s
Year of Publication: 13 September 2014 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
एउटा सैनिक अधिकृतले 'रिटायर्ड' जीवन कस्तो बिताउँला? जीवनभरको दु:ख, कष्ट र जोखिमलाई सुखमा बदल्ने, जागिरमा हुँदा टुटेको घरपरिवार, छरछिमेक र इष्टमित्रसँगको सम्बन्ध जोड्ने, सुविधासम्पन्न जीवनशैली अपनाउने। तर ब्रिटिस साम्राज्यका बेला पूर्वी र दक्षिण एसियामा लामो समय बिताएका एक बेलायती सैनिक अधिकृतको जीवनशैलीमात्रै होइन परिचय नै फेरिएको छ।
३९ वर्ष ८० दिन बेलायती सेनामा जागिर खाएर साम्राज्य फैल्याउन नेतृत्व गरेका एक बेलायती सेनाका कर्णेल अहिले विश्वमै पवित्र भूमि नेपाल भन्दै यही बसिरहेका छन्। यसका लागि उनले आफ्ना परिवार, साथीसंगीमात्रै होइन, अँगालेको धर्म, संस्कार र परिचय नै छोडेका छन्।
जेपी क्रस- यो नाम पोखराको नयाँबजारबाट दक्षिण लागेपछि सुरु हुने नयाँ बस्तीका बासिन्दाका लागि आस्थाको नाम हो। ३० वर्षअघि उनैले आफ्नो कुटी बनाएर सुरु गरेको यो टोलमा कोही बिरामी पर्दा होस् वा शुभ काम सुरु गर्दा- सबैले यिनै गोरो अनुहारलाई सम्झन्छन्। 'यहाँको नानीहरू एसएलसी दिएर पास होस् भनेर आशीर्वाद लिनदेखि राम्रो पति-पत्नी पाउँ भनेर आशीर्वाद थाप्न पनि मेरोमा आउने गर्छन्' पाल्पाली ढाकाटोपीमा सजिएका जेपीले अन्नपूर्णसँग भने, 'मलाई यहाँ बस्दा भगवान्को साथमा छु जस्तो लाग्छ।'
झट्ट हेर्दा ५५/६० वर्षे लाग्ने उनको गोरो अनुहारले ९१औं वसन्त पार गरिसकेको छ। बेलायती सेनाको इतिहास बुझ्न उनी एकजना 'लिभिङ हिस्ट्री' हुन्। जसलाई बेलायतले लडेका पूर्वी र दक्षिण एसियाका युद्ध अहिले जस्तै लाग्छ। 'जेपी क्रस' बेलायती सैनिक इतिहासमा समेत 'बोल्ड' गरेर लेखिएको नाम हो। उनको नाम नै साहसिक सैनिकको रूपमा परिचित छ। उनले बेलायती सेनामा हुँदा देखाएको बहादुरी लन्डनमा रहेको 'इम्पाइरियल वार म्युजियम' मा पुग्ने जो कसैले अनुभव गर्न सक्छन्।
बेलायतकै सबैभन्दा ठूलो उक्त म्युजियम'को एउटा कुनामा जेपी क्रम सेक्सन छ। त्यहाँ उनले लडेका भियतनाम, लाओस्, जापानका युद्धका विवरण सजिएका छन्। जेपी बेलायती सेनाको उच्च ओहोदामा हुँदा नेपालभन्दा बढी अरू मुलुकमा बसे। तर किन जीवनको उत्तरार्धमा नेपाली भूमिलाई आफ्नो थलो बनाए? 'मैले धेरै मुलुकमा काम गरे, तर अधिकांश समय गोर्खा सैनिकसँग बिताए' जेपीले भावुक हुँदै भने, 'मलाई मर्नबाट बचाउनेदेखि सबै दु:खसुखमा गोर्खालीले साथ दिए, त्यसैले मलाई यहाँसम्म ल्याइपुर्यायो।'
सन् २००० मा 'गोर्खा एट वार' पुस्तक विमोचनमा उनी लन्डन गए। तर, धेरै बेलायती नै उनलाई बेलायती मान्न तयार थिएनन्। 'साथीहरूले यु आर नट् ब्रिटिस म्यान भने' उनले सुनाए, 'मेरो उच्चारण फेरिएकाले त्यस्तो भनेका रहेछन्।'
नेपालमा पञ्चायती व्यवस्था राख्ने कि प्रजातन्त्र ल्याउने भन्ने विषयमा जनमतसंग्रहताका हुँदा उनी पोखराको ब्रिटिस क्याम्पमा गोर्खा सैनिक छान्दै थिए। तराईको पक्लिहवाबाट पोखरा सरेका उनको पाँच वर्षको बसाइमा पोखरेलीले जेपीको मन जिते। उनी भन्छन्, 'यो भूमि भगवान्को भूमि हो।'
आफू पोखराको ब्रिटिस क्याम्पमा हुँदा दुई हजार एक सय ४८ नेपालीलाई भर्ती गरेको उनलाई अहिलेजस्तै लाग्छ। 'बेलायती सेनामा गोर्खा भनेपछि अहिले पनि युद्ध लड्न दुस्मनहरू डराउँछन्' चार दशकको सैनिक जीवनको अनुभव सुनाए। नेपाली साहित्य त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका जेपीले त्रिविकै नेपाल, एसिया अध्ययनकेन्द्रमा समेत अनुसन्धानकर्ताका रुपमा काम गरेका छन्। उनले विभिन्न भाषामा १७ वटा किताब प्रकाशित गरकेा छन्।
जनमतसंग्रह सकियो। त्यसको केही वर्षमै उनको जागिर पनि सकियो। अवकाश पाएपछि के गर्ने भन्ने सोच्दै थिए। उमेरले ५० काटिसकेको थियो। न श्रीमती छन्, न छोराछोरी नै। भनिन्छ, बेलायती सैनिककी श्रीमती नभए ऊ जीवनभरै एक्लो हुन्छ।' भयो पनि त्यस्तै।
सैनिक जीवनमा विभिन्न युद्धको नेतृत्व गरेकाले विवाह गर्ने फुर्सद नै पाएनन्। 'बिदामा घर जाँदा लन्डनमा चारपाँचवटा केटी हेरेँ' ४० वर्षअघि फर्कंदै उनले दु:खेसो पोखे, 'तर सेना रहेछ, कतिबेला युद्धमा परेर के हुन्छ भन्दै कसैले पनि विवाह गर्न मानेनन्।'
उनीसँग श्रीमती र आफ्नै छोराछोरी छैनन्। तर माया गर्ने नेपाली छोरा चार दशकदेखि सँगै छन्। 'मेरै छोरो भएको भए उहिल्यै मलाई छोडिसकेको हुन्थ्यो' उनीसँगै पोखराको नयाँबस्तीमा रहेका बुद्धिमान गुरुङतर्फ देखाउँदै उनले भने, 'यो भएकाले जीवन सहज भएको छ।'
जेपी र बुद्धिमानको भेटको पनि छुट्टै कथा छ। २०३२ सालतिर बुद्धिमान आफ्नो पुर्ख्यौली घर लमजुङबाट भागेर पक्लिहवा पुगेका रहेछन्। केही दिन त्यतै भौतिरिए पनि गाउँका चिनेजानेका एकजना नेपाली सैनिकले त्यहाँ ब्रिटिस क्याम्पमा भान्सा सहयोगको प्रस्ताव गरेछन्।
'जागिर खोज्दै हिँडेको केटोलाई क्याम्पभित्र काम गर्ने मौका त फुत्काउनै भएन' बुद्धिमान सम्झँदै भने, 'तर हामी सिभिल मान्छे सरकारी क्याम्पमा बस्ने अनुमति थिएन तर पनि म लुकीलुकी काम गरेँ।' केही समयपछि जेपी क्रस सरुवा भएर आए। यी दुईको भेट भयो। त्यसपछि त बुद्धिमानलाई क्याम्पभित्र बस्ने अनुमति नै मिल्यो। क्याम्पमा बसेको दुई वर्षपछि जेपीको आँखामा एक्कासि समस्या देखियो।
'उहाँ अन्धोजस्तै हुनुभयो' बुद्धिमानले सम्झिए, 'त्यो बेला उहाँलाई स्याहारसुसार गर्ने अवसर मैले पाएँ, जसले मलाई उहाँको छोरो बन्ने साइनो जुरायो।' जेपीले हङकङ पुगेर आँखा उपचार गराए। 'मोतीबिन्दु भएको रहेछ' जेपीले भने, 'हङकङमा तीन महिना लगाएर उपचार गराएपछि बल्ल ठीक भयो।' उपचारबाट फर्केपछि जेपीले बुद्धिमानलाई खोजे। 'तिमी मेरो छोरो बन्छौ' जेपीले सोधे। कुरा मिल्यो। क्याम्पमा उल्लास छायो।
सैनिक भएकाले होला जेपीलाई बाबुछोराको सम्बन्धलाई वैधानिकता दिन मन लाग्यो। र, दुवैजना बुद्धिमानको लमजुङको धुसेनीमा रहेको घर पुगे। त्यहाँका तत्कालीन जिम्मल भीमबहादुर दुरासँग धर्मछोरो बनाउन के गर्नुपर्छ भन्ने कुराकानी भयो।
'जिम्मलले अदालत जान सुझाव दिए' बुद्धिमानले भने, 'हामीले अदालत गयौं तर १० वर्षभन्दा बढी उमेरकालाई धर्मछोरो बनाउन नमिल्ने भन्ने जवाफ पाएपछि हामी फर्कियौं।' अदालतले उनीहरू लाई बाबुछोराको नाता गाँस्न मानेन तर उनीहरूको नाता कहिल्यै नटुट्ने गरी मनभित्रैबाट गाँसियो। 'यो छोरो नभएको भए त म उहिल्यै मरिसक्थें होला' जेपीले भने।
जेपीले आफू मरेपछि आफ्नो अस्तु पनि घरकै गमलामा हाल्न बुद्धिमानलाई आग्रह गरेका छन्। 'पछि उसको अस्तु पनि त्यही गमलामा हालेपछि अर्को जुनीमा पनि सँगै बस्न पाइन्छ', सम्बन्धको गहिर्याइ अर्थ्याउँदै जेपीले भने।
नेपाल बसेको केही वर्षपछि तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा उनलाई गैरपर्यटकीय भिसा (लामो समय बस्न पाउने) दिएका थिए। 'नेपाल नै सबैथोक भएपछि मैले पनि नेपाली नागरिकता लिनुपर्छ भन्ने लाग्यो' उनले भने।
'नेपालको नागरिकता ऐन हेरे, २० वर्ष नियमित बसेपछि नागरिकता दिने प्रावधान रहेछ' जेपीले भने, '२०५९ असोज १० गते बेलायती नागरिकता त्यागेँ र त्यही दिन नेपाली नागरिकताको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएँ।'
उनले रीत पुर्याएर निवेदन दिएको १२ वर्ष पुग्यो, तर उनी अझै अनागरिक छन्। गृहबाट अझै जवाफ आएको छैन। 'बेलायतको नागरिकता त्यागेँ, नेपालले दिएको छैन' चिन्तित हुँदै उनले भने, 'कसैको मृत्यु भएर आफ्नो देश जानुपर्यो भने पनि जान नपाउने भएँ।'
नेपाल-बेलायत सम्बन्धको दुई सय वर्षगाँठको अवसरमा पाँच महिनापछि भारतको पठानकोटमा हुने भव्य कार्यक्रममा उनलाई अतिथिको निम्ता आएको छ। तर नागरिकता नै नभएकाले उनी विदेशमा भ्रमण गर्नबाट वञ्चित हुने भएका छन्। 'मसँग कुनै डकुमेन्ट नै छैन, विदेश कसरी जाने' नेपाली प्रशासनप्रति दिग्दारी पोख्दै भने, 'म पछि निवेदन दिएका एक जापानी र एक अमेरिकनले नागरिकता पाएका छन्' उनले भने, 'तर उनीहरू कोभन्दा मेरो सबै प्रक्रिया पुग्दा पनि नागरिकता पाएको छैन।'
गृह मन्त्रालयमा धाउँदा केही सिप नलागेपछि उनी अहिले कास्कीको प्रमुख जिल्ला अधिकारीकोमा धाउन थालेका छन्। 'मलाई किन सौतेनी व्यवहार गरेको? म कहीँ पनि जान पाइनँ, मेरो केही पनि कागजपत्र भएन' सिडियोसँगको भलाकुसारी सुनाए, 'कसैलाई दिने, कसैलाई नदिने विभेद गर्न भएन।'
नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका जेपी त्रिविकै नेपाल, एसिया अध्ययन केन्द्रमा समेत अनुसन्धानकर्ताको रूपमा काम गरेका छन्। उनले विभिन्न भाषामा १७ वटा किताब प्रकाशित गरेका छन्। सैनिक जीवनमा तीन पटक मृत्युको मुखबाट बचेका जेपी युद्धका कारण अझै दाहिने कान राम्रो सुन्दैनन्। 'इन्डोनेसिया युद्धमा मेरो कानको एक इन्चमात्रै टाढाबाट गोली गएकाले कानै बैरो भयो' उनले भने।
क्रिश्चियनबाट हिन्दु
धेरैजसो पश्चिमा मूलका नेपाल आए आफूले अँगाल्दै आएको क्रिश्चियन धर्म प्रचार गर्ने र नेपालीलाई अँगाल्न आश्वासन दिने गर्छन्। तर जेपी क्रस यस्ता व्यक्ति हुन् जसले आफ्नो पुख्र्यौली धर्म त्यागेर हिन्दु धर्मको सच्चा अनुयायी बनेका छन्।
'हिन्दु धर्म नै सच्चा धर्म रहेछ भन्ने मलाई लाग्यो' घरको आँगनमा राखिएको सरस्वतीको मूर्ति देखाउँदै उनले भने, 'म हरेक बिहान यही मन्दिरमा पूजापाठ गर्छु।' चार दशक सैनिक ह्याट लगाउने जेपीको शिरमा अहिले पाल्पाली ढाकाटोपी ढल्किन्छ। 'उहाँले जहाँ गए पनि ढाकाटोपी कहिल्यै छोड्नु हुन्ने बुद्धिमानले भने।
उनी विश्व हिन्दु महासंघका आजीवन सदस्यसमेत छन्। बेलायती सरकारले दिने पेन्सनबाट उनले आफ्नो गुजाराका साथै समाज सेवामा पनि सहयोग गर्दै आएका छन्। 'पेन्सनबापत पाउने वार्षिक २० हजार पाउन्ड घर खर्च र केही समाजसेवामा खर्च गरेको छु' उनले भने।
पल्टनमा हुँदा गाँसिएको गोर्खासँगको माया भुल्न नसकेर उनले सन् २००० मा नेपालका विभिन्न क्षेत्रमा बसेका पूर्वगोर्खाहरूसँग भेट गर्ने अभियानै गरे। 'मैले चार सय ५० जना युद्धको समयमा घाइते भएका, नाम काटिएर फर्किएका र पेन्सनवालालाई भेट' उनले भने, 'पूर्वदेखि पश्चिमसम्म पुगेर भेट्दा मलाई साह्रै आनन्दको अनुभूति भयो।'
Published on: 13 September 2014 | Annapurna Post
GET IN TOUCH