s

उद्धार गरिएका १६ महिलालाई नेपाल फर्काउन ढिलाई

Year of Publication: 24 September 2016 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

नयाँ दिल्ली: दुई साताअघि नयाँ दिल्लीबाट उद्धार गरिएका १६ नेपाली महिलालाई नेपाल पठाउने प्रक्रियामा ढिलाइ भएको छ ।
भारतबाट श्रीलंका हुँदै रोजगारीका लागि खाडी राष्ट्र लैजाने भन्दै दलालको फन्दामा परेका १६ महिलालाई भारतीय प्रहरीले उद्धार गरी दिल्लीस्थित नारी निकेतमा राखेको छ, तर उनीहरुलाई नेपाल फिर्ता पठाउने सम्बन्धमा कुनै पहल भएको छैन । उनीहरुलाई दलालले केही सातादेखि दुवई लैजाने भन्दै महिपालपुरको एक घरमा राखेका थिए । उनीहरुलाई भदौ १८ मा उद्धार गरेर ल्याइएको हो ।
 
दुतावास स्रोतले नारी निकेतनले आधिकारिक रूपमा आफूहरुलाई आग्रह गरेपछिमात्र प्रक्रिया सुरु हुने जनाएको छ । स्रोतका अनुसार अहिलेसम्म त्यस्तो कुनै औपचारिक जानकारी आएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा व्यस्त रहेका कारण पनि दुतावासको ध्यान त्यतातिर पुगेको छ्रैन् । उद्धारको क्षेत्रमा कार्यरत अन्य संस्थाहरुले पनि खासै चासो दिएका छैनन् ।
 
१६ नेपालीसहित भारतीय प्रहरीले २२ जना महिलाको उद्धार गरेको थियो । उद्धार गरिएका १६ जनाको नाम गोप्य राखिएको छ । ती महिलाहरुको उमेर २० देखि ३५ वर्षसम्मको रहेको छ । खाडी राष्ट्र जानका लागि भन्दै १६ महिलाले सुरुमा २/२ लाख रुपयाँ दलाललाई बुझाईसकेका छन् । तर लामो समयसम्म दिल्लीमा राखेर आफूहरुलाई पठाउने कुनै पहल नभएपछि दुई महिलाले नेपाली दुतावासमा उजुरी गरेका थिए ।
 
उजुरीको आधारमा दिल्ली प्रहरीले ती महिलाहरु बसेको होटलबाट उद्धार गरेको थियो । दिल्ली प्रहरीले एक मुख्य दलाललाई भने पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ‘हामीलाई मर्का पर्‍यो, हामी फस्यौं भनेर दुई महिला दुतावासमा आए । त्यसैको आधारमा हामीले उद्धारको प्रक्रिया अगाडि बढाएका हौ,’
 
नेपाली दुतावासका काउन्सिलर एसएसपी यादव खनालले कान्तिपुरसँग भने । पछिल्लोपटक भारत आई पर्यटक भिसामा बंगलादेश र श्रीलंका हुँदै खाडी मुलुकहरुमा जानेक्रम बढेपछि भारतमा कडाइ गरिएको छ ।
 
Published on: 24 September 2016 | Kantipur

Back to list

;