s

खासाका रेस्टुरेन्टमा नेपाली चेली छ्याप्छ्याप्ती

Year of Publication: 9 February 2012 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

ध्रुव दङ्गाल

तिब्बतको खासा क्षेत्र नेपाली चेली बेचविखनको 'नयाँ गन्तव्य' को रुपमा विकास हुनुमा खुकुलो प्रवेश नीति मुख्य कारण रहेको पाइएको छ।
एक दिने अस्थायी पास लिएर घुम्ने बाहानामा खासा पुग्ने युवतीहरु त्यहाँका 'रेडलाइट एरिया' का होटल, क्याबिन रेस्टुरेन्ट र डान्सबारको कामदारका रुपमा उतै रमाउने गरेका छन्।'खासाका होटल, रेस्टुराँ र डान्सबारमा कलिला नेपाली केटी छ्याप्छ्याप्ती छन्,' तातोपानीस्थित अध्यागमन कार्यालयका प्रमुख अधिकृत विजय पौडेलले नागरिकसँग भने, '१६-२५ वर्ष उमेर समूहका उनीहरु वेटर्स, कुक, नर्तकी, भाँडा माझ्ने जस्ता काममा संलग्न छन्।'
 
पौडेलका अनुसार यहाँ ७० को हाराहारीमा डान्सबार, होटल, लज, क्याबिन रेन्टुरेन्ट छन्। 'सयभन्दा बढीको संख्यामा रहेका नेपाली चेलीले सबै काम धानेका छन्,' पौडेलले भने, 'खासामा होटल, रेस्टुराँ थपिन थालेसँगै नेपाली युवती त्यहाँ जानेक्रम बढेको छ ।' नेपाली युवती नाच्ने डान्सबार नै ६ वटा छ भने नेपाली प्रवृत्तिका होटलको संख्या मात्रै १० पुगेको छ। यासबाहेक चिनियाँद्वारा सञ्चालित होटल, लज ३० र २० रेस्टुरेन्ट/क्याबिन रेस्टुरेन्ट छन्। देहव्यापारका लागि चीन सरकारले खासाको केही भू-भागलाई 'रेड एरिया' घोषणा गरेको छ। यो प्रयोजनका लागि सरकारलाई कर तिरेर ठूल्ठूला सटरै भाडामा लिइएको छ।
 
'नेपाली युवती यही एरिया र आसपासमा काम गर्ने भएकाले कति राजीखुसी त कतिपय जबर्जस्ती वेश्यावृत्तिमा लागेको सुनिन आएको छ। ग्राहकलाई मनोरञ्जन दिनेलगायत तल्ला स्तरको काममा उनीहरुलाई प्रयोग गरेको पाइन्छ,' अध्यागमन अधिकृत पौडेलले भने। माइती नेपालले खासा र रसुवा नाकाबाट तिब्बत पुर्‍याइएका पाँच युवतीलाई फर्काएपछि नेपाली चेली बेचविखनको नयाँ गन्तव्य पत्ता लागेको हो। नागरिकता देखाएर अध्यागमनले दिने एकदिने अस्थायी प्रवेश पास बोकेर युवती सजिलै खासा पुग्छन्।
 
'भोलिपल्ट फर्कनु पर्ने हो तर फर्कंदैनन्', पौडेलले भने, 'फर्काउन उताबाट त्यति चासो दिएको पाइँदैन।' चिनियाँ सुरक्षाकर्मीले कहिलेकाहीँ छापा मारेर नेपाली युवती पक्रेको खबर सुन्नमा आए पनि स्वदेश फर्काउन पहल नगर्ने उनले बताए। 'खासाको व्यवसाय नेपाली युवतीको भरमा चलेको छ,' उनले कारण सुनाए। सीमाबासीको हैसियतमा दुवै देशका बासिन्दा प्रवेशपास लिएर ३० किलोमिटर क्षेत्र निर्बाध घुम्न पाउँछन्। चीनसँग सीमा जोडिएका उत्तरी १६ जिल्लामा यस्तो व्यवस्था छ। यो व्यवस्थाले अन्य नेपालीलाई अप्ठ्यारो भएपछि एकदिने अस्थायी पासको खुकुलो नीति चीनले अघि सारेको हो। डेढ वर्षअघि तत्कालिन गृहमन्त्री वामदेव गौतमले राजधानीका क्याबिन रेस्टुरेन्ट र रात्रिकालीन डान्सबार बन्द गराउने अभियान थालेपछि धेरै युवती खासा आइपुगेको अनुमान छ।
 
नाकामा निगरानी सुरु
सीमावर्ती खासा नेपाली चेली बेचविखनको नयाँ गन्तव्य बन्न थालेकोप्रति स्थानीय प्रशासनले चिन्ता व्यक्त गरेको छ। प्रशासनको निर्देशनमा बिहीबारदेखि तातोपानी नाकामा निगरानी बढाउन थालिएको छ। नागरिकले बिहीबारै यससम्बन्धी समाचार सार्वजनिक गरेको थियो। 'यो खबरले हाम्रो ध्यानाकर्षण भएको छ,' प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने, 'नाकामा निगरानी बढाउन सुरक्षायुनिटलाई निर्देशन दिइसकेको छु।' दुई देशबीचको मामला औल्याउँदै उनले चीनतर्फ सुरु भएको बेचविखन रोक्न सरकार स्तरबाट प्रयास थाल्नुपर्ने बताए।
 
Published on: 9 February 2012 | Nagarik

Back to list

;