s

युगान्डामा ‘मुजुरा’, ५ नेपाली युवती पक्राउ

Year of Publication: 8 September 2022 | Kantipur

Published by: CESLAM

देवेन्द्र भट्टराई

काठमाडौँ — गैरकानुनी बाटो र उपायबाट नेपाली युवतीलाई अफ्रिकी मुलुकमा लगेर विभिन्न बार–रेष्टुराँमा ‘मुजुरा नाच’ गराउने सञ्जाल पूर्वी अफ्रिकी मुलुक युगान्डामा सक्रिय देखिएको छ । आइतबार राजधानी कम्पालाको एक डान्स रेष्टुराँबाट पक्राउ परेका ६ मध्ये ५ जना नेपाली युवती रहेको र उनीहरू लुकिछिपी ४ वर्षदेखि युगान्डामा रहेको खुलासा भएको छ ।

युगान्डास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद थापालाई कम्पालास्थित अध्यागमनले दिएको सूचनामा कानुनी अनुसन्धान र छानबिनका क्रममा पक्राउ परेका युवतीलाई थुनामा राखिएको छ । ‘मानव तस्करी, ओसारपसार र यौन व्यवसायको सरोकार पनि यो मामलामा जाडिएको देखिन्छ,’ थापाले भने, ‘हामी युगान्डामा रहेको नेपाली समुदाय नेपाली युवतीको ओसारपसार र मुजुरा नाचसहितका पक्षमा भइरहेको अनधिकृत गतिविधिबारे आफ्नै तहमा पनि अनुसन्धानमा जुटेका छौं ।’

पक्राउ परेका ५ मध्ये २ जनाको राहदानी लिएर मुजुरा डान्सबारका भारतीय मूलका सञ्चालक कम्पाला छाडेर भागिसकेका छन् ।

केही वर्ष अघिसम्म पूर्वी अफ्रिकी मुलुक केन्या र तान्जानियामा सञ्जाल बनेर फैलिएको ‘मुजुरा नाच’को गतिविधि युगान्डा केन्द्रित भइरहेकोबारे सम्बद्ध कूटनीतिक मामला हेर्ने इजिप्टस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ । नेपाली युवती थुनामा रहेकोबारे युगान्डास्थित अवैतनिक दूत र अध्यागमनसहितको सम्बद्ध निकायमा परामर्श थालिएको दूतावासले जनाएको छ । युगान्डामा झण्डै ३ सय नेपाली रहेकोमा ३० भन्दा बढी युवतीहरू मुजुरा नाच वा रेष्टुराँ–बारका सेवामा जोडिएको पाइएको छ ।

केन्या–तान्जानियामा रहेको मुजुरा नाच र नेपाली युवतीको ओसारपसारबारे सूचना आएपछि ५ वर्षअघि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ती मुलुकमा स्थलगत भ्रमण गर्दै २१ जना नेपाली युवती उद्धार गरेर ल्याएको थियो । ‘धेरैजसो भारतको बाटोबाट वा राम्रो रोजीरोटीको आश्वासनसहित पर्यटक भिसामा केन्या, तान्जानिया, युगान्डासहितका मुलुकमा नेपाली युवायुवती पुर्‍याउने गरेको ट्रेन्ड देखिँदै आएको छ,’ नाइजेरियाको लेगोसस्थित गैरआवासीय नेपाली प्रतिनिधि हिक्मत थापाले कान्तिपुरसँग भने, ‘त्यसमा पनि युगान्डासहितको मुलुकमा नेपालीका निम्ति अनअराइभल भिसा दिने सुविधा रहेकाले यसको दुरुपयोग गर्ने प्रवृत्ति देखिन्छ ।’

नेपाली युवती पक्राउ परेको सूचना पाएपछि युगान्डास्थित अवैतनिक दूत डा. सुधिर रुपारेलियाले अध्यागमनसँग समन्वय गर्दै युवतीमाथि लगाइएको ‘ओभरस्टे चार्ज’का बारेमा परामर्श भइरहेको थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा दोलखा, नुवाकोट र काठमाडौंका युवती रहेका छन् । अफ्रिकास्थित गैरआवासीय नेपाली संघले यसै साता समन्वय गरेको जुम–मिटिङमा इजिप्ट(कायरो)स्थित राजदूत शुशीलकुमार लम्साल र दक्षिण अफ्रिका (प्रिटोरिया)स्थित राजदूत दानबहादुर तामाङले युगान्डासहितका मुलुकमा नेपाली युवती ओसारपसारमा देखिएको गतिविधिबारे तत्काल ती मुलुकका सरोकारवाला निकायमा कुरा गरिने प्रतिबद्धता जनाएका थिए । अफ्रिकाको केन्या, युगान्डा जस्ता मुलुकलाई ट्रान्जिट बनाएर अमेरिका र युरोप लगिने भन्दै मानव तस्करीका गिरोहले अहिले पनि नेपाली युवालाई अलपत्र छाड्ने गरेका छन् ।

असावधानीवश संवेदनशील तस्बिर प्रकाशित हुन गएकोमा क्षमायाचनासहित सच्याएका छौं । - सम्पादक

Published on: 8 September 2022 | Kantipur

Link

Back to list

;