s

आठ महिनामा ७७ विदेशी निकाला

Year of Publication: 6 January 2019 ।  Naya Patrika

Publication Type: NEWS

Published by: CESLAM

टेकराज थामी

धर्म परिवर्तन गराउने पनि निकालिए, बैंकिङ कसुरदेखि अपहरणसम्मको अभियोगमा २४ देशका नागरिक निकाला

सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् । 
 
गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ । उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ । त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन् । उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन् । 
 
जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ । यस्तै, लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ ।
 
धर्म परिवर्तन गराउँदै हिँड्ने तीनजनालाई पाँच वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाएर निकाला गरिएको छ । यो कसुरमा दुई जापानी र एक अस्ट्रेलियन कारबाहीमा परेका हुन् । खोटा सिक्का अपचलन अभियोगमा तीन विदेशीलाई तीन वर्षका लागि निकाला गरिएको छ भने हुन्डी कारोबारमा संलग्न दुई र सुन तस्करमा संलग्न दुईजनालाई दुईदेखि तीन वर्षसम्म प्रवेश नपाउने गरी पठाइएको छ । 
 
गृहको तथ्यांकअनुसार सार्वजनिक अपराध, वैदेशिक रोजगार कसुर, अपहरण तथा शरीर बन्धक, विदेशी विनिमय अपचलन र सरकारी छाप किर्तेमा संलग्न विदेशी पनि निकाला भएका छन् । उनीहरूलाई एकदेखि १० वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 
 
कारबाहीमा पर्ने सबैभन्दा बढी पाकिस्तानी 
 
गृहको तथ्यांकअनुसार देशनिकालामा पर्ने सबैभन्दा धेरै पाकिस्तानी छन् । आठ महिनामा पाकिस्तानका २३ नागरिक देशनिकालामा परेका छन् । उनीहरूलाई विनाभिसा नेपाल बसेको, जाली राहदानी तथा खोटा सिक्का अपचलन गरेको अभियोगमा देशनिकाला गरिएको हो । 
 
त्यस्तै, मोल्डोभाका सात नागरिक निकालामा परेका छन् । बैंकिङ कसुरमा संलग्न भएको पाइएपछि उनीहरू निकालिएका हुन् । सात चिनियाँ नागरिकलाई हुन्डी कारोबार तथा सुन तस्करी गरेको अभियोगमा निकाला गरिएको छ । वैदेशिक रोजगार, अपहरण तथा विनाभिसा नेपाल बसेको अभियोगमा ६ बंगलादेशी निकालामा परेका छन् । जाली राहदानी प्रयोग गरेका चार इरानी नागरिक पनि फिर्ता गरिएका छन् । 
 
लागुऔषध चरेस कारोबार तथा विनाभिसा नेपाल बसेका ३ अमेरिकी, ३ उज्वेकिस्तानी तथा बैंकिङ कसुरमा लगेका तीन टर्किसलाई निकाला गरिएको छ । त्यस्तै, बुल्गेरियन, रसियन, यमन, जर्मन, क्यानेडियन, स्विडिस, किर्गिस्तानी, बुरकिना फासो, नाइजेरियन, फिलिपिनो, दक्षिण कोरियनलाई पनि कारबाही गरेर पठाइएको छ । नेदरल्यान्ड, नर्वे र न्युजिल्यान्डका नागरिक पनि देशनिकालामा परेका छन् । 
 
अपराधमा संलग्न विदेशीलाई निकाला गर्नु स्वाभाविक हो
रामकृष्ण सुवेदी
प्रवक्ता, गृह मन्त्रालय
 
विभिन्न प्रयोजनमा विदेशी नागरिक नेपाल बस्छन् । उनीहरू सबै राम्रै प्रयोजनमा बस्छन् भन्ने छैन । जब अदालतले अपराध पुष्टि गर्छ, उनीहरूलाई देशनिकाला गरिन्छ । यो नियमित कार्य हो । कतिपय अवस्थामा अध्यागमन विभागले पनि देशनिकाला गर्न सक्छ । सबै मुलुकमा हुने यस्तै हो ।
 
 कुन अपराधमा कति निकाला ?
 
-विनाभिसा – ३४
-बैंकिङ कसुर – १३
-जाली भिसा – १०
-लागुऔषध – ५
-धर्म परिवर्तन – ३
-खोटा सिक्का अपचलन – ३
-हुन्डी करोबार – २
-सुन तस्करी – २
-सार्वजनिक अपराध – १
-वैदेशिक रोजगार कसुर – १
-अपहरण तथा शरीर बन्धक – १
-विदेशी विनिमय अपचलन – १
-सरकारी छाप किर्ते – १
 
कुन देशका कति निकालिए ?
 
पाकिस्तान (२३), मोल्डोभा (७), चीन (७), बंगलादेश (६), इरान (४), युएसए (३), टर्की (३), उज्वेकिस्तान (३), बुल्गेरिया (२), रसिया (२), यमन (२), जापान (२), जर्मनी (२), क्यानडा (१), स्विडेन (१), किर्गिस्तान (१), बुरकिना फासो (१), नाइजेरिया (१), फिलिपिन्स (१), दक्षिण कोरिया (१), नेदरल्यान्ड (१), नर्वे (१), न्युजिल्यान्ड (१) र अस्ट्रेलिया (१)
 
धर्म परिवर्तन गराउने पनि निकालिए
 
धर्म परिवर्तन गराउँदै हिँड्ने तीनजनालाई पाँच वर्षसम्म नेपाल छिर्न प्रतिबन्ध लगाएर निकाला गरिएको छ । यो कसुरमा दुई जापानी र एक अस्ट्रेलियन कारबाहीमा परेका हुन् । खोटा सिक्का अपचलन अभियोगमा तीन विदेशीलाई तीन वर्षका लागि निकाला गरिएको छ भने हुन्डी कारोबारी दुई र सुन तस्करमा संलग्न दुईजनालाई तीन वर्षसम्म प्रवेश नपाउने गरी पठाइएको छ । 
 
Published on: 6 January 2019 ।  Naya Patrika

Back to list

;