s
Year of Publication: 14 June 2015 | Kantipur
Publication Type: NEWS
Published by: CESLAM
भूकम्पपछि जोखिममा परेका बालबालिका र महिलालाई विभिन्न प्रलोभन देखाई सीमा कटाउने क्रम निकै बढेको छ । विभिन्न गैरसरकारी संघसंस्था र प्रहरीले पछिल्ला ३ सातामा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट ८ युवतीको उद्धार गरेका छन् । तीमध्ये कतिपय भूकम्प प्रभावित क्षेत्रका छन् भने कतिपय अन्य जिल्लाका समेत रहेका छन् । शुक्रबार पनि भारत जान लागेका ५ युवतीको केआई नेपाल नामक संस्थाले सीमा नाकाबाट उद्धार गरेको छ ।
‘उनीहरू सबैले कामको खोजीमा सिमला जान लागेको भनेका छन्,’ केआई नेपाल कञ्चनपुरकी संयोजक जाति माया तामाङले भनिन्, ‘तर उनीहरू सबै १८ देखि २२ वर्षभित्रका अति जोखिमयुक्त उमेर समूहमा पर्छन्, उनीहरूलाई आफन्तको जिम्मा लगाएरमात्र छाड्छौं ।’ उनका अनुसार उद्धार गरिएका सबै युवती सल्यानको निगालचुला गाविसका हुन् । एक साताअघि प्रहरीले मायाप्रेमको नाटक गरी भारत लगिँदै गरिएकी एक युवतीको उद्धार गरेको थियो । नुवाकोटकी ती युवतीसँगै उनलाई सीमा कटाउने बझाङको चौधर गाविसका २८ वर्षीय सुदिप भण्डारी पक्राउ परेका थिए । ‘ती युवतीलाई विवाह गरेजस्तै सिंगारपटार गरी सीमा कटाउँदै गरेको अवस्थामा उद्धार गरिएको हो,’ सुदूरपश्चिम प्रहरीको क्षेत्रीय अनुसन्धान टोलीका इन्चार्ज वीरेन्द्र जोहारीले भने, ‘भण्डारीको प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो ।’ उनका अनुसार भण्डारी विगतमा पनि मानव बेचबिखनमा संलग्न रहेको प्रहरीको अनुमान छ ।
जेठ दोस्रो साता भारत हँुदै अवैध रूपमा किर्गिस्तान जान लागेका २ युवतीको माइती नेपाल कञ्चनपुरले गड्डाचौकी सीमा क्षेत्रबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको थियो । ‘भूकम्पपछि महिला र बालबालिकालाई विभिन्न बहानामा सीमा कटाउने गिरोहको सक्रियता बढेको छ,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘खासगरी भूकम्प प्रभावित क्षेत्रका महिला बढी प्रलोभनमा पर्ने गरेका छन् ।’ उनका अनुसार प्रभावित क्षेत्रका महिलालाई रोजगारीको प्रलोभन देखाएर लैजाने गरिएको छ ।
‘भूकम्प प्रभवित क्षेत्र सिन्धुपाल्चोक, गोरखा, नुवाकोट र धादिङलगायतका जिल्ला मानव बेचबिखनका दृष्टिकोणले पहिले पनि उच्च जोखिममा पर्दछन्,’ केआई नेपालकी तामाङले भनिन्, ‘यसपटक त घरबार सबै भत्केपछि दलालहरू झन सक्रिय हुन थालेका छन् ।’ उनले यसैसाता रिड्स इन्डियाले उत्तराखण्डको हल्द्वानीमा अलपत्र परेकी एक युवतीको उद्धार गरी केआई नेपालको जिम्मा लगाएको थियो । भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत भूकम्प प्रभवित क्षेत्रका बालबालिका र महिला उच्च जोखिममा परेको भन्दै सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गर्न बेला बेलामा उच्च तहबाट निर्देशन दिने काम भइरहेको जनाएको छ ।
Published on: 14 June 2015 | Kantipur
GET IN TOUCH