s
Year of Publication: 28 March 2019 । Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
शम्भू कट्टेल
गृह मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भए-नभएको बारे छानबिन गर्न अध्यागमन विभागलाई निर्देशन दिएको छ।
गृहले बुधबारको अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा ‘मानव तस्करीका लागि सेटिङ मिलाउँछन् अध्यागमनका कर्मचारी’ शीर्षकमा प्रकाशित समाचारबारे ध्यानाकर्षण भएको बताउँदै छानबिन गर्न विभागलाई निर्देशन दिएको हो। गृह प्रवक्ता रामकृष्ण सुवेदीले विमानस्थल अध्यागमन कार्यालयमा भएको घटनाबारे छानबिन गर्न निर्देशन दिएको जानकारी दिए। त्रिवि अध्यागमन र सम्बन्धित एयरलाइन्सका कर्मचारीले पर्यटक भिसामा अफ्रिकी मुलुकको मरिसर जान लागेका पाँच जनालाई सेटिङमा प्रस्थान अनुमति दिएका थिए।
समाचारप्रति गृहमन्त्री रामबहादुर थापा र गृह सचिव प्रेम कुमार राईले समेत चासो राखेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा विमास्थल अध्यागमन कार्यालयबाट भएका सेटिङका विषयमा गम्भीरता पूर्वक छानबिन सुरु भएको स्रोतको दाबी छ। पहिलो पटक विमानस्थल पुग्दा पाँच युवालाई अध्यागमन र एयरलाइन्सका कर्मचारीले कागजात नपुगेको भन्दै फिर्ता गरेका थिए। त्यसको केही दिन पछि पुरानै कागजातका आधारमा ती युवालाई अध्यागमन र एयरलाइन्सका कर्मचारीले उडाएका थिए। अध्यागमन विभागले उक्त विषयबारे अनुसन्धान अघि बढाएको छ। अध्यागमनका कर्मचारीले आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। कर्मचारीले गल्ती स्वीकार नगरे पनि विभागले प्रस्थान अनुमति दिने कर्मचारीको नाम पहिचान गरिसकेको छ। विभागले प्रस्थान अनुमति दिने कर्मचारीको नेक्सस् खोजिने बताएको छ। ‘हाम्रै कर्मचारीको गल्ती हो वा कसैको दबाबमा गरेका हुन त्यसबारे बुझ्दै छौँ’, अध्यागमन विभागका एक उच्च अधिकारीले भने, ‘गल्ती भएको देखिएको छ। सूक्ष्म छानबिन गर्छौँ।’
अध्यागमनका कर्मचारीसँग सेटिङ गरी पठाइएका पाँचजना नेपाली युवालाई अफ्रिकी मुलुक मोरिससले फर्काइदिएको (इन्ट्री रिफ्युज्ड) पछि घटना सार्वजनिक भएको हो।अध्यागमनका कर्मचारीले रुकुम चौरझारीका अविनास नेपाली, मबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई सेटिङमा मोरिसस जाने प्रस्थान अनुमति दिएका थिए।
Published on: 28 March 2019 । Annapurna Post
GET IN TOUCH