s

नाबालिका बेच्ने युवती पक्राउ

Year of Publication: 16 May 2023 | Nagarik

Published by: CESLAM

एक नाबालिकालाई भारत लगेर बेच्ने मुख्य भूमिकामा रहेकी युवती एलिना खत्रीलाई प्रहरीले पक्रेको छ। भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गर्ने म्याग्दी रघुगंगा गाउँपालिका ३ की ३० वर्षे एलिना खत्रीलाई प्रहरीले झापाबाट प्रक्राउ गरेको हो।

खत्रीलाई सोमबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ। प्रहरीले मानव बेचबिखनमा संलग्न रहेकी खत्रीलाई वैशाख ३१ गते झापाबाट पक्राउ गरिएको हो।

गत वर्षको कात्तिक २४ गते कक्षा ९ मा अध्ययनरत अन्दाजी १४ वर्षकी किशोरी काठमाडौं बस्ने आफन्तकोमा जान्छु भनी घर नुवाकोटबाट बसमा चढेकी थिइन्। काठमाडौं आउँदै गर्ने क्रममा सँगैको सिटमा बसेका पुरुष व्यक्तिले खानेकुरा तथा पानीमा बेहोस हुने औषधि मिसावट गरी ती किशोरीलाई खुवाएको थियो। उक्त पुरुषले बेहास भएकी किशोरीलाई भारतको आसाम राज्यको कछर जिल्लाको सिल्चर स्थानको रेड लाइट एरियाको कोठीमा पुर्याई बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाइदिएका थिए।

समय बित्दै जाँदा नाबालिकाको परिवारले छोरीलाई खोन्दै गर्दा उक्त किशोरीद्वारा नै आफू भारतको रेड लाइट एरियाको कोठीमा बेचिएकी कथा खुलाइन्। नेपाल प्रहरी, भारतीय प्रहरी र माइती नेपालको सहयोगमा ती किशोरी उद्धार भई मानव बेचबिखन अनुसन्धान ब्युरोमा उनले उजुरी दिएकी थिइन्।

मानव बेचबिख तथा ओसारपसारमा ती किशोरीको उजुरीलाई दृष्टिगत गरी अनुसन्धानको क्रममा खत्रीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेकी खत्री यस घटनाभन्दा पहिला पनि सिल्चर स्थानको रेड लाइट एरियाको कोठीमा नेपाली युवतीलाई ललाइफकाई तथा झुक्याउँदै लगि वेश्यालय सञ्चालन गर्ने गरेको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार, ‘इलाका प्रहरी कार्यालय अनारमनी झापाले गत वर्षको मंसिर १४ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मुुछिएकी अप्सरा भन्ने एलिना खत्रीलाई झापा जिल्ला अदालतले पुस १४ गते १ लाख ५० हजार धरौटीमा तारेखमा छाडेको थियो।’

उक्त खत्रीको श्रीमान् भारतीय नागरिक अजित साहसमेत मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको हुँदा कारागार कार्यालय भद्रपुर झापाको थुनामा रहेको,’ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले जानकारी गराए। यस किशोरीसँगको घटनामा नेपाली र भारती गरी हालसम्म जम्मा ६ जनाको संलग्नता रहेको ब्युरोका एसपी पंगेनीले बताए। उक्त किशोरीको संलग्नता तथा अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी पंगनीले जानकारी गराए। हालसम्म मानव बेचबिखनमा परी उद्धार गरिएको जम्मा संख्या १ हजार १ सय १३ जना छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोले ४ सय ९२ जनालाई उद्धार गरेको एसपी पंगेनीले बताए। तीमध्ये १ सय ९९ जना बालिका रहेका छन् भने ३४ जना बालक रहेको ब्युरोको तथ्यांकले देखाएको छ। त्यसैगरी गत वर्षमा १ सय ६२ जना उद्धार गरिएको थियो भने ९९ जना ब्युरोद्वारा उद्धार भएको एसपी पंगेनीले बताए।

Published on: 16 May 2023 | Nagarik

Link

Back to list

;