s

पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार

Year of Publication: 6 March 2018 | Naya Patrika

Publication Type: NEWS

Published by: CESLAM

गगन अयडी

शिक्षक र कर्मचारीले पढाइदिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका–४ र ५ का १४ वर्षमुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाएका छन् । पाँच बालबालिका फर्केर आएपछि घरेलु काममा लगाएको खुलेको हो ।

जागिर खान बाजुरा आएका शिक्षक तथा कर्मचारीले पढाइदिने आश्वासन दिएर बालबालिकालाई आफूसँगै लग्ने गरेका हुन् । गौमुल–५ का १४ सुरेश रोकायालाई ‘राम्रो स्कुलमा पढाइदिन्छु’ भन्दै जतेन्द्र मल्लले धनगढी लगेका थिए । उनी भागेर आएपछि घरेलु काममा लगाउने गरेको थाहा भएको उनकी आमा झुमा रोकायाले बताइन् । ‘स्कुल त के लगाउँथे, घरको काम गराउन लगेका रहेछन्’ झुमाले भनिन् ।

एक वर्षअघि धनगढी लगिएका उनले स्कुल जान नपाएको बताए । ‘भाँडाकुँडा माझ्ने, खाना पकाउने, बजारबाट सामान किनेर ल्याउने काम गराउँथे’ भागेर घर फर्केका सुरेशले भने ।
 
उनीसँगै विभिन्न ठाउँ लगिएका मानकोटकै भविन्द्र रोकाया, देवेन्द्र रोकाया, प्रविन रोकाया र नरेन्द्र रोकाया भागेर फर्किएका हुन् । उनीहरूले पनि स्कुल जान नपाएको बताए । घरको काममा मात्रै लगाउने गरेको प्रविनको भनाइ छ ।
 
अभिभावकलाई अत्तोपत्तो छैन
 
गाउँ फर्किएका पाँच बालबालिकाले घरेलु काममा नै लगाउने गरेको बताएपछि अन्य बालबालिकाका अभिभावकले पनि आ–आफ्ना बालबालिकासँग सम्पर्क गरेका थिए । उनीहरूलाई पनि घरेलु काममै लगाएको पाइएको स्थानीय बासिन्दाले बताए । दुई छोराछोरीलाई पढाउने भनेर लगेका शिक्षकहरूले घरको काममा लगाएको स्थानीय बासिन्दा केशवबहादुर रोकायाले बताए । उनी १४ वर्षीय छोरी अस्मितालाई जतेन्द्र मल्लले नेपालगन्ज र १२ वर्षीय छोरा भुविन्द्रलाई गजेन्द्र सिंहले काठमाडौं लगेका थिए । ‘स्कुल पढाइदिन्छु भनेर लगेका थिए, घरको काममा लगाएको छ भन्ने खबर पाएँ’ केशवले भने ।
 
१४ वर्षीया मनदेवी रोकायालाई महेन्दनगर लगिएको छ । पढाइदिने भनेपछि पठाएका मनदेवीका बुबा खड्कलाई छोरी कहाँ छिन् भन्ने पनि राम्ररी थाहा छैन । ‘कुन स्कुलमा पढ्छिन् भन्ने थाहा छैन, महेन्द्रनगरका शिक्षकले लगेका हुन् । घरको काममा लाएका छन् भन्ने सुनेको छु’ खड्कले भने ।
 
शिक्षक र कर्मचारीले लगे
 
बाजुरा आएका शिक्षक तथा कर्मचारीहरूले पढाइदिने आश्वासन दिएर बालबालिकालाई आफूसँगै लग्ने गरेका हुन् । गाउँ बालसंरक्षण समितिले मानकोटलाई बालश्रममुक्त घोषणा गर्न तथ्यांक संकलन गरेपछि ५५ बालबालिका पढाइका लागि भन्दै घरेलु कामदारका रूपमा लगिएको भेटिएको छ । उनीहरूलाई यसैवर्ष लगिएको जनाइएको छ ।
 
वडाध्यक्ष वीरेन्द्र रोकायाका अनुसार कुन बालबालिकालाई कसले लगेको भन्नेसमेत यकिन छैन । ‘पहिले कमलरीलाई घरेलु कामदारको रूपमा लग्थे, त्यो बन्द भएपछि बाजुराबाट लग्न थालेका रहेछन्’ वडाध्यक्ष वीरेन्द्रले भने, ‘अभिभावकलाई बालगृहमा पढाइदिने लोभलालच देखाएर लगेका छन् ।’ उनीहरूलाई धनगढी, महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, चितवन लगेको पाइएको उनले बताए । बालसमितिले तयार पारेको तथ्यांकअनुसार उनीहरू कक्षा ३ देखि ११ सम्म पढ्ने बालबालिका छन् ।
 
बालगृहमा लग्दा पनि जिल्ला बालकल्याण समितिको सिफारिस लिनुपर्छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले उनीहरू कसैले पनि सिफारिस नलिएको जनाएको छ । ‘यो वर्ष कसैले पनि बालबालिकालाई बालगृहमा लग्नका लागि सिफारिस मागेका छैनन्, सिफारिस गरिएको छैन’ प्रजिअ लुकबहादुर क्षत्रीले भने । गतवर्ष ६ जना अनाथ बालबालिकालाई मात्रै बालगृहममा संरक्षणका लागि पठाइएको तथ्यांक छ ।
 
घर पुर्‍याउन एक महिनाको म्याद
 
बालबालिकालाई लग्ने सबै व्यक्तिहरूको परिचय खुलेको छैन । महिला तथा बालबालिका कार्यालय, बाजुराका अनुसार काठमाडौंका गजेन्द्र सिंह र अमर थापा, नेपालगन्जका जतेन्द्र मल्ल, महेन्द्रनगरका नवीनचन्द ठकुरी र पोखराका क्षेत्रबहादुर थापाले एक/एक बालबालिका लगेका छन् ।
 
बालबालिकाका अभिभावकमार्फत सबै व्यक्तिलाई एक महिनाभित्रै उनीहरूलाई फिर्ता गर्न समय दिइएको महिला तथा बालबालिका कार्यालय प्रमुख बिन्दु बुढाले बताइन् । ‘एक महिना म्याद दिएका छौँ, त्यतिन्जेल फिर्ता नगरे कानुनी कारबाही अगाडि बढाउँछौँ,’ उनले भनिन् ।
 
Published on: 6 March 2018 | Naya Patrika

Back to list

;