ।

श्रीलंकास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विश्वास भट्टले कान्तिपुरसँगको कुराकानीमा २६ नेपाली महिलालाई निगोम्बोस्थित जेलबाट अघिल्लो सातामात्रै सारेर कोलम्बोको विलिकाँडा जेलमा स्थानान्तरण गरिएको बताए । उनका अनुसार आगामी बुधबार उनीहरूको मुद्दाउपर सम्भवतः अदालतले अन्तिम निर्णय दिनेछ । उनले भने, ‘पक्राउ परेका नेपालीमाथि गैरकानुनी बसाइ र मानव बेचबिखन दुवै मुद्दा चलेको छ । पहिलो मुद्दाको सुनुवाइ सकिए पनि दोस्रो मुद्दाको सुनुवाइ सकिएको छैन ।’ उनले अदालतबाट मुद्दाको फैसला सकिनेबित्तिकै दूतावासले आफ्नै खर्चमा नेपाल पठाउन तयार भएको बताए । उनले भने, ‘पहिले पनि यसैगरी सरकारी खर्चमा नेपाल पठाइएको थियो । अब बाँकी रहेकालाई पनि त्यसैगरी पठाउन तयार छौं ।’

स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रूपमा खाडीका देश लगेर आकर्षक जागिर मिलाइदिने भन्दै श्रीलंका पुर्‍याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ भने होइन । २०७५ फागुनमा पनि भारतीय प्रहरीले उत्तरपूर्वी राज्य मणिपुरबाट १ सय ४७ महिलासहित १ सय ७९ जनालाई उद्धार गरेको थियो । त्यसअघि नै मिजोरमबाट २३ महिलाको उद्धार गरिएको थियो । कार्यवाहक राजदूत भट्टका अनुसार २४ नेपाली महिला श्रीलंकाको रुट प्रयोग गरेर खाडी देशमा घरेलु कामदारका रूपमा जाने प्रयासमा थिए । दूतावासका कर्मचारीसँग ती महिलाहरूले आफ्नो टोलीअघि पनि ५०/६० नेपाली यसैगरी खाडीका विभिन्न देश पुगेका बताएका थिए । थुनामा रहेका महिलाहरूको भनाइबाट पनि कोरोना संक्रमणको जोखिमकै बीचमा पनि नेपाली महिलाहरूलाई भारतबाट श्रीलंका हुँदै खाडीका देश लैजाने काम निरन्तर रहेको बुझाउँछ ।

गत फागुन १ गते मानव बेचबिखन नियन्त्रण ब्युरोले मोरङको कटहरी घर भई काठमाडौं चक्रपथमा बस्ने रामकुमार चौधरीलाई पक्राउ गरेको थियो । चौधरीले दुबईमा आकर्षक रोजगारी मिलाइदिने भन्दै भारतको सिलीगुडी हुँदै १२ नेपाली महिलालाई श्रीलंकाको अलिआक्स पुर्‍याएर बन्धक बनाएका थिए । फर्किएका महिलाहरूले दिएको उजुरीपछि चौधरीलाई ब्युरोले पक्राउ गरेको थियो ।

मानव बेचबिखन नियन्त्रण ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले श्रीलंकाका विभिन्न जेलमा भएका २६ महिला फर्किएपछि उनीहरूबारे अनुसन्धान थालिने बताइन् । त्यसो त मानव बेचबिखनमा परेर उद्धार भएकाहरूको विगतका घटना हेर्ने हो भने उद्धारपछि पनि अधिकांश पीडितले उजुरी नै नदिएको देखिन्छ । जस्तो कि २०७५ फागुनमा भारतको मणिपुरबाट उद्धार गरिएका १ सय ७९ मध्ये एक जनाले मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका थिए ।

कोरोना कहरमा पनि रोकिएन अपराध

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार २०७७ को १२ महिनामा मात्रै ब्युरोले नेपाल बाहिरबाट ३४ र नेपालभित्रबाट ६० जनालाई उद्धार गरेको छ । प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेका ३२ मध्ये ५ बाहेक सबैको उद्धार भारतका विभिन्न सहरबाट गरिएको हो ।

ब्युरोको अनुसार २०७६ का १२ महिनामा मात्रै भारत, इन्डोनेसिया, मलावी, इराक र ग्रिसबाट मानव बेचबिखनमा परेका ३४ पुरुषसहित ९२ जनालाई उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ३५ जना भने भारतका विभिन्न स्थानबाट उद्धार गरिएको थियो ।

ब्युरोका अनुसार कोरोना संक्रमणको जोखिम रहेको २०७७ सालमा पनि नेपालभित्रैबाट सम्भावित मानव बेचबिखनमा पर्नेहरूको उद्धार गरिएको थियो । ब्युरोबाट प्राप्त तथ्यांकलाई केलाउँदा २०७७ भरी उद्धार गरिएका ६० मध्ये ६ जना १५ वर्षमुनिका किशोरी रहेका छन् भने २६ जना १५ देखि २० वर्ष उमेर समूहका देखिन्छन् । त्यस्तै १२ जना २० वर्ष उमेरमाथिका छन् भने उद्धार भएकामध्ये १६ जनाको भने उमेर खुल्न सकेको देखिन्न ।

Published on: 18 April 2021 | Kantipur

 

Link

Back to list

;