s

नेपाली युवतीलाई केरुङ पुर्‍याएर यौनधन्दामा लगाउने दुई जना पक्राउ

Year of Publication: 9 July 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पुर्‍याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
 
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् । उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा रसुवागढीबाट पक्राउ गरी दुवैलाई मानव बेचबिखन तथा ओसारपोसार र जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
 
१९ वर्षीय एक युवतीलाई रसुवावासी भएको नक्कली नागरिकता खडा गरी अध्यागमन कार्यालयबाट सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने केरुङ सीमा अनुमतिपत्र समेत बनाएर यही असार ४ गते केरुङ पुर्‍याई डान्स हलमा यौनधन्दाको काममा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।
 
घटनामा संलग्न पाँचमध्ये फरार अन्य तीन जनाको खोजी जारी रहेको बताइएको छ । सो समूहले गत जेठ ११ गते पोखराबाट युवतीलाई ललाइफकाई काठमाडौं हुँदै रसुवाको स्याफ्रुमा पुर्‍याएर नक्कली नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक पटक चरम यौनशोषण गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
 
अध्यागमन कार्यालय रसुवागढीले भने जेठको अन्तिम सातामा केरुङ जान पाउने सीमा अनुमतिपत्र जारी भएको र नक्कली वा सक्कली नागरिकता हो होइन भन्ने पहिचान गर्ने उपकरण नभएकाले याद राख्न नसकिएको बताएको छ ।
 
Published on: 9 July 2018 | Onlinekhabar

Back to list

;