s

इलाकाबाट राहदानी

Year of Publication: 6 January 2019 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

प्रदीपचन्द्र राई

षडानन्द नगरपालिका-१० साङपाङका निमा तामाङ पुस १६ गते राहदानी लिन सदरमुकाम भोजपुर जाने तयारीमा थिए। उनले एक महिनाअघि राहदानी फारम पेस गरेका थिए। तर, गाउँमै राहदानी वितरण हुन थालेको खबर सुनेपछि उनी खुसी भए। चार घण्टाको गाडी यात्रा गर्नै परेन।

इलाका प्रशासन कार्यालय दिङ्लाबाट राहदानी लिएपछि उनी दंग परे। ‘सदरमुकाम जाने खर्च जोगियो। आफ्नै ठाउँमा सेवा पाउँदा खुसी लागेको छ’, उनले भने, ‘राहदानी फारम भर्न सदरमुकाम जाँदा, होटलमा बस्दा, गाडी भाडा, जिल्ला प्रशासनको चक्कर लगाउँदा ७-८ हजार रुपैयाँ सकिएको थिया।’
 
जिल्लामा पहिलो पटक इलाका प्रशासनले सेवा प्रदान गर्न थालेको छ। साल्पासिलिछो गाउँपालिका, किमालुङ, कुदाककाउले, केउरेनीपानी, देउरालीलगायत उत्तरी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्। 
 
यसअघि प्रशासनिक कामका लागि दुई दिनभन्दा बढी पैदल दूरीमा रहेको सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। अब कष्टकर यात्रा गर्नुपर्ने बाध्यता हटेको षडानन्द नगरपालिका किमालुङका बुद्ध तामाङले सुनाए। ‘अब राहदानी बनाउन दुई–तीन दिन लगाएर सदरमुकाम धाउनुपर्ने कष्ट हट्यो’, उनले भने।
 
दूरी छोटिनुका साथै महँगो खर्च पनि गर्नु नपर्ने षडानन्दकी उपमेयर मेरिका राईले बताइन्। यो सेवाबाट उत्तरी भेगमा बसोबास गर्ने सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएको उनको भनाइ छ। फारम भरेको ३५ दिनभित्र सेवाग्राहीले राहदानी प्राप्त गर्ने इलाका प्रशासन प्रमुख विजय राईले जानकारी दिए। 
 
राहदानीका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको उनले बताए। उनका अनुसार छिटो सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पुर्‍याई काठमाडौं जानुपर्छ। त्यहाँ एक दिनमै राहदानी पाउने उनले सुनाए। इलाकाबाट १३ जनाले राहदानी लिइसकेको कार्यालयले जनाएको छ।  
 
Published on: 6 January 2019 | Annapurna Post

Back to list

;