s
Year of Publication: 4 May 2021 | Kantipur
Published by: CESLAM
mजनकराज सापकोटा
काठमाडौँ — संगठित मानव तस्करको फन्दामा परेर श्रीलंकाको जेलमा पुगेका २६ नेपाली महिलालाई साढे दुई महिनापछि त्यहाँस्थित अदालतले स्वदेश फिर्तीको अनुमति दिएको छ । अदालती अनुमति पाए पनि थुनामा रहेका २६ मध्ये १७ जना कोरोना संक्रमित हुँदा उनीहरूको नेपाल फिर्ती अनिश्चित बनेको छ ।
श्रीलंकास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विश्वास भट्टका अनुसार सोमबार मात्रै गाम्पहा जिल्ला अदालतले उनीहरूलाई स्वदेश फिर्तीको अनुमति दिएको हो । ‘अदालतको आदेश लिखित रूपमा पाइसकेका छैनौं तर न्यायाधीशले सबै महिलालाई नेपाल फिर्ताको अनुमति दिइसकेको बुझिएको छ,’ उनले भने ।
गत फागुन पहिलो साता नेपालबाट भारतको बाटो हुँदै श्रीलंका पुर्याइएका महिलाहरूलाई अवैध रूपमा खाडीका देशमा घरेलु कामदारका रूपमा राख्न खोजिएको थियो । श्रीलंकाको गाम्पहा जिल्लाको मिनुवाङगोडामा पक्राउ परेका उनीहरूलाई केही साता निगम्बोस्थित जेलमा राखिएको थियो ।
वैशाख पहिलो साता त्यहाँबाट कोलम्बोस्थित विलिकाँडा जेलमा स्थानान्तरण गरिएको थियो । कार्यवाहक राजदूत भट्टका अनुसार १७ संक्रमितलाई गत शुक्रबार मात्रै कारागार विभागअन्तर्गतको अम्बिपुसा क्याम्पमा स्थानान्तरण गरिएको थियो ।
थुनामा रहेकै बखत संक्रमित हुँदा उनीहरूको स्वदेश फिर्तीको मिति अनिश्चित बनेको कार्यवाहक राजदूत भट्टले बताए । नेपाल सरकारले कोरोना संक्रमणको अवस्था भयावह बनेको बुधबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरिसकेकाले ती नेपाली महिलाहरूको स्वदेश फिर्ती प्रक्रिया थप जटिल बन्ने देखिएको छ । संक्रमितहरू निको भएपछि चार्टर्ड उडान वा अन्य कुनै उपायबाट नेपाल फर्काउने प्रयत्न चालिने भट्टले बताए । यसअघि पनि श्रीलंका हुँदै तेस्रो देशमा रोजगारीको खोजीमा अवैध रूपमा जान खोज्दा पक्राउ परेका १० महिलालाई फागुन पहिलो साता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खर्च बेहोर्ने गरी नेपाल ल्याएको थियो ।
नेपाल सरकारले २०७३ चैतमा खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि संगठित मानव तस्करले अवैध रूपमा तेस्रो देश हुँदै नेपाली खाडीमा देश पठाइरहेका छन् । कार्यवाहक राजदूत भट्टले पछिल्ला तीन महिनामा मात्रै श्रीलंकामा पक्राउ परेका १५ नेपालीलाई स्वदेश पठाइसकिएको बताए ।
Published on: 4 May 2021 | Kantipur
GET IN TOUCH