s

दूतावासको गर्मीले तातेको सीड्नी

Year of Publication: 5 December 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

नेपाली समाजको बाहुल्यता बढ्दै गएको अस्ट्रेलियामा यतिखेर आरोप प्रत्यारोपले तातिएको छ। सामाजिक सञ्जालहरूमा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि उनकै चालकले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक नेपाली समुदायमा तरंग पैदा भएको हो। छोटो समयमा कुटनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी आरोप लगाएर सार्वजनिक भएपछि यो विषय केही गम्भीर बनेको हो। नेपालको एउटा टेलिभिजन कार्यक्रममा लगाएको यो आरोपले स्वभाविक रूपले अष्ट्रेलियाका नेपाली समाजमा टिका टीप्पणी उठ्नु स्वभाविक हो। मुलुकको मुहारका रूपमा चिनीने राजदूतावास र त्यसको माउ प्रतिनिधि राजदूतमाथि यत्रो आरोप लागेपछि सामाजिक बहस हुनुलाई सान्दर्भिकनै मान्नुपर्छ। राजदूतमाथि आरोप लाग्नु र आरोपित अस्ट्रेलियाको प्रहरीको सुरक्षामा रहनुले घटनाक्रमलाई केही शंकास्पद बनाएको छ।

आरोप पुष्टी हुने आधार र प्रमाणका बारेमा भने यो विषय निकै पेचिलो बनेको छ। आरोप लगाउने एउटै रटानमा छन्- पैसा बुझाएर अस्ट्रेलिया आएको भनेर। तर उनको गतिविधि पनि शंकास्पद देखिन्छ भने आरोपित राजदूत शेर्पामाथि पनि नैतिक शंकट तेर्सिएको छ। नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको यो विषयमा अहिलेनै यसो भन्न मिल्ने अवस्था छैन र रहदैन पनि। पद र पैसा अनि शक्तिको आडमा पावरफुल बनेकाहरू देखिँदा र तौलिँदा फरक पाइएका ज्वलन्त उदाहरणहरू छन्। आरोप र प्रत्यारोपमा केही खोस्टाहरू हेर्दै जाने हो भने सम्मानित अदालतमा समेत विचारधिन यो मुद्दामा ठ्याक्कै प्रमाणित सबुत भने दुबै पक्षमा बलियो देखिदैन। आरोप लगाउने वाङ्छु शेर्पाले हस्ताक्षर नभएको कागज र केही फेसबुक म्यासेजलाई प्रमाणको रुपमा पेश गरेका छन् भने राजदूतावासजस्तो स्थानबाट चोरी गरेको आरोपमा अस्ट्रेलियन प्रहरीले कारबाही नगर्नु र उल्टै सुरक्षा प्रदान गर्नुले यो आरोप पनि फितलो भएको हो की भन्ने शंका गर्ने ठाउँ रहन्छ। राजदूतले चालक वाङ्छु शेर्पासँग पैसा लिएर अष्ट्रेलिया ल्याएको पुष्टी गर्ने आधार मानिएको छोटो तमसुकमा घरायसी लनदेनका क्रममा वाङ्छुले ६४ लाख रूपैया ४ वर्षमा राजदूतका श्रीमानलाई तिर्नुपर्ने लेखिएको छ। तर, साक्षी बिनाको तमसुकमा वाङ्छुको हस्ताक्षर भए पनि राजदूतका श्रीमानको हस्ताक्षर भने छैन।

राजदूतमाथिको आरोप अर्को आधार भन्दै फेसबुक र म्यासेजमा भएको कुराकानी आरोपकर्ताले टेलिभिजनमा पेश गरेका थिए। त्यसमा वाङ्छुले पैसा दिएको एकोहोरो मेसेज पठाएको देखिन्छ। पैसा र अरू व्यक्तिको बारेमा वाङ्छुले पठाएको मेसेजमा राजदूतका श्रीमानले तमसुकमा कसैले हस्ताक्षर गरेको छैन। किन भागेको क्लियर गरेको भए हुन्थ्यो भनेर जवाफ पठाएका छन्। कुराकानीले वाङ्छुको श्रीमती अष्ट्रेलिया आउने तयारीमा रहेको बुझिन्छ।  वाङ्छुको श्रीमतीविरुद्ध सिंगापुरमा बस्ने तीनै युवाले आफूलाई अष्ट्रेलिया लैजाने भन्दै वाङ्छुले पैसा लिएको र उनकी श्रीमतिको नाममा पैसा पठाएको बयान दिएपछि सोही आधारमा वाङ्छुको श्रीमति जेल परेकी हुन् भने, वाङ्छु विरुद्ध पनि अदालतमा मुद्दा चलेको देखिन्छ। यता राजदूत लक्की शेर्पा भने छानबिनको सबै बाटो खुला गरेको र सत्यतथ्य कुरो कसैसँग नलुक्ने दाबी गर्छिन्। सोझो र दुःख पाएको भनेर आफूहरूले अस्ट्रेलिया ल्याएको तर, अन्त्यमा उसैले बदनाम गरेको शेर्पाको भनाइ छ। मुलुकको प्रतिष्ठासँग जोडिएको यो विषयका बारेमा सिडनीका बिभिन्न संघ संस्थाले पनि चासो देखाएका छन्। समाजिक सञ्जालमा छताछुल्ल हुने गरी यस विषयमा टिकाटीप्पणीहरू भएका छन्।

दुई मध्येको एक जनसम्पर्क समितिका तर्फबाट कार्यबाहक अध्यक्ष छिरिङ शेर्पाले आरोप गम्भीर भएकोले नेपाल सरकारले तुरुन्त छानबिन तथा अनुसन्धान गर्नुपर्ने र नेपाल नेपालीको छबिलाई धुमिल हुनबाट बचाउन अनुरोध गरेका छन्। मुलुकको आधिकारिक प्रतिनिधि राजदूत भएकोले यसले नेपाली समाजलाई समेत प्रभाव पार्ने भन्दै नेपाली समाजका अगुवा ज्ञानेन्द्र रेग्मीले छानबिन र सत्यतथ्य बाहिर नआउन्जेल राजदूत बाहिर बसेर सहयोग गर्नुपर्ने बताउँछन्। यता पर्थका युवा अभियन्त निल थपलीया भने बिना आधार र प्रमाण राजदूतमाथि कसैले भन्दैमा बदनाम गरिहाल्नु नपर्ने तर्क गर्छन्। उनले फेसबुकमा लेखेका छन् ‘एक जनाको एकोहोरो आरोप सुनेर तुरुन्त धारणा बनाइहाल्नु ठिक नहोला, सत्य सधै सत्य हुन्छ र झुठो लामो समय टिक्दैन।’

Published on: 5 December 2018 | Setopati

Back to list

;