s
Year of Publication: 6 October 2021 | Kantipur
Published by: CESLAM
लीला श्रेष्ठ
काठमाडौँ — ‘एउटी कन्या केटी छ, बिहे गर्ने भए कुरा चलाउँछु,’ श्रीमान् फोनमा कुरा गरिरहेका थिए । ती व्यक्ति को थिए र श्रीमान्ले कुरा गरेको कन्या को थिइन् भन्ने भेउ उनले पाइनन् । खासै वास्ता पनि गरिनन् । त्यसको केही दिनपछि उनी नुवाकोटमा लाग्ने दुप्चेश्वर मेलामा गएकी थिइन् ।
त्यही बेला पासाङ तामाङ भन्ने व्यक्तिले उनलाई फोन गरे र दाइ (श्रीमान्) सँग कुरा भएको बताउँदै भने, ‘तिमी यही मेलामा आएकी रहिछौ । म पनि यतै छु, भेटेर नै कुरा गरौं न ।’ बल्ल उनले थाहा पाइन्, केही दिनअघि श्रीमान्ले बिहेको कुरा गरेको ‘कन्या केटी’ त उनी आफैं पो रहिछन् । त्यो भेटमै पासाङले उनलाई विवाहको प्रस्ताव राखे ।
प्रेम विवाह गरी पाँच सन्तानकी आमा भइसकेकी थिइन् रीमा (परिवर्तित नाम) । परिवार राम्रैसँग चलिरहेको थियो । कान्छा छोरा ४ वर्ष पुगेपछि भने श्रीमान्सँग खटपट सुरु भयो । परिवारको वास्ता नगर्ने र घर खर्चसमेत नदिने भएपछि सम्बन्धमा चिसोपना बढ्दै गयो । यही खटपटीमा जोडिन आइपुगेका थिए, पासाङ । मेलामा भएको पहिलो भेटमै उनले फकाएर भनेका थिए, ‘राम्रोसँग पाल्छु, तिम्रो पहिलेको बूढालाई जार तिर्न परे पनि दिउँला । खुसीको जिन्दगी बिताउँला ।’ बिग्रँदो सम्बन्धको भासमा परेकी रीमा कुन भावावेशमा थिइन् कुन्नि, पासाङ बोलीमा फसिन् । रीमा सुनाउँछिन्, ‘त्यही दिन हामी विवाह गर्न नुवाकोटको घ्याङफेदी पुग्यौं ।’ यो थियो, २०७१ को मंसिरको घटना ।
पासाङको परिवारले सहमति जनाएपछि सिन्दूरपोते भयो । विवाहको तीन दिनपछि रीमालाई छोडेर पासाङ ट्रेकिङको काम गर्ने भन्दै काठमाडौं हिँडे । एक महिनापछि पासाङले सुनाए, ‘तिम्रो पहिलेको श्रीमान्लाई १ लाख ६० हजार रुपैयाँ जार खर्च बुझाएँ नि ।’ बिहेको ८ महिनापछि सँगै काम गर्न भन्दै उनलाई काठमाडौं बोलाए । रीमा बालाजु नयाँ बसपार्क झर्दा पासाङ आफैं लिन आइपुगेका थिए । उनलाई सिधै नजिकैको एक होटलमा लगे । होटलकी एक महिलालाई देखाउँदै भने, ‘दिदीसँग बस्दै गर्नु, एकछिनमा आउँछु ।’ त्यति भनेर निस्केका पासाङ तीन दिनसम्म फर्केनन् । उनको मोबाइल पनि स्विच अफ भयो । पासाङले दिदी भनेर चिनाएकी महिलाले रीमालाई तामाङ थरकै पुरुषसँग चिनाइदिइन् । ती पुरुषले उनलाई मासिक १० हजार तलब पाउने गरी घरायसी काममा लगाइदिने वाचा गरे ।
ती पुरुषले उनलाई आफ्नो कोठामा लगेर श्रीमती–छोराछोरीसँगै तीन दिन राखे । काममा जाने भन्दै एक दिन सुनौली नाका हुँदै ट्रेनमा भारतको नयाँदिल्लीस्थित ‘दिदी’ भन्ने म्हेन्दो तामाङको घर पुर्याए । तीन दिनपछि उनी फर्किए । म्हेन्दोले रीमालाई आग्रा पुर्याइन् । उनी जुन घर पुगिन्, त्यहाँ उनकै उमेरका अरू केटीहरू पनि थिए । तीमध्ये एक जनाले उनलाई सुनाइन्, ‘यहाँ त यौनजन्य कार्य गर्नुपर्छ, तिमी बेचियौ ।’ त्यसपछि झसंग भइन् । बल्ल आफू बेचिएको पक्का भयो ।
त्यसपछिका दिन उनले यौन अखडामा नारकीय दैनिकी बिताउनुपर्यो । ‘मैले यस्तो काम गर्दिनँ भन्दा मलाई शारीरिक र मानसिक यातना दिन्थे । त्यस्तो काम नगरेको दिन खाना नै दिँदैनथे,’ उनले भनिन्, ‘झन्डै ८ महिना काम गरेपछि मलाई अर्को ठाउँमा बेचिदिए ।’ रीमा फेरि बेचिएर दिल्लीको जीबी रोडस्थित ६४ नम्बरको कोठीमा पुगिन् । त्यो उनै म्हेन्दोको अखडा थियो । ठाउँ फेरिए पनि उनले गर्नुपर्ने काम उही थियो । ‘मैले एक दिनमा १५ जनाभन्दा धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्नुपर्थ्यो,’ उनले सुनाइन्, ‘एक जनासँग सुतेबापत पाउने ३५० भारु पनि उनीहरूले नै लिन्थे ।’
पटक–पटक विभिन्न ठाउँमा बेचिएर नारकीय जीवन बिताइरहेकी उनलाई २०७८ जेठ १८ गते भारतको स्थानीय प्रहरी र क्याटलिस्ट नामक संस्थाले दिल्लीस्थित कोठीमा छापा हानेर उद्धार गर्यो । दिल्लीस्थित नेपाली दूतावास र शक्ति समूहको सहयोगमा २०७८ जेठ ३१ गते उनी नेपाल आइन् । उनैले भदौ १ मा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले उनका पहिलो श्रीमान् र दोस्रो श्रीमान् पासाङ तामाङ पक्राउ परेका छन् । ‘दुवैलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर मुद्दामा म्याद थपेर अनुसन्धान गरिरहेका छौं,’ ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले भने, ‘यही घटनाका अन्य फरार प्रतिवादीहरूको खोजी पनि जारी राखेका छौं ।’
Published on: 6 October 2021 | Kantipur
GET IN TOUCH