s

नेपाली युवा कास्मिरमा बन्धक

Year of Publication: 31 July 2019 | Annapurna Post

Published by: CESLAM

भारतीय बाटो र सहर हुँदै विदेशमा श्रमका लागि अवैध तवरबाट मानव तस्करले नेपाली महिला लैजाने तथ्य नयाँ होइन। यसरी अवैधानिक बाटो हुँदै दलालको पछि लागेर जाने कतिपय महिला बन्धक बनाइन्छन् भने कतिपयले उचित पारि श्रमिक समेत पाउँदैनन्। यसैगरी नेपाली पुरुष पनि देशबाहिर लगेर बन्दी बनाएर काममा लगाइन्छ भनेमा पत्याउन गाह्रो पर्छ। तर मोरङ जिल्लाबाट भारतको जम्मु कास्मिर लगिएका १२ युवा एक महिनादेखि त्यहाँ बन्दी बनाइएका छन्। परिवारले जनही २० हजार रुपैयाँका दरले रकम दिए पनि उनीहरूलाई छुटाएर फिर्ता ल्याउन एजेन्टहरूले बेवास्ता गरेको खुलेको छ।

मोरङको सुन्दरहरैंचा–५ का सरोज चौधरी, धीरज चौधरीलगायत १२ युवा जम्मुमा बन्दी बनाइएका हुन्। बूढीखोला किनारको सुकुम्बासी बस्तीका उनीहरूमध्ये धेरैजसो त्यही खोलामा काम गर्थे। ढुंगा, गिटी र बालुवाको काम गर्ने उनीहरू असारमा खोलाबाट ढुंगागिटी निकासी बन्द भएपछि रोजगारीका लागि जम्मु जान तयार भएका थिए।

‘गंगा चौधरी आएकी थिइन्, उता दिनको भारु ६ सय रुपैयाँ हुन्छ भनिन्’, छोरा धीरज र भतिजा सरोजलाई पठाएका स्थानीय राजनारायण चौधरीले भने, ‘उनीहरूलाई लिएर सुनसरीको घुस्कीमा दुई जना ठेकेदारको जिम्मा लगाइन्।’ गंगाले गाउँ गाउँ डुलेर कामदार युवा भेला पार्ने काम गर्छिन्। सुनसरीको सीमावर्ती घुस्कीमा ठेकेदार हुन्छन्, जसले ती युवालाई जम्मु पुर्‍याउँछन्।

गंगाले उनीहरूलाई लगेर घुस्कीमा आजाद मियाँ र अर्का एक व्यक्तिको जिम्मा लगाइन्। मियाँले युवाहरूसँगै पुगेका उनीहरूका परिवारको सदस्यलाई जनही १०÷१० हजार रुपैयाँ पेस्की पनि दिए। परिवार पनि पेस्की पाएर दंग परे। तर ३ महिनाका लागि लगिएका युवा त्यहाँ ३ साता पनि टिक्न सकेनन्। साउन १५ गते नै घरमा फोन गरेर उनीहरूले काम गर्न नसक्ने बताउँदै फर्काउन अनुरोध गरे।

राजनारायणका अनुसार त्यहाँ दिनको १२ घण्टाभन्दा बढी काम गर्नुपर्ने र ३०÷४० किलोका भारी बोक्न लगाइन्छ। यहाँ खोलामा ढुंगागिटी र बालुवा बोक्नेले पनि गर्न नसक्ने काम उनीहरूलाई लगाएको परिवारको भनाइ छ। त्यसमाथि काम गाह्रो भयो भनेर फर्कन चाहनेलाई समेत फर्कन दिएका छैनन्।

‘ठेकेदारलाई छोरा फर्काइदिनु भन्दा कहिले २÷४ दिन, कहिले ७ दिन, कहिले १० दिन भन्दै टारिरहेका छन्’, उनले भने, ‘अहिले चाहिँ लिन गएको छ भन्छ, आइपुगेको छैन।’धीरज र सरोजलगायत युवा जम्मु कास्मिरबाट फर्कन खोजिरहेका छन्। तर उनीहरूलाई फर्कन दिइरहेको छैन। त्यहाँ उनीहरूलाई बन्धक बनाएर घर बनाउने काममा लगाइएको परिवारले जानकारी दिएको छ। काम गर्न नसकेर एक जना त भागेरै फर्किएको राजनारायणले बताए।

त्यसबीच नेपाली युवा फर्काउन जनही २० हजार रुपैयाँ लाग्ने भनेपछि आफूहरूले १२ जनाका लागि २०÷२० हजार रुपैयाँका दरले उठाएर जिम्मा लगाएको राजनारायणले जानकारी दिए। यति गर्दा पनि अझै एक साता, एक महिना राख्नुपर्ने भन्ने जवाफ पाइरहे पनि उनीलगायत पीडित परिवारले गछिया प्रहरीमा उजुरी दिए। तर प्रहरीले चासो नदिएको राजनारायणको गुनासो छ।

आजादले भने गंगाको आफन्त जम्मुमा काम गरिरहेको र तिनले नै उनीहरूलाई भेला पारेर पठाएको बताए। ‘मसँग त पैसा मात्र मागेको हो, मैले ब्याजमा दिएँ,’ उनले भने। पछिल्लो समय पूर्वी नेपालबाट आकर्षक रोजगारीको लोभ देखाएर भारतको जम्मु–कास्मिरमा मानवतस्करी हुने गरेको छ। तस्करले सुनसरीको मानिस लैजान घुस्की नाका प्रयोग गर्ने गरेका छन्। त्यहाँका ठेकेदारले मोरङका गाउँ गाउँमा युवा मजदुर खोज्न एजेन्ट परिचालन गरेका छन्।

त्यस्ता एजेन्टले कमिसनको लोभमा युवालाई सीमासम्म पुर्‍याएर ठेकेदारको जिम्मा लगाउँछन्। ठेकेदारले सीमा कटाएर जम्मु पुर्‍याउँछन्। सीमामा प्रहरीलाई जम्मु जाने बताउँदैनन्। महिला कामदार तस्करी गर्नेले पनि यही तरिका अपनाउने गरेका छन्। यसरी जम्मु लगेका युवालाई खाना र ज्याला नदिइ काममा लगाउने, बन्धक बनाएर यातना दिने, घर फर्कन नदिने गुनासा आउन थालेको छ।

मोरङ प्रहरीले केही दिनअघि घुस्कीबाट उर्लाबारीका १० जना युवाको उद्धार गरेको थियो। सुनसरी प्रहरीसँग मिलेमतो गरी भारत कटाउनै लाग्दा उनीहरूको उद्धार गरेको थियो। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले त्यस घटनामा ३ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जनाले एजेन्ट बनेर गाउँ गाउँ घुमेर युवा बटुल्ने काम गरेका थिए। सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले भने सो विषयमा खासै धेरै जानकारी नआएको बताए।

Published on: 31 July 2019 | Annapurna Post

Back to list

;