s

प्रेमी नै आउछ कोठामा

Year of Publication: 12 April 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

गोविन्द देवकोटा 

जीवनका सुख दुःख सँगै काट्ने वाचा गरी पिरती लाएका प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? फिल्ममा देखाइने यस्ता घटना वास्तविक जीवनमै भएको छ भन्दा पत्याउन मुस्किल पर्छ। प्रेमीले घुम्न जाने बहानामा सीमा पार गर्दै कोठीमा पुर्‍याइएको अघिल्लो साता उद्धार गरिएका चेलीले बताएका छन्। घुम्न जाने बहानामा सीमा कटाउँदै भारतीय वेश्यालयमा बेचिएकी नेपाली चेलीको यथार्थ सुन्दा हत्तपत्त पत्याउन मुस्किल हुन्छ।

बुधबार भारतको आग्रास्थित कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ। माइती नेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कास्मिरी बजारमा प्रियादीप नामकी भारतीय महिला सञ्चालक रहेको कोठीमा चार जना भारतीय महिलासहित नेपाली पाँच जनालाई उद्धार गरेको हो।
 
उद्धार गरिएकामध्ये तीन जना नेपाली नाबालिका रहेको माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए। दुई महिनादेखिको लामो प्रयासपछि उनीहरूले कोठीमा बेचिएका नेपाली चेली मुक्त गराएको कोइरालाले बताए।
 
‘हामीले धेरै लामो समयदेखि प्रयास गरिरहेका थियौं, पैसा दिएर त्यहीँका नागरिकलाई कोठीमा पठाउने र सूचना लिइरह्यौंं’, उनले भने, ‘स्थानीय प्रहरी पनि कोठी सञ्चालकसँग मिलेकाले माथिल्लो तहको प्रहरीको सहयोग लिनुपर्‍यो। हाम्रो मिहिनेतबाट चैत २१ गते यौन धन्दामा लगाइएका महिलालाई मुक्त गरायौं।’
 
निकै जोखिमपूर्ण तरिकाले सुरु भएको अप्रेसनमा २१ गते भारतीय प्रहरीको सहयोगमा साँझ पाँच बजेतिर कोठीमा छापा मार्दा कोठी सञ्चालक प्रियादीपसहित ९ जना महिलालाई मुक्त गराइएको हो। उद्धार गरिएका नेपाली केटीमध्ये दुई जना १८ वर्षकी र एक जना १७ वर्षकी छन्। यस्तै दुई जना २२ र २४ वर्षका छन्। कोइरालाका अनुसार उनीहरू दुई जना सिन्धुपाल्चोक, दुई नुवाकोट र एक जना धादिङका छन्। उनीहरूलाई उद्धारपछि अहिले आग्राकै नारी निकेतनमा राखिएको छ।
 
कोठी सञ्चालकविरुद्ध त्यहीँकै सिभिल कोर्टमा मुद्दा दायर गरिएकाले मुद्दाको फैसला भएपछि मात्रै पुनःस्थापनाका लागि नेपाल ल्याइने क्षेत्रीय प्रमुख कोइरालाको भनाइ छ।
 
कसरी भयो उद्धार
 
दुई महिना अघिदेखि नै भारतको दिल्लीमा रहेको जिवीरोडमा नेपाली महिलालाई वेश्यावृत्तिमा लगाइएको सूचना माइती नेपाललाई आएको थियो। सोही सूचना पक्का गर्ने क्रममा आग्रामा पनि नेपाली युवतीलाई बन्धक बनाएर यौन धन्दा भइरहेको पत्ता लाग्यो। पहिलो पटक दिल्लीमा छापा मार्ने उद्देश्यले केशव कोइरालासहित चार जनाको टोली जिवीरोड पुगे पनि त्यहाँ सफल हुन सकेन। ‘मैले दिल्लीमा सफल नहुनेबित्तिकै आग्राको योजना बनाएँ, हामीले १० दिनको प्लानमा आग्रामा छापा मारेका थियौं’, कोइरालाले भने।
 
आग्रामा जाँदा सुरक्षा चुनौतीका कारण स्थानीय प्रहरीलाई समेत खबर गरिएको थिएन। छत्ता थानाका प्रहरी अधिकारीसँगको समन्वयमा माइती नेपालले यसपटक एक्लै छापा मारेको हो। विभिन्न स्रोत प्रयोग गर्दै भिडियोसहित त्यहाँ नेपाली महिलालाई वेश्यावृत्ति गरिरहेको भन्ने दुई महिनाको अनुसन्धानपछि मात्रै कोठीमा छापा मारिएको कोइरालाले जानकारी दिए। उनीहरूलाई सञ्चालकले अत्यावश्यक खर्च र मेकअपका लागि केही दिने गरे पनि इच्छाविपरीत यौन धन्दामा लगाएको पाइएको थियो।
 
पटक–पटक भारतीय रिक्सा चालकलाई केही रकम दिएर सूचना प्राप्त भएपछि भारतीय प्रहरीको संलग्नतामा कोठीबाट मुक्त गराइएको हो।
 
फक्रन नपाउँदै कोठीमा
 
माइती नेपालका अनुसार उद्धार गरिएका सबै किशोरावस्थामा यौन धन्दामा लाग्न बाध्य बनाइएका छन्। आमाबाबुको काखमा बसेर जीवनको नयाँ पालुवा हाल्ने बेलामा विश्वास गरिएकैबाट धोका हुँदा नरकमा पुग्नुपरेको छ। कोठीबाट मुक्त भएका सबै किशोरावस्थामै कोठीमा पुगेका हुन्।
 
अहिले २४ वर्ष पुगेको बताउने सिन्धुपाल्चोककी एस–५७ महिला पाँच वर्षअघि दिल्लीको जिवीरोडको वेश्यालयमा पुगेको खुलेको छ। जिवीरोडको वेश्यालयमा एक वर्ष बिताएपछि उनलाई त्यहाँको साहुले आग्राकी कोठी सञ्चालकलाई बिक्री गरेको थियो।
 
आग्रामा चार वर्ष नरकमा बिताएपछि माइती नेपालले उद्धार गर्दा आफू नरकबाट मुक्त भएको बताएको क्षेत्रीय प्रमुख कोइरालाले जानकारी दिए।
 
यस्तै, अन्य महिला पनि किशोरावस्थामै पुगेका छन्। सिन्धुपाल्चोककै १८ वर्षीया एस–५३, १६ वर्षको उमेरमा, धादिङकी २२ वर्षीया एन–५२ चार वर्षअघि, नुवाकोटकी १७ वर्षीया एन–५२ दुई वर्षअघि र १८ वर्षीया एन–५३ दुई वर्षअघि यौन धन्दामा लगाउन आग्राको कोठीमा पुर्‍याएकी थिइन्। १५÷१५ वर्षको उमेरमा पुर्‍याइएका किशोरीलाई जबरजस्ती यौन धन्दामा लगाउन नशालु पदार्थ सेवन गर्न लगाउने गरिएको पाइएको छ।
 
प्रेमी नै पुर्‍याउँछन् कोठीमा
 
उद्धारपछि पीडितले दिएको बयानअनुसार अधिकांश प्रेमीले नै घुम्ने बहानामा भारतीय बजारमा पुर्‍याउने गरेको पाइएको छ। किशोरावस्थामा आफैं सोच्न सक्ने नहुँदा प्रेमीको मायाजालमा पर्दै किशोरीहरू घुम्ने बहानामा भारतीय कोठीमा बिक्री हुने गरेका छन्। ‘मलाई घुमाउन लैजाने भन्दै यहाँ ल्यायो, होटलमा केही दिन राखेर सामान किन्न बाहिर गएको प्रेमी फर्केर आएन’, पीडितले उद्धारकर्ता माइती नेपालका अधिकारीसँग भनेकी छन्। यस्तै, विवाहको बहानामा पनि बिक्री हुने गरेका छन्।
 
उद्धार भएका दुई जनाले नजिकैको दिदीमार्फत चिनजान भएका केटासँग प्रेममा परी विवाह गर्न भन्दै भारत छिरेका थिए। तर, प्रेमी नै धोकेवाज निस्कँदा कोठीको नरकमा फस्नुपर्‍यो।
 
कोइरालाका अनुसार अधिकांशले विवाह, घुम्ने र काम लगाइदिने बहानामा आफन्तबाटै बिक्री हुँदै आएका छन्। विगतदेखि नै काम लगाउने बहानामा बेच्दै आएका दलालले अहिले किशोरीलाई प्रेमी बनेर घुमाउने बहानामा कोठीसम्म पुर्‍याउने गरेका छन्।
 
सिन्धुपाल्चोककै बढी
 
माइती नेपालको एक वर्षको तथ्यांक हेर्दा निकै डरलाग्दो छ। सन् २०१८ मा मात्रै १० जनाको उद्धार गरेको माइती नेपालले २०१७ मा ६८ जनालाई कोठीबाटै छापा मारेर उद्धार गरेको थियो। त्यसमध्ये सबैभन्दा धेरै पहाडी जिल्ला सिन्धुपाल्चोक र नुवाकोटका छन्। २०१७ र १८ को हालसम्म हेर्दा त्यहाँका मात्रै १३ जना महिलालाई कोठीबाटै उद्धार गरिएको तथ्यांकमा छ।
 
स्थानीय उत्पादनले नपुग्ने, विगतदेखि नै वैदेशिक रोजगारीमा त्यस क्षेत्रका महिलाको आकर्षण रहेको बहानामा दलालले त्यस क्षेत्रलाई टार्गेट गरिरहेका छन्। नेपालगन्ज नाकामै फर्काइएका पनि सिन्धुपाल्चोककै महिला र किशोरी धेरै छन्। सहजै रूपमा रुपैडिया र आसपासका चोरी नाकाबाट लैजान सकिने भएकाले दलालले नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गुल्मी, सुर्खेत, नेपालगन्जलगायत जिल्लाबाट किशोरीलाई भारतीय कोठीमा पुर्‍याउने गरेका छन्। यति धेरै मात्रामा पीडित फेला परे पनि हालसम्म दलालहरू भने कारबाहीको दायरामा आएका छैनन्।
 
Published on: 12 April 2018 | Onlinekhabar

Back to list

;