s

गाउँले जाग्दैथे, सुनबहादुर छुटेपछि हच्किए

Year of Publication: 2 May 2021 | Kantipur

Published by: CESLAM

बिनु सुवेदी

काठमाडौँ — महिना दिनअघिको कुरा हो । गाउँमा फुटबल प्रतियोगिता भयो । फुटबल हेर्न पुगेकी नुवाकोट, दुप्चेश्वर–१ घ्याङ्फेदीकी निर्मला (नाम परिवर्तन) एउटा परिचित अनुहार देखेर झसंग भइन् । ‘प्रतियोगितामा प्रमुख अतिथि भएर आएको रैछ, अरू ठूला मान्छे पनि सँगै थिए, उसलाई देख्नेबित्तिकै झस्किएँ । उसैले त हो नि मलाई बेचेको,’ निर्मलाले कान्तिपुरसँग भनिन् । 

नुवाकोट, दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङ

गाउँकै अरू दिदीबहिनीको उजुरीमा वडाध्यक्ष सुनबहादुर तामाङ जेलमा परेपछि निर्मला पनि आफूलाई भारतसम्म पुर्‍याउने उनै हुन् भनेर मुद्दाको तयारी गर्दै थिइन्, केही संघसंस्थाले सघाइरहेका पनि थिए । सुनबहादुर छुटिहाले, उनी हच्किइन् । ‘मलाई कसरी दिल्ली पुर्‍याए, त्यहाँ कति दुःख भयो, कसरी भागेर आएँ, एक–एक घटना याद छ,’ निर्मलाले भनिन्, ‘हामीभन्दा उही बलियो रै’छ, के गर्नु ?’

निर्मला मात्रै होइन, मानव बेचबिखनको गिरोहबारे थाहा पाउँदासमेत गाउँले चुपचाप छन् । उजुरी हालेका र साक्षी बसेका धेरैजसोले आफ्नो कुरा फिर्ता लिइसके । ‘हामीलाई अब हाम्रै सास राम्ररी धकेल्न पाए हुन्छ,’ स्थानीय श्याम (परिवर्तित नाम) ले भने, ‘मलाई भेना भन्थ्यो, आफ्नै भान्जीहरूलाई राम्रै काम लगाइदेला भनेर दिइपठायौं । छोरीहरू बिचल्लीमा परे ।’

श्यामका अनुसार राम्रो कामको आसमा सुनबहादुरको पछि लागेर गएका छोरीहरू भारतबाट रोग बोकेर फर्किए, एक जनाले फर्किनेबित्तिकै देह त्यागिन्, अर्की एक जना बिरामी छिन् । सुनिता (परिवर्तित नाम) ले हालेको उजुरीका कारण जिल्ला अदालत नुवाकोटले सुनबहादुरलाई जेल सजाय तोकेको थियो । उनी जेल परेपछि गाउँ पुगेकी सुनिता सुनबहादुर छुटेपछि विस्थापित भइन् । अब उनलाई शक्तिशाली सुनबहादुर र मुलुकको न्यायिक संयन्त्रसित हारजितको पौंठेजोरी खेल्नु छैन । ‘न्याय पाइँदो रै’छ भन्ने लागेको थियो, तर झूटो रै’छ,’ सुनिताले भनिन्, ‘बोलेर भनेर फाइदा छैन, मलाई केही नसोध्नुस् ।’

मानव बेचबिखनकै केसमा जिल्ला अदालत नुवाकोटले ०७४ चैतमा सुनबहादुर, उनका छोरा रमेश र स्थानीय टीकाराम तामाङलाई कारबाहीको फैसला गरेपछि छोरी/बुहारी गुमाएका धेरै गाउँलेले न्यायको आशा गरेका थिए । तर १० वर्ष जेल सजाय तोकिएका रमेश र ३० वर्षको जेल सजाय पाएका टीकाराम कारागारमै भए पनि उही मुद्दामा ३७ वर्ष जेल सजाय तोकिएका सुनबहादुरलाई उच्च अदालत पाटनले निर्दोष भनिदियो । टीकाराम आफ्नै श्रीमती र रमेश भतिजी बेचेको अभियोगमा जेल सजाय काटिरहेका छन् ।

‘मैले देहव्यापार गरेर कमाएको पैसा दिल्लीमा कोठी साउनीसित लिन श्रीमान् (टीकाराम) गएका थिए । उनलाई भेटेर घर फिर्ता गराइदेऊ भनी रोइकराई गर्दा पनि पैसा मात्रै लिएर फर्किए,’ ती पीडितले भनिन्, ‘पहिले जबरजस्ती तानेर बिहे गर्‍यो, अनि लगेर बेच्यो ।’ टीकारामले जबरजस्ती तानेर बिहे गरेकी र भारतमा लगेर बेचिएकी उनी एक्ली होइनन्, छुटेर आएकी भने उनी एक्लै हुन् । टीकाराम जेलमा भएकामा स्थानीय खुसी नै छन्, तर झन् धेरै दोषी करार गरिएका सुनबहादुरहरू गाउँमा किन निस्फिक्री छन् र आफूहरू तीनै मान्छेहरूसँग किन डराइरहनुपर्छ भन्ने प्रश्नले गाउँलेलाई घोचिरहन्छ ।०७६ असार ३० गते थुनामुक्त गर्ने आदेश दिइरहँदा उच्च अदालत पाटनले भनेको थियो, ‘वडा अध्यक्ष सुनबहादुर र पीडक सुनबहादुर एउटै हुन भन्ने प्रमाण भेटिएन ।’

त्यतिखेर अदालतले पीडितले ‘हामीलाई बेच्ने मान्छे यही हो’ भनेर किटानी गर्दासमेत त्यसलाई प्रमाणका रूपमा स्वीकार गरेन । उनी छुट्दै छन् रे भन्ने खबर गाउँमा हावाको बेगमा पुग्यो, सुनबहादुर र उनको समूहबारे भर्खरै मुख खोल्न थालेका गाउँले डरले आलसतालस भए । विस्तारै गाउँ पुरानै लयमा फर्कियो, अहिले चुपचापजस्तै छ । अरू विषयमा जति पनि बोल्ने गाउँले बेचबिखनको कुरा आउँदा मुखै खोल्दैनन् । ‘जे जति बाँचिएको छ, अब जति समय बाँचिन्छ, शान्तिले बाँचम्जस्तो लाग्दो रैछ,’ गत साता काठमाडौंमै भेटिएकी निर्मलाले कान्तिपुरसित भनेकी थिइन्, ‘गाउँमा उनीहरूकै पक्षमा धेरै छन्, विरोधमा बोलेको थाहा पाए बाटो बाटो छेक्न आउँछन् ।’ गाउँमा अहिले पनि छोरीहरू हराउँछन् । कहाँ गए भनेर कसैले सोध्दैनन् । सोधिहाले पनि आफैं भागेर कतै बिहे गर्न गएकी होला भन्ने जवाफ आउँछ ।

‘३७ वर्ष जेल गयो रे भन्ने सुनेको मान्छे डेढ बर्ष नपुग्दै फर्किंदा त हामीलाई डर लाग्यो,’ कान्तिपुर घ्याङफेदी पुगेका बेला एक स्थानीय बासिन्दाले भनेका थिए, ‘यहाँ त नयाँ मान्छे आयो कि केरकार गर्छन्, तपाईं कसरी आइपुग्नुभयो ?’ उनका अनुसार सुनबहादुर छुटेपछि उनीहरू महिनौं दिनसम्म घर छाडेर बाहिर निस्किनै सकेनन् । ‘उनी छुटेपछि त हामी उजुरी दिने पो अपराधीजस्ता भयौं,’ उनले भने । गाउँले किन यतिधेरै डराउँछन् भनेर कान्तिपुरले धेरै स्थानीय बासिन्दालाई सोधेको थियो । कुराकानी गरेकामध्ये धेरैको भनाइको सार थियो, ‘उनीहरू एकदमै शक्तिशाली मान्छे हुन्, अहिले त झन अध्यक्ष पनि भएका छन् ।’ मुलुक संघीयतामा जानुअघि छुट्टै घ्याङफेदी गाविस थियो, अहिले पूरै गाविस एउटा वडामा समेटिएको छ र त्यही वडाका अध्यक्ष सुनबहादुर हुन् ।

सुनबहादुरले ०७४ को स्थानीय तहको चुनावमा दुप्चेश्वर गाउँपालिका– १ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर चुनाव जितेका थिए । उनी त्यसअघि नै मानव बेचबिखनको मुद्दामा दोषी करार भइसकेका थिए तर प्रहरीले भेट्टाउन सकेन, उनी फरार सूचीमा रहे । ०५१ मा पहिलोपटक उनीविरुद्ध चेलीबेटी बेचबिखनको उजुरी परेको थियो । त्यतिखेर उनका विरुद्ध उजुरी दिने महिलाले भनेकी छन्, ‘मलाई नाता पर्ने सुनबहादुर तामाङले काँकडभिट्टाको बाटो हुँदै भारत पुर्‍याए ।’ यसको फैसला ०५३ मंसिर ३ गते भयो । नुवाकोट जिल्ला अदालतले ६ वर्षको जेल सजाय तोके पनि सुनबहादुर पक्राउ भने परेनन् । उनी प्रहरीको फरार सूचीमा रहिरहे ।

०६८ मा भारतबाट उद्धार गरिएर आएका तीन महिलाले ०७० सालमा सुनबहादुरले आफूहरूलाई बेचेको भनेर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जाहेरी दिए । यही जाहेरीका आधारमा प्रहरीले मुद्दा चलायो । जिल्ला अदालत नुवाकोटले ०७४ चैतमा सुनबहादुरलाई ३७ वर्षको जेल सजाय तोक्यो । त्यसपछि सुनबहादुरलाई प्रहरीले वडा कार्यालय घ्याङफेदीबाटै पक्राउ गरेर काठमाडौं ल्यायो । काठमाडौंमा उनीविरुद्ध अरू मुद्दा पहिल्यैदेखि चलिरहेका थिए । ‘हामीले फैसला कार्यान्वयनका लागि सुनबहादुरलाई पक्रेर ल्यायौं, उनले चेलीबेटी बेचबिखन गरेका मुद्दा सीआईबीमा पहिल्यैदेखि रहेछन्, त्यसलाई पनि अघि बढायौं,’ सुनबहादुरको मुद्दामा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । तर उच्च अदालत पाटनका न्यायाधीशहरू रमेशबहादुर थापा र हरिप्रताव केसीले ०७६ असार ३० गते वडा अध्यक्ष सुनबहादुर तामाङ र पीडितहरूको उजुरीमा उल्लेख भएका सुनबहादुर तामाङ एउटै नभएको भनेर सफाइ दिए । सफाइ पाएलगत्तै उनी आफ्नै गाउँ घ्याङफेदी गए । उनी गाउँमा त्यति धेरै त बस्दैनन् तर जहिले पुग्छन्, गाउँले डराउँछन् । ‘उनीहरूकै शासन छ, हामीले बोलेर के हुन्छ र ?’ सिसिपुका एक स्थानीयले कान्तिपुरलाई भनेका थिए ।

प्रहरीका अनुसार, सुनबहादुरमाथि २ सय महिला बेचेको आरोप छ । उनीविरुद्धका मानव बेचबिखनका तीनवटा मुद्दा काठमाडौं जिल्ला अदालतमा अहिले पनि विचाराधीन छन् । उनै सुनबहादुरका लागि काम गर्ने र सूचना संकलन गर्ने प्रतिनिधिहरू गाउँगाउँमा भेटिन्छन् । गाउँपालिकाकै अरू वडामा जाने दुई तीनवटा सहायक बाटा छन् । तर वडा नम्बर १ मा जाने बाटो एउटै छ । जताबाट हिँडे पनि वडा कार्यालय र वडा अध्यक्ष सुनबहादुरको घरमै ठोक्किन्छ । ‘वैकल्पिक बाटो बनाउनै दिँदैनन, तलबाट माथि आउने एक एक मान्छेको लिस्ट बनाएर राख्छन्,’ स्थानीयको भनाइ छ, ‘गाउँमा कसले के कुरा गर्‍यो उनको कानमा पुगिहाल्छ ।’ यही त्रासले हो सायद, घ्याङफेदीका माथिल्ला गाउँका नागरिक गाउँमा आउने मान्छेसँग बोल्नै चाहँदैनन् । उनीहरूलाई गाउँमा जो पुगे पनि सुराकी नै हुन्जस्तो लाग्छ ।

सुनबहादुर पक्राउ परेपछि निर्मलाजस्तै अरू महिला पनि उनीविरुद्ध उजुरी हाल्न तम्तयार थिए । साक्षी बसेका गाउँलेले सुनबहादुरको अगुवाइमै चेलीबेटी बेचबिखन भइरहेको बकपत्र गरेका थिए । ‘सुनबहादुर पक्राउ परेपछि यो अपराधको जालो तोडिन्छ भन्ने लागेको थियो, तर पीडितहरूले उसकै अनुहार देखाएर यही हो हामीलाई बेच्नेभन्दा पनि यो मुद्दामा हामी हार्नुपर्‍यो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘जिल्ला प्रशासन कार्यालय नुवाकोटको पनि सहयोग पाउन सकिएन ।’

प्रहरीका अनुसार सुनबहादुरले आफ्नो भनेको ठेगाना र पीडितले दिएको उनको ठेगाना फरक पर्‍यो । त्यसपछि उनले नागरिकताको प्रमाणपत्र कहाँबाट ल्याएका हुन् भनेर अनुसन्धान सुरु भयो । त्यतिखेर पत्ता लाग्यो, सुनबहादुरले नागरिकताको प्रतिलिपि नै पाँचपटक लिएका रैछन् । नागरिकताको प्रतिलिपि पहिलोपटक २०५७ मंसिर २७ गते लिएका उनले पछिल्लोपटक ०७४ वैशाख १९ गते लिएको देखिन्छ । तर यतिधेरै पटक नागरिकताको प्रतिलिपि किन लिनुपर्‍यो र त्यहाँ उल्लेखित ठेगाना के थिए भन्ने विवरण जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रहरीलाई दिएन । प्रशासनले प्रहरीलाई ०७२ को भूकम्पमा सबै कागजात नष्ट भएको पत्र पठायो । यति धेरैपटक नागरिकताको प्रतिलिपि किन लिनुपर्‍यो भन्ने प्रश्नमा सुनबहादुर भन्छन्, ‘कुदुमखोला तर्ने क्रममा खोलाले नागरिकता बगाएपछि फेरि बनाएको हुँ ।’ प्रहरीले भने यहींनिर कैफियत देखेको छ । ‘उनको नागरिकता प्रतिलिपि बन्दाखेरिको ठेगाना कहाँ कहाँको थियो, त्यो मात्रै थाहा पाउन सकेको भए धेरै सजिलो हुन्थ्यो,’ प्रहरी स्रोतको भनाइ छ, ‘तर हामीभन्दा सुनबहादुर एक कदम अगाडि भए ।’ सुनबहादुरले भने आफू निर्दोष मान्छेलाई फसाउन खोजिए पनि अदालतले न्याय गरेको प्रतिक्रिया दिए ।

प्रहरीको अनुसन्धान अनुसार भारतमा सुनबहादुरकी श्रीमती राधाले कोठी चलाउने गरेको बयान उद्धार भएर फर्किएका महिलाले दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्यसको खोज गरेको थियो । ‘सुनबहादुर र राधा श्रीमान् श्रीमती हुन भन्ने धेरै तथ्यले खुल्छ तर बिहे दर्ता छैन,’ सीआईबी स्रोत भन्यो, ‘घ्याङफेदीसँग राधाको चेन नतोडेसम्म छोरीचेली बेचबिखन रोक्न कठिन छ ।’

Published on: 2 May 2021 | Kantipur

Link

Back to list

;