s

कामदार रोकिरहे आन्दोलन : रोजगार व्यवसायी

Year of Publication: 30 August 2013 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रोजगारीको लागि विदेसिन लागेका कामदारलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले विभिन्न बहानामा रोकेपछि आक्रोशित वैदेशिक रोजगार व्यवसायी संघले आगामी सोमबारदेखि आन्दोलनमा जाने चेतावनी दिएको छ।

फर्काइएका कामदारलाई तत्काल विदेश पठाउने वातावरण नबनाए १७ गतेदेखि आन्दोलन थाल्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले बताए। संघले कामदारलाई हवाई टिकटसहित क्षतिपूर्ति दिनुपर्ने, व्यवसायीलाई परेको टिकटको भार बेहोर्नुपर्ने, पूर्वस्वीकृति र अन्तिम स्वीकृति सहज बनाउनुपर्ने, फर्काइएका कामदार र तिनका परिवारलाई राजधानीमा बसुन्जेल खाने, बस्ने व्यवस्था सरकारले मिलाउनुपर्ने जस्ता माग राखेको छ। पाँचबुँदे माग पूरा गर्न संघले सरकारलाई १७ गतेसम्मको अल्टिमेटम दिएको तामाङले बताए।

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति पाएका कामदार सरकारकै अर्को निकाय अध्यागमनले रोकेपछि मर्कामा परेको तामाङले बताए। 'नेपाल सरकारको ऐनअनुसार स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि वैदेशिक रोजगारीमा जान दिनुपर्ने प्रावधान छ,' तामाङले भने, 'कर्मचारीको मिलेमतोमा डकुमेन्ट गलत भएको भन्दै कामदार फर्काउनु उचित होइन।'

हालसम्म अध्यागमन कार्यालयले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश जान खोजेका ३ सय ७५ कामदारलाई फर्काइसकेको छ। सरकारी कर्मचारीको लापरवाहीको सिकार निर्दोष कामदार बनेको तामाङले बताए।

श्रम स्वीकृति पाएपछि पनि अध्यागमनले रोक्ने काम गरिरहे आन्दोलन जारी राख्ने संघले चेतावनी दिएको छ। 'श्रम तथा रोजगार मन्त्रालयमातहतको रोजगार विभागले स्वीकृति दिने र गृहअन्तर्गतको अध्यागमनले रोक्ने गर्दा कामदार फसे,' तामाङले भने। व्यवसायीको माग तत्काल पूरा नभए १८ गते वैदेशिक रोजगार विभागमा तालाबन्दी गरी धर्ना बस्ने संघले चेतावनी दिएको छ। माग पूरा नभए सम्पूर्ण १८ गतेदेखि काम रोक्न म्यानपावर एजेन्सीलाई संघले आग्रह गरेको छ।

वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति दिँदा र विमानस्थलबाट बाहिरिन दिँदा अधिकार दुरुपयोग गरेको आशंकामा गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग र अध्यागमन कार्यालयका ४७ कर्मचारी पक्राउ गरेको थियो। ती कर्मचारीमाथि म्यानपावर एजेन्सीले पेस गरेका झूठा कागजात गैरकानुनी लाभ लिएर सदर गरेको आरोप लगाइएको छ।

अख्तियारले सहकर्मी पक्रेको रिसमा अध्यागमन कार्यालयका कर्मचारीले रोक्न थालेपछि रोजगारीको लागि विदेसिने युवायुवतीको संख्या एक तिहाइले घटेको छ। यसअघि दैनिक १५ सय कामदार बाहिरिने गरेकोमा अहिले घटेर हजार हाराहारीमा आइपुगेको छ।

Published on: 30 August 2013 | Nagarik

Back to list

;