s

मध्यरातमा नयाँदिल्लीबाट सोह्र नेपाली महिलाको उद्धार

Year of Publication: 25 July 2018 | Kantipur

Publication Type: NEWS

Published by: सुरेशराज न्यौपाने

सुरेशराज न्यौपाने

मंगलबार राति ११:३० बजे, नयाँदिल्लीको मुर्निकास्थित घनाबस्तीमा रहेको एउटा अँध्यारो गल्लीमा मुख छोपेका एक हुल महिलाहरु देखा पर्छन् । मानौं कुनै लामो यात्रामा हिँडेजस्तै । तर, उनीहरु अरु कोही नभएर वैदेशिक रोजगारका एजेन्टहरुले ओछ्याएको खाडीको ‘आकर्षक कमाई’ को कहालीलाग्दो यात्राबाट जोगिएका १६ जना नेपाली युवतीहरु थिए । 

इराक, कुवेत र दुबई पठाइदिने भन्दै बन्धक बनाएर राखिएका उनीहरुको दिल्ली महिला आयोग, केआई नेपाल र स्थानीय वसन्त विहार प्रहरीको संयुक्त टोलीको करिब चार घण्टाको कठिन प्रयासपछि घरबाट उद्धार गरिएको हो।
 
एक महिनादेखि स-साना दुई कोठामा राखिएको कारण उद्धार टोली पुग्दा उनीहरु शिथिल र थकित देखिन्थे भने केहीमा रुघाखोकी र ज्वरोको समस्या पनि। २० देखि ३५ वर्षका यिनीहरुमध्ये दुईजना मात्र अविवाहित छन्। मध्यरातमा भएको उद्धारपछि उनीहरुलाई करिब पाँचसय मिटरको दूरीमा रहेको वसन्त विहार थाना पुऱ्याएको थियो। त्यहाँ उनीहरुको व्यक्तिगत विवरण लिने काम गरियो। र, हाल उनीहरुलाई दिल्ली आयोगकै ‘सेल्टर’ मा राखिएको छ। प्रहरी अनुसन्धानलगायतका प्रक्रिया पूरा गरेपछि यिनीहरुलाई नेपाल पठाइने उद्धारमा नेतृत्व गरेकी दिल्ली आयोगकी अध्यक्ष स्वाती मलिवालले बताइन्।
 
यी युवतीहरुलाई करिब महिना दिनदेखि कुवेत, इराक र दुबई पठाउने भन्दै एजेन्टहरुले मुर्निकाको साँघुरो गल्लीमा रहेको ६ तले घरको दोस्रो तलाको ससाना दुईवटा कोठामा राखेका थिए। यिनीहरुमध्ये केहीलाई एक महिनाअघि नै दिल्ली ल्याइएको थियो भने केही दुई दिनअघि मात्र आइपुगेका थिए। सबैजनाको राहदानी दिल्ली पुग्नु अघि नै एजेन्टहरुले नियन्त्रणमा लिएको उनीहरुले बताए।
 
इराक र कुवेतमा पुऱ्याउने र त्यहाँ खान, बस्न पाएर कम्तीमा ३० हजार रुपैयाँ मासिक तलब हुने आश्वासन दिइएको उद्धार गरिएकी मोरङ बेलबारीकी अनुकला मगरले बताइन्। सुरुमा सबैजनालाई एजेन्टले दिल्लीमा दुई चार दिन मात्र बस्नुपर्ने बताएका थिए। एक सातासम्म पनि उडाउने छाँटकाँट नदेखेपछि अधिकांशले आफूहरुको पासपोर्ट फिर्ता दिन भने पनि एजेन्टहरुले विभिन्न बहाना बनाएर झुलाएको मगरले कान्तिपुरलाई बताइन्।
 
सोह्रै जना एजेन्टले बनाएको मार्गचित्रबमोजिम काठमाडौं पुगेर सुनौलीको बाटो हुँदै दिल्ली ल्याइएको हो। नेपाल–भारत सीमामा हुनसक्ने सोधपुध र सुरक्षा जाँचबाट उम्कन अधिकांशलाई दिल्लीमा आफन्त रहेको र केही दिनका लागि घुम्न जान लागेको भन्ने जवाफ दिन समेत सिकाइएको थियो। ‘बोर्डरमा केही सोध्यो भने ढाँट्न भनेको थियो। मैले दिल्लीमा दाइ हुनुहुन्छ। दाइले घुम्न बोलाउनुभएको छ भनेँ। सात दिन पछि फर्किन्छु भनेँ, त्यसपछि जान दिए’ मगरले भनिन्। सोधपुछ हुने देखेर केहीलाई मोटरसाइकलमा राखेरसमेत सीमा कटाइएको थियो। ‘म र अरु दुईजनालाई मोटरसाइकल राखेर ल्याइयो, कसैले रोकेन,’ हेटौंडा घर बताउने एक युवतीले भनिन्।
 
एकसाताअघि अनुकला र अर्की एक युवती कुवेतका लागि उड्ने भन्दै नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगे। तर, दुवैलाई एअरपोर्ट अधिकारीहरुले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नक्कली भएको आशंकामा उनीहरुलाई पक्राउ गरेको थियो। केही घन्टा राखेर उनीहरुलाई छाडियो। त्यसपछि एअरपोर्ट अथोरिटिले ती दुई जनाले पेस गरेको 'नो अब्जेक्सन लेटर' का बारेमा नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो। त्यसपछि मात्र १६ जना महिलाहरुलाई विगत एक महिनादेखि बन्धक बनाएर राखिएको विषय खुलेको हो।
 
सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ जेठमै प्रतिबन्ध लगाए पनि विभिन्न बाटो हुँदै अहिले पनि नेपाली महिलाहरु ती मुलुक पुगिनै रहेका छन्। विशेषगरी भारतका दिल्लीलगायत एयरपोर्टमा सेटिङ मिलाएर नेपाली चेलीहरुलाई खाडी मुलुक पठाउने क्रम पछिल्लो समय बढ्दै गएको देखिन्छ। सरकारले खाडी मुलुकमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएपछि भारतीय बाटो हुँदै खाडी मुलुक पठाउने गरिएको थियो। र, त्यसरी जानेहरु अधिकांश भिजिट भिसामा जाने गरेका थिए। यो क्रम बढेसँगै नेपाल सरकारले भारतका सहरहरुबाट विदेश जानु परेको खण्डमा नेपाली दूतावासबाट जारी भएको एनओसी अनिवार्य गरेको हो। ‘एनओसीसमेत नक्कली बन्नु ठूलो घटना हो, यसतर्फ नेपाल सरकार गम्भीर हुनुपर्छ’ स्वातीले भनिन्।
 
नक्कली एनओसीका सम्बन्धमा प्रश्न गर्दा दूतावासका प्रवक्ता हरि ओडारीले भने, ‘त्यो डकुमेन्ट पाएपछि हामी अभिलेख हेर्छौं। त्यसपछि मात्र प्रस्ट हुनेछ। सामान्यतया: खाडी मुलुक जाने नेपाली कामदारका लागि दूतावासले एनओसी जारी गर्ने गरेकै छैन।’ तर, नेपाली युवतीहरुलाई दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएको यो पहिलो घटना भने होइन। करिब छ महिनाअघि भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका ३५ जना नेपाली महिलाहरुको पनि उद्धार गरिएको थियो। र, ती सबैजना दिल्लीबाटै उडेका थिए। ‘नेपाली महिलाहरुलाई यसरी ल्याएको देख्दा निकै दु:ख लाग्छ। यस्ता घटना दोहोरिरहेका छन्' स्वातीले भनिन्, 'मलाई अचम्म लागिरहेको छ, किन नेपाल सरकारको तर्फबाट यसकिसिमको मानवतस्करी रोकन ठोस पहल भइरहेको छैन।,’
 
साथै सीमामा अलि कडाई गर्ने चेलीबेटीहरुको तस्करी सहजै रोक्न सकिने उनी बताउँछिन्। ‘उद्धार गरिएका युवतीहरुसँग केही मिनेट कुरा गर्दा नै उनीहरुलाई धेरै कुरा थाहा नभएको बुझेँ। त्यसैले सीमामा अलि कडाई गर्ने हो यस किसिमको मानवतस्करी सहजै रोक्न सकिन्छ,’ स्वातीले कान्तिपुरसँग भनिन्, ‘म कल्पना पनि गर्न सक्दिनँ, यिनीहरु सबै जना कुवेत र इराक पुगेको भए यिनीहरुको अवस्था के हुन्थ्यो। ती सात जनाको अवस्था कस्तो होला? सोच्न पनि सक्दिनँ।’
 
‘हामीलाई सबै कुरा ढाँटिएको रहेछ’ अनुकला मगर
 
मेरा श्रीमान् पनि विदेशमा हुनुहुन्छ । बच्चा आठ वर्षको छ । घरमा दु:ख नै थियो । मैले नेपालमै गरी खानका लागि कोसिस नगरेकी होइन् । म्यादी प्रहरी पनि भिडेँ । कोरियन भाषाको परीक्षा पनि दिएँ । सिलाइकटिङ पनि सिकेँ । तर, कतै केही उपाय नलागेपछि विदेश जाने सोच बनाएँ । विदेशमा कतै राम्रो हुन्छ भने हुन्छ कि भनेर सोधपुछ गर्दा यी एजेन्टहरुको नम्बर हात पारेँ । राम्रो ठाउँमा पठाउँछ भनेर एजेन्टको नम्बर पाएँ ।
 
मेरो घर मोरङ बेलबारीबाट त्यो एजेन्टको घर चितवनमा रहेछ । उनलाई फोन गरेँ । बेलबारीबाट काठमाडौं गए । काठमाडौंमा एजेन्ट भेटेपछि सुनौली हुँदै यहाँ आइपुगेँ । तर, एक महिनापछि यो अवस्था भोग्नुपऱ्यो । तीन सातापछि उडाउने भनेर एयरपोर्ट लगियो । तर, म र एक अर्को एक जना दिदीलाई एक साताअघि एअरपोर्टमा पक्राउ पऱ्यौं । त्यसपछि बल्ला एनओसी नक्कली हो भन्ने समेत थाहा थिएन । पासपोर्ट एयरपोर्टमै राखियो । हाम्रो पासपोर्ट फिर्ता चाहियो भन्दा बनाएर दिन्छौं भन्थे । हामीलाई नेपाली पठाइदिनुस् भनेर भन्न थाल्यौं । त्यो भन्दा सेटिङ मिलाउने मान्छे हैदरावाद गएको छ त्यो आएपछि पासपोर्ट फिर्ता हुन्छ भन्दै भन्दै यति दिन झुलाएर राखियो । एजेन्टहरुले सबैकुरा ढाँटेका रहेछन् ।
 
को हुन् स्वाती मलिवाल ?
 
महिला तथा बालबालिकामाथि हुने हिंसा र चेलिबेटी बेचबिखनविरुद्धको अभियानका लागि चर्चित छिन्, स्वाती मलिवाल । नेपाली युवतीहरुको उद्धारका लागि मंगलबार मध्यरातमा छापा मार्ने टोलीको अगुवाई पनि उनैले गरेकी थिइन् । गत वैशाखमा नयाँ दिल्लीको राजघाटमा महिला तथा बालिकामाथि भएका हिंसाविरुद्ध आमरण अनशन बसेपछि दिल्ली महिला आयोगकी अध्यक्ष मलिवाल भारतभर चर्चाको केन्द्रमा रहिन् ।
 
जम्मु र उत्तर प्रदेशलगायत भारतका विभिन्न राज्यमा बालिका र महिलाहरुको बलात्कार र हत्याको श्रृखंला बढ्दै गएपछि अपराधीलाई कारबाही गर्न कडा कानुन ल्याउनु पर्ने माग राख्दै उनी अनशन बसेकी थिइन् । १० दिनसम्म चलेको उनको अनशनमा भारत सरकारले १० वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजायसहितको कानुन ल्याएको थियो । ‘मानव तस्करी नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । दिल्लीभित्रै पनि ठूलो संख्यामा मानव तस्करी हुने गरेको छ । त्यसैले यसलाई रोक्न नेपाल र भारत सरकारले मिलेर काम गर्नुपर्छ,’ स्वातिले भनिन् ।
 
Published on: 25 July 2018 | Kantipur

Back to list

;