s

अनावश्यक सिफारिस थोपर्दै रोजगार विभाग

Year of Publication: 15 April 2014 | Nagarik

Publication Type: NEWS

Published by: प्रकट कुमार शिशिर

प्रकट कुमार शिशिर
 
नेपालका लागि साउदी अरेबियाको राजदूतावास काठमाडौंमै छ ।  काम गर्न साउदी जाने नेपालीको राहदानीमा स्ट्याम्पिङ र भिसाको काम उक्त दूतावासले गर्न थालेको २५/२६ दिन भइसक्यो।
 
तर, वैदेशिक रोजगार विभागका कर्मचारीले व्यवसायीलाई विगतमा साउदी जान इच्छुक कामदारको राहदानी भिसा र स्ट्याम्पिङका लागि बंगलादेश लैजान आवश्यक पर्ने सिफारिस लिन बाध्य पारिरहेका छन्।  कर्मचारीले वैदेशिक रोजगार ऐनको दफा १८ को हवाला दिँदै उक्त सिफारिस लिन व्यवसायीलाई बाध्य पारेका हुन् । काम गरिदिएको बहानामा अनधिकृत रुपमा पैसा असुल्न पाइने हुँदा आवश्यकै नपर्ने सिफारिस पत्र जारी भइरहेको व्यवसायीको गुनासो छ । उनीहरुका अनुसार कर्मचारीले सिफारिस नलिएको राहदानीलाई अन्तिम श्रम स्वीकृतिमा अड्काई दिन्छन् । 
 
विगतमा नेपालमा साउदी दूतावास नहुँदा राहदानी बंगलादेशको राजधानी ढाका पुर्‍याएर भिसा, स्ट्याम्पिङ लगायतको काम गराउनुपर्थ्यो । वैदेशिक रोजगार ऐनअनुसार नेपाली कामदारको राहदानी विदेश पठाउन विभागको सिफारिस लिनुपर्छ। अहिले नेपालकै दूतावासले ती दुवै काम गर्न थालिसक्दा पनि विभागले सिफारिस पत्र नबनाई अन्तिम श्रम स्वीकृति नदिने वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले बताए। 
 
‘व्यवसायीलाई दुःख दिने नियतले सिफारिस लिनुपर्ने नियम लादिएको हो,' तामाङले भने, ‘काठमाडौंकै दूतावासबाट सबै काम हुने भए पनि सिफारिस नलिनेलाई अन्तिम श्रम स्वीकृति दिइँदैन। यसले काम झन्झटिलो बन्दै गएको छ।' विभाग कर्मचारीले सिफारिस पत्र बनाउँदा ‘सफ्टवेयरबाट लक–अनलक गर्नुपर्छ' भन्दै ९ हजार रुपैयाँसम्म असुल्ने गरेको व्यवसायीको आरोप छ। 
 
साउदी अरबमा कामदार पठाउने एस इम्प्लोयमेन्ट ब्युरोका सञ्चालक तुलसी प्रसाद काप्री (गोविन्द) ले विभागले नेपालमै हुने कामलाई बाध्यात्मक बनाएको बताए। उनका अनुसार विभागले जारी गर्ने सिफारिस कतै पनि आवश्यक पर्दैन। 
विभागले सिफारिस पत्र बनाएपछि मात्रै अन्तिम श्रम स्वीकृति दिने गर्दा व्यवसायी र कामदारको समय र पैसा बर्बाद भइरहेको उनले बताए। विगतमा बगंलादेशस्थित दूतावासले गर्ने काम अहिले काठमाडौंकैले गर्न थालिसकेकोले सिफारिस कतै काम नलाग्ने उनले बताए ।
 
विभागका प्रवक्ता बद्रि कार्कीले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। ‘कर्मचारीसँग बुझ्नुपर्छ, विभागको साउदी शाखामा बुझेर के प्रक्रिया अगाडि बढाउनुपर्ने हो त्यो हुन्छ,' उनले भने, ‘नेपालमै दूतावास भइसकेपछि भिसा र स्ट्याम्पिङ गर्न राहदानी विदेश लैजान सिफारिस बनाइराख्नु पर्दैन।'
 
काठमाडौंमा ६ महिनाअघि खुलेको साउदी दूतावासले २५/२६ दिनअघि स्ट्याम्पिङको काम थालेको हो । यसअघि दूतावास यहाँ भए पनि बंगलादेशमै गएर भिसा र स्टाम्पिङ गर्नुपर्थ्यो। 
 
साउदी अरब कामदार पठाउने अर्का व्यवसायी तथा मिडलइस्ट म्यानपावरका सञ्चालक अब्दुल सतारले कतिपय अवस्थामा साउदी कम्पनीले नै बंगलादेशमा भिसा लगाउने गरी पठाउने हुँदा त्यस्तो अवस्थामा बंगलादेश जानुपर्ने बाध्यता रहेको सुताए। ‘त्यसबेला विभागको सिफारिस चाहिन्छ। तर नेपालमनै हुने काममा सुविधा दिनु पर्छ,' उनले भने।  नेपालमा साउदी अरबको दूतावास नहुँदा व्यवसायीले कामदारको राहदानी संकलन गरेर बंगलादेश लैजान्थे। बंगलादेश स्थित दूतावासको नेपाल मामिला हेर्ने विभागले यहाँबाट लगिएका राहदानीमा स्ट्याम्पिङ र भिसाको काम गर्थ्यो।
 
Published on: 15 April 2014 | Nagarik

Back to list

;