s
Year of Publication: 22 July 2019 | Nagarik
Published by: CESLAM
रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ। नेपाल ल्याइएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ।
रोजगारीका लागि केन्या पुगेका ती महिलालाई डान्सबारमा काम लगाइए पनि यौनदासी बनाइएको खबर सार्वजनिक भएपछि केन्याको प्रहरीले उद्धा गरेको थियो। उद्धार गरिएका महिलालाई प्रहरीले नेपाल ल्याएको हो।
प्रहरीका अनुसार ती महिलालाई केन्यास्थित गैरआवासीय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास लगायतका संघसंस्थाको सहकार्यमा नेपाल ल्याइएको हो। उद्धार गरिएका युवती विभिन्न अवधिमा भारत हुँदै केन्या पुगेका थिए। तीमध्ये केही महिला आफूखुशी केन्या गएका थिए भने केहीलाई झुक्याएर पठाइएको थियो।
केन्याबाट फिर्ता गरिएका महिलामध्ये केहीले त्यहाँबाट फर्कन पाएकोमा खुशी व्यक्त गरे भने केहीले स्वदेशमा बेरोजगार हुनुभन्दा विदेशको रोजगारी ठीक रहेको बताए। केन्यामा काम गर्दा चर्चा भएजस्तो आफूहरू समस्यामा नपरेको कतिपय युवती बताउँछन्। उनीहरूलाई केन्या, मुम्बासाको रंगिला डान्सबाबाट त्यहाँको प्रहरीले छापा मारेको हो।
ती युवतीसँगै प्रहरीले डान्सबारको मालिकलाई पनि पक्राउ गरेको थियो। ती महिलालाई केन्या पु-याउने गिरोहको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारले घरेलु कामदारको रूपमा विदेश जान महिलालाई रोक लगाएपछि तेस्रो मुलुक हुँदै रोजगारीका लागि विभिन्न देशमा जाने क्रम जारी छ। जसले गर्दा महिला जोखिममा परेका छन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या घटे पनि अवैध बाटो हुँदै विदेशिनेको संख्या भने निरन्तर बढिरहेको छ। वैदेशिक रोजगार ऐन २०६४ ले रोजगारीका लागि विदेश जानेले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्छ भने स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ३२ हजार एक सय २३ महिला विभिन्न गन्तव्यमा उडे। तर, प्रहरी अधिकारी भने वर्षमा करिब ५० हजार महिला चोरीको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने गरेको बताउँछन्।
आर्थिक वर्ष ०७५/७६ मा श्रम स्वीकृति लिएर नयाँ र पुराना गरी वैदेशिक रोजगारीमा जानेको संख्या भने पाँच लाख आठ हजार आठ सय २८ रहेको विभागले जनाएको छ। उक्त वर्ष पहिलोपटक भन्दा श्रम स्वीकृति नवीकरण गरेर विदेश जानेको संख्या बढी थियो।
पहिलोपटक दुई लाख ३६ हजार दुई सय ११ युवा वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति नवीकरण गरेर विदेश जानेको संख्या दुई लाख ७२ हजार ६ सय सत्र रहेको विभागले जनाएको छ।
Published on: 22 July 2019 | Nagarik
GET IN TOUCH