s
Year of Publication: 8 October 2013 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
राजगारीका लागि दक्षिण कोरिया जान ४३ हजार सात सय ७२ जनाले भाषा परीक्षा दिएका छन्। करिब ४८ हजारजनाले आवेदन फाराम भरेका थिए। ईपीएस शाखाका अनुसार आवेदन दिनेमध्ये तीन हजार नौ सय ८० जना परीक्षामा अनुपस्थित भएका हुन्। उपस्थित भएकामध्ये पनि परीक्षाको नियम उल्लंघन गर्ने ५० जना निष्कासनमा परेका छन्।
आवेदन दिएका ९६ जनाको फाराम परीक्षा लिनुभन्दा अघि नै रद्द गरिएको थियो। आवेदन अस्वीकृत हुनेमा तोकिएअनुसार उमेर नपुगेका र बढी उमेर भएका आवेदक थिए।
ईपीएस शाखाका प्रमुख डिल्ली बास्तोलाका अनुसार निष्कासन गरिएका परीक्षार्थीमा अर्काको नाममा परीक्षा दिन आउने र सक्कली परिचयपत्र देखाउन नसक्नेहरू छन्। परीक्षा आइतबार र सोमबार सञ्चालन गरिएको हो। दुवै दिन बिहान र दिउँसो गरी दुई सिफ्टमा परीक्षा लिइएको थियो। ईपीएसले उपत्यकाका विभिन्न १७ वटा विद्यालय तथा कलेजमा परीक्षा सञ्चालन गरेको हो।
भाषा परीक्षाको नतिजा आगामी कात्तिक ४ गते प्रकाशन गरिने बास्तोलाले जानकारी दिए। उत्तरपुस्तिका कोरियामा लगिने र उतैबाट परीक्षाफल प्रकाशित गरिनेछ। काम गर्नका लागि दक्षिण कोरिया जान अनिवार्यरूपमा भाषा परीक्षा पास गर्नुपर्ने नियम छ।
परीक्षा सञ्चालन गर्न दुई हजार चार सय सुरक्षाकर्मी र एक हजार एक सय कर्मचारी परिचालन गरिएको थियो। एचआरडी (मानव संसाधन विभाग) कोरियाबाट परीक्षा सञ्चालन गर्न ४८ जना विज्ञ टोलीसमेत नेपाल आएको थियो। १८ वर्ष उमेर पुगेका र ३९ वर्ष ननाघेका व्यक्तिमात्र काम गर्न कोरिया जान पाउने प्रावधान छ। एचआरडी कोरियाले यस वर्ष आठ हजार दुई सयजना नेपाली कामदार कोरिया लैजाने जानकारी दिएको छ।
उत्पादनमूलक क्षेत्रमा चार हजार ६ सय र पशुपालनतर्फ तीन हजार ६ सय कामदार जान पाउनेछन्। जानका लागि सुरुमा भाषा परीक्षा पास गर्नुपर्नेछ। यो परीक्षा पास गरेपछि स्वास्थ्य परीक्षण हुनेछ। यसमा पनि उत्तीर्ण भएकाले जागिरका लागि आवेदन फाराम (जब एप्लिकेसन) भर्नुपर्नेछ।
यसपछि कामदारको नाम एचआरडी कोरियाको रोस्टरमा सूचीकृत गरिनेछ। रोस्टरमा रहेको नामका आधारमा रोजगारदाताले आवश्यकताअनुसार कामदार छनोट गर्नेछन्।
ईपीएस प्रणालीमा दुई देशका सरकारबीच मात्र कामदार लैजान पाउने व्यवस्था छ। यसमा म्यानपावर कम्पनीको सहभागिता हुँदैन। दक्षिण कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट यही प्रणालीअनुसार कामदार लिने गरेको छ। नेपाली कामदारले पहिलो वर्ष नै एक लाख हाराहारीमा कमाउन सक्नेछन्। एक वर्षपछि ओभर टाइम काम पनि गर्न पाइनेछ।
Published on: 8 October 2013 | Annapurna Post
GET IN TOUCH