s

कलिलैमा अवैध बाटो : किशोरकिशोरीका अमेरिका सपना

Year of Publication: 6 November 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

चन्द्रशेखर अधिकारी
 
हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ ।
 
आठ/नौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो । अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो । 
 
अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन । तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए । वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन् । केहीको पुष्टि हुन बाँकी छ । केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन् । किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ । 
 
अहिले दिइएको तथ्यांकमा दुई किशोरीसमेत रहेको अधिकारीहरूले बताए । युवाका विषयमा खासै गम्भीर नबनेको दूतावास किशोरकिशोरीसमेत भेटिएपछि गम्भीर बनेको उल्लेख गर्दै एक अधिकारीले भने, ‘अमेरिकी चासो बढेपछि दूतावास झस्केको हो ।’ यो जानकारी दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा समेत पठाएको छ ।
 
‘हो, अवैध रूपमा अमेरिका प्रवेश गर्नेमा माइनर (कम उमेर) समेत परेपछि हामी थप गम्भीर भएका छौं । पहिले पनि जालो तोड्न हामीले मेहनत गरेका हौं तर सकिएको छैन, प्रयास जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले कान्तिपुरसँग भने । उनले अमेरिकी सरकार र दक्षिण अमेरिकी सरकारको सहयोगबिना मानव तस्करीको जालो तोड्न सहज नरहेको उल्लेख गर्दै भने, ‘अब यसलाई कसरी रोक्ने भन्ने विषयमा अमेरिका, दक्षिण अमेरिकी तथा अफ्रिकी मुलुकसँग छलफल अघि बढाउन आवश्यक छ ।’ 
 
यस अलावा नेपालका दूतावास तथा सुरक्षा निकायबीच सहकार्यमा ध्यान जानुपर्ने पनि राजदूत कार्कीले बताए । नेपालीहरू तान्जानिया, केन्याबाट दक्षिण अमेरिकाका विभिन्न मुलुक हँ‘दै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । पानामा, निकारागुवा, होन्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा पनि नेपाली खाली हुँदैनन् । नेपालीसँग अनुहार मिल्ने विदेशी पनि आफूलाई नेपाली भन्दै अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन् । खास गरी भुटान, फिजी, मरिसस, भारत, मलेसिया, पाकिस्तान र बंगलादेशीमध्ये कतिपयले नेपाली राहदानी नै बोकेर आउने गरेको जानकारी दूतावाससँग छ । ‘कोस्टारिकामा पनि बालक रहेको जानकारी पाएको थिएँ । पछि छुटेको जानकारी आयो,’ राजदूत कार्कीले भने । कोस्टारिकामा निस्कने ‘अमेरिकन युजएक्सपेक्टो कोस्टारिका’ नामक पत्रिकाको अनलाइन संस्करणमा यस्तो तस्करीको सञ्जालमा अफ्रिकी, दक्षिण एसियाली र केही ब्राजिलियन नागरिक संलग्न रहेको उल्लेख छ । 
 
नक्कली कागजात वा बिनाकागजपत्र यस्ता नेपाली त्यसतर्फ जाने हुनाले रोक्न र अध्ययन गर्न सहज भने छैन । नेपालबाट जन्मदर्ता मगाएर ट्राभल डकुमेन्ट बनाउने गरेको पाइएको पनि दूतावासले उल्लेख गरेको छ । दूतावासमा मानिस उपस्थित नै नभई पासपोर्ट बन्ने कारणले पनि समस्या रहेको हो । कागजात पठाएकै भरमा राहदानी बनाउने प्रक्रिया आफैमा ‘शंकास्पद’ भएको र यसमा कर्मचारी र उनीहरूका नातेदारको मिलेमतो भएको हुन सक्ने अनुमान केही परराष्ट्र अधिकारीहरूको छ । यसलाई प्रहरीको विशेष अनुसन्धान ब्युरोले अध्ययन गर्नुपर्ने बताउँदै आए पनि परराष्ट्र मन्त्रालय नै असहयोगी बनेको ती अधिकारीहरूको भनाइ छ। 
 
नेपालबाट नागरिकता नै लिएको व्यक्ति भए पनि दुई वर्ष अमेरिका तथा दक्षिण अमेरिकामा माइनर (बालबालिका समूह) हुन्छन् । १८ वर्ष नकटी अमेरिकाले उनीहरूलाई युवाको वर्गमा राख्दैन । मानव तस्करहरूले सुरुमा २०/२५ लाख लाग्ने जानकारी दिए पनि ५० लाखभन्दा बढी रकम लाग्ने गरेको अमेरिका पुगेका बालबालिकाले समेत स्विकार्ने गरेका छन् । यो विषयमा सरकार तथा सम्बन्धित निकाय सबै जानकार रहे पनि रोक्न कतैबाट प्रयास भएको देखिँदैन । 
 
‘तपाईंहरू समाचार त लेख्नुहुन्छ । पढ्छन् पनि, तर यसमा थप अध्ययन गर्दैनन् । गर्न खोजे रोकिदिन्छन् । यो ठूलो सञ्जाल छ । यसैले मानव तस्करी रोकिएको छैन,’ एक अधिकारीले भने, ‘सजिलै रकम कमाउने यो जालोलाई तोड्न कठिन छैन, तर कोही चाहँदैनन् ।’ वासिङटन डीसीस्थित नेपाली दूतावासले राहदानी बनाउन सम्बन्धित व्यक्ति नै आउनुपर्ने नियम बनाए पनि कतिपयले साथीकामा गएर डकुमेन्ट पठाउने हुनाले यस्ताका हकमा पासपोर्ट बनेको हुन सक्ने आशंका उनीहरूकै छ । मानव तस्करको पछि लागेर २३ महिनासम्म समय लगाएर अमेरिका छिरेको हुनाले उनीहरूप्रति सहानुभूति राख्दा यस्तो अवस्था आएको हो । ‘सामान्य पढेलेखेका बालबालिकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोज्नु आफैमा दु:खद हो । यसमा सबैको ध्यान जान आवश्यक छ,’ दूतावासका एक अधिकारीले भने ।
 
Published on: 6 November 2017 | Kantipur

Back to list

;