s

लक्की शेर्पा अष्ट्रेलिया फर्किइन्

Year of Publication: 17 January 2019 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाल अष्ट्रेलिया फर्किएकी छन्।

एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छन्।

परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेपछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन्।

उनी काममा फर्केकी हुन् या यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भएको छैन।

केही बिसन्चो भएको भन्दै हाल शेर्पा क्यानबेरास्थित राजदूत निवासमा आराम गरिरहेको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

परराष्ट्रमन्त्री ज्ञवालीले उनीबारे छिट्टै निर्णय हुने बताए पनि पछिल्लो भेटघाटको विषयबारे स्पष्ट नभएको परराष्ट्र स्रोतले जानकारी दियो।

यसअघि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजदूत शेर्पालाई राजीनामा गर्न सुझाव दिएको जानकारी गराएका थिए।

केही दिनअघि शेर्पालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको समाचार सार्वजनिक भएको थियो।

लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुनै निर्णय नभएको बताएका थिए। राजदूत शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत सोमबार बालुवाटारमा भेटेकी थिइन्।

भेटका क्रममा शेर्पालाई राजीनामा गर्न सुझाइएको थियो।

स्रोतका अनुसार उनले तत्कालै राजीनामा पत्र लेखेर बालुवाटारमा छाडेकी थिइन्। तर, शेर्पा आफैंले भने राजीनामा दिएको समाचारको खण्डन गर्दै आएकी थिइन्।

सञ्चारमन्त्री बाँस्कोटाको पत्रकार सम्मेलनमार्फत् शेर्पालाई राजीनामाका लागि सुझाव दिइएको स्पष्ट पारेका थिए।

राजदूत शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि मंसिर २२ गते काठमाडौं आएकी थिइन्।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन्। त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको थियो।

Published On: 17 January 2019 | Setopati

Back to list

;