s

राजदूत लक्की शेर्पालाई राजीनामा गर्न सुझाव

Year of Publication: 10 January 2019 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा गर्न सुझाव दिएको जानकारी दिएका छन्।
 
सरकारको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले लक्की शेर्पाको विषयमा छानबिन गर्न परराष्ट्र मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदन प्राप्त भैसकेको उल्लेख गरे।
 
शेर्पामाथि मानव तस्करी गरेको आरोप लागेको थियो।'प्रतिवेदनको निचोड करिब/करिब निष्कर्षमा पुगेको छ', बाँस्कोटाले भने।शेर्पा कुटनीतिक व्यक्तिमात्र नभएर राजनीतिक सम्बन्धता भएको व्यक्ति भएकाले राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको बताए।
 
'प्रधानमन्त्री प्लस पार्टी अध्यक्ष र पार्टी अध्यक्षले समेत यसलाई गम्भीरतापूर्वक लिनु भएको र त्यस विषयमा कुनै निकास दिनका निम्ति उहाँलाई भनिएको र उहाँले त्यो अब एक दुई दिनमा आफ्नो काम गर्नुहुन्छ होला भन्ने हामीले विश्वास गरेका छौं', बाँस्कोटाले भने।
 
केही दिनअघि शेर्पालाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको समाचार सार्वजनिक भएको थियो।लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुनै निर्णय नभएको बताएका थिए। राजदूत शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत सोमबार बालुवाटारमा भेटेकी थिइन्।
 
भेटका क्रममा शेर्पालाई राजीनामा गर्न सुझाइएको थियो। स्रोतका अनुसार उनले तत्कालै राजीनामा पत्र लेखेर बालुवाटारमा छाडेकी थिइन्। तर, शेर्पा आफैंले भने राजीनामा दिएको समाचारको खण्डन गर्दै आएकी थिइन्।सञ्चारमन्त्री बाँस्कोटाको पत्रकार सम्मेलनमार्फत् शेर्पालाई राजीनामाका लागि सुझाव दिइएको स्पष्ट पारेका हुन्।
 
Published On: 10 January 2019 | Setopati

Back to list

;