s

२५ बालिका विमानस्थलबाटै फर्काइए

Year of Publication: 1 August 2012 | Kantipur 

Publication Type: NEWS

Published by: CESLAM

सबै कुरो योजना अनुसारै भइदिएको भए सिन्धुपाल्चोककी यी सानी बालिका यतिखेर कुवेतको कुनै कुनामा काम गर्दै हुने थिइन् । कागजपत्र जाँच्ने क्रममा जब विमास्थलको अध्यागमन विभागमा पुगिन्, उनलाई देख्नेबित्तिकै विमानस्थलका कर्मचारीले समाते । १४ वर्षे मनमाया शेर्पा -नाम परिवर्तन) लाई देख्नेबित्तिकै पासपोर्टमा उमेर बढाएको भन्दै विमानस्थलबाटै फर्कादिए । उनलाई गाउँकै दाइ पर्ने बमे तामाङले विदेश जाने तारतम्य मिलाइदिएका थिए । 'दाइले नै नागरिकता, पासपोर्ट बनाइदिनु भएको हो,' उनले भनिन् । 

कक्षा पाँचमा पढ्दै गरेकी शेर्पालाई विदेश जानका लागि साथीहरूले सल्लाह दिएका थिए । 'घरको काम गर्नुपर्ने र मासिक २० हजार तलब पाउने भनेपछि बुबा- आमाले नै विदेश जानका लागि सल्लाह दिनुभएको हो,' विदेश जाने कागजपत्र बनाउन दस हजार खर्च लागेको जानकारी दिँदै उनले भनिन्, 'पार्सपोर्टलाई पाँच हजार पर्‍यो, नागरिकता बनाउँदा उमेर बढाउनु परेकाले अर्को पाँच हजार लाग्यो ।'
१४ वर्षे शेर्पाको पासपोर्ट र नागरिकतामा सात वर्ष उमेर बढाएर २१ वर्ष पुर्‍याइएको छ । वैदेशिक रोजगारमा कुवेत जानका लागि २१ वर्ष उमेर अनिवार्य भएकाले बढाइएको हो । न भाषाको ज्ञान छ न त त्यहाँ गर्ने कामकै । पैसा कमाउने सपना बोकेर कुवेत उड्न लागेकी शेर्पाले विमानस्थलबाटै र्फकनुपर्‍यो ।

१५ वर्षे मीना तामाङ -नाम परिवर्तन) को व्यथा पनि उस्तै छ । मासिक २० हजार रुपैयाँ पाउने भएपछि पैसा कमाउने लोभमा कुवेत जाने तयारी गरेर पासपोर्टमा २१ वर्ष उमेर बनाइएको छ । आफू कुन देश जाँदै छु भन्ने जानकारी समेत नभएकी उनलाई कतार एअरले नै फर्काइदिएको हो । उनको कतार एअरबाट कुवेत जाने गरी जहाजको टिकट काटिएको थियो । उनले पनि गत असार २० गते विमानस्थलबाट र्फकनुपर्‍यो । 

विमानास्थलबाटै फर्किएकी अर्की १५ वर्षे बिनु तामाङ -नाम परिवर्तन) लाई गाउँको मामा पर्ने लाक्का तामाङले विदेश जाने पार्सपोर्ट बनाइदिएका थिए । उनका तीनै दिदीबहिनी काममा लागि विदेश गइसकेका छन् । दिदीहरू कुन देशमा के गरिरहेका छन् भन्नेबारे उनलाई जानकारी छैन । पैसा कमाउने आशामा कक्षा छ मा पढ्दापढ्दै छोडेकी थिइन् । 

यिनीहरू प्रतिनिधि पात्र मात्र हुन् । १४ देखि १६ वर्षका बालिकाको उमेर बढाएर कागजात बनाउने क्रम नरोकिएकाले घरेलु काममा लागि खाडी मुलुक जाने बालिकाको संख्या पनि दिनहुँ बढिरहेको छ । 

यसरी उद्धार गरिएका २५ बालिका माइती नेपालको संरक्षणमा छन् । माइती नेपालको तथ्याङ्क अनुसार  विगत छ महिना यता १४ देखि १६ वर्षका २५ बालिकालाई विमानस्थलबाटै उद्धार गरिएको छ । माइती नेपालको टोली विमानस्थलमै बसेर जाँच गर्दा यस्ता उमेर नपुगेका बालिकाले पार्सपोर्टमा उमेर बढाएको पाइएको हो । 

'देख्दै १०/१२ वर्षका भन्दा ठूला नदेखिने नानीहरूले कसरी पासपोर्ट पाए, हामी नै चकित छौं,' माइती नेपालकी कानुन अधिकृत उमा तामाङले भनिन्, 'पासपोर्ट दिने र श्रम स्वीकृत गर्ने निकायले पनि यस्ता बालिकालाई देखेपछि सोधखोज गर्नुपथ्र्यो ।' पछिल्लो समय काठमाडौं, सिन्धुपाल्चोक र रसुवा जिल्लाबाट उमेर बढाएर पार्सपोर्ट लिने क्रम बढिरहेको उनले जानकारी दिइन् । 

Published on: August 2012 | Kantipur 

Back to list

;