s

'हातमुख जोर्न समस्या भएपछि पढाइ छोडेर बालुवा चाल्ने आएँ '

Year of Publication: 1 April 2022 | Annapurna Post

Published by: CESLAM

महादेव अवस्थी

 

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीकी मञ्जु सुनार टन्टलापुर घाममा महाकाली नदीको बगरमा बालुवा चाल्दै गरेको अवस्थामा भेटिइन् । टन्टलापुर घामको वेवास्ता गर्दै बालुवा चाल्दै गरेकी सुनारले भनिन्, 'पेट पाल्न गाह्रो भएपछि, पढाइ पनि छोडियो, बालुवामा भविष्य खोज्दैछु।' 

यति भनिसकेपछि उनी टाउकोमा बाँधेको रुमालले पसिना पुच्छन थाल्छिन्। 

पारिवारिक समस्याले दैनिक गुजारा चलाउन सकस हुन थालेपछि महाकालीको बगरमा बालुवा छानेर परिवारको जोहो गरिरहेको उनले बताइन्। कक्षा १० सम्म पढेकी सुनार ११ वर्षदेखि  यही बगरमा काम गर्दै आएकी छन्। 'सानो कक्षाको पढाइको फी कम हुन्थ्यो, बिहान बेलुकाको काम गरेर विद्यालय जान्थे,' सुनारले भनिन्,' घरको आर्थिक समस्याले स्कुलको शुल्क पनि तिर्न नसक्ने अवस्था आयो, त्यसपछि विद्यालयको माया मारेँ,' आमासँगै बगरमा काम गर्छु ।'

सरकारी विद्यालयमा निःशुल्क शिक्षा भनेपनि शुल्क लिने गरेको उनले गुनासो पोखिइन्। 

ओदालीकै जानकी कामी पनि दुई नाबालक छोरा घरमा छाडेर महाकाली नदीको बगरका बालुवामा छान टार्ने मेसो खोज्दैछन्। 'श्रीमान् सहचालकको काममा हुनुहुन्छ, म चाँही दुई नाबालक छोरा माइती घरमा आमालाई छोडेर बालुवा  र गिट्टी छान्न यहाँ आउँछु,' उनले भनिन् । 

 उनले बगरको कमाईले छोराहरुका लागि कापी, कलमका साथै दैनिक रासन किन्ने गरेको बताइन् । महाकाली नदीको बगरमा दलित र विपन्न समुदायका अधिकांश महिलाको बालुवा र गिट्टी छान्दै दिन बित्ने गर्छ।। बगरमा बालुवा छान्न कञ्चनपुरको शुक्लाफाँटा, बेल्डाँडी र बेलौरी नगरपालिकालगायत क्षेत्रका स्थानीय यहाँ आउने गर्छन्। बेल्डाँडी र बेलौरीबाट आएकाहरु बगरमा झोपडी बनाएर काम गर्ने गरेको स्थानीय परी नरीले बताए । 'यहाँ डडेल्धुरासम्मको मान्छे बालुवा छान्नकै लागि आउने गरेका छन्,' उनले भने, 'टाढाबाट आएकाहरु बगरमै झुपडी बनाएर यहि बस्ने गरेका छन् ।' 

 यसपटक निर्माण सामग्रीमा मुल्य वृद्धि भएपछि  बालुवा, गिट्टीको माग समेत कम भएको उनको भनाइ छ । महाकाली नदीमा मजदुरी गर्नेहरुबाट प्रति ट्रली बालुवा एक हजार र गिट्टी दुई हजारमा बिक्री हुन्छ। महाकाली नदीमा भुजेलादेखि दक्षिणमा बडैपुरसम्म दैनिक चार–पाँच सय मानिस बालुवा/गिट्टी छान्न व्यस्त देखिन्छन् । 

असोजदेखि जेठ मसान्तसम्म बगरमा दलित र विपन्न समुदायसँगै तटीय क्षेत्रका अन्य समुदायका महिला तथा पुरुष पनि फुर्सदका बेला बगरमा बालुवा/गिट्टी छान्न जाने गर्छन्।

Published on: 1 April 2022 | Annapurna Post

Link

Back to list

;