s

मैले देखेको एनआरएनए

Year of Publication: 22 October 2019 | Nagarik

Published by: CESLAM

प्रेम लामिछाने

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे। दुई प्यानल बनाएर उम्मेदवार घोषणा गरी चुनावअघि फेसबुकलगायत सोसल मेडियामा एकअर्कामा चर्काचर्की, विरोध र असन्तुष्टि गर्न नपुगेर चुनावका बेलासमेत तोडफोड गरे र भीड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुप¥यो। चुनावका बेला मात्रै तात्ने एनआरएनको घोषणापत्र कुनै नेपाली नेताको चुनावी घोषणापत्रभन्दा कम देखिन्न। सन् २००३ मा एनआरएनए स्थापनाको उद्देश्य विदेशमा रहेका नेपाली नागरिकका ज्ञान, सीप प्रविधि र पुँजी परिचालन गरी देशमा सामाजिक तथा आर्थिक योगदान दिने रहेको छ।

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे। संघको संस्थागत विस्तारसँगै अन्य विषय थपिने क्रम जारी छ। विदेशमा नेपाली घर बनाउने, आइसकेका नेपालीलाई रोजगारी दिने, नेपालीबीच सद्भाव र वैभवता कायम गर्ने, निकट भविष्यमा नेपाल आउने सम्भावित नेपालीलाई सही सूचना दिने र सहयोग गर्ने, नेपालमा विदेशी लगानी भिœयाई विकास निर्माण गर्ने, आदि इत्यादि कुरा सधैं चुनावी नारामा मात्रै सीमित हुने गरेका छन्। अनि यिनै आप्रवासी नेपाली जसले जति नै ज्ञान, सीप र धन आर्जन गरेर संसार देखे पनि नेपालको एनआरएनए चुनावले केही फरक देखाएन। अनि यिनीहरू नै देशमा विकाश नभएर देश छाडेको वा नेपाली नेताले देशमा केही काम गरेनन् भनेर गाली गर्न पनि पछि पर्दैनन्। चुनावका बेला मात्रै घन्किने एनआरएनएको बेमौसमी बाजाले विगतमा के ग¥यो भन्ने सबैलाई अवगतै छ। चुनावकै बहानामा उनीहरूले नेपाली राजनीति र जातजातिसमेत जोड्न भ्याए। सामाजिक सञ्जालमा अर्काको नराम्रो कुरा बाहिर ल्याएर आफू विशिष्ट भनेर परिचय दिन मरेर लागिपरे मानौं, चुनावपछि उनीहरू अर्कै जातिका मानिस हुनेवाला छन्। नेपालीबीच सद्भाव र आपसी सहयोग गरी जुट्नुपर्नेमा उल्टो देखियो। आफ्नो देशको त के कुरा, विकसित देशमा समेत आफैंले आफूलाई अरूभन्दा ठूलो, सर्वाेच्च भनेर दाबी गर्छन्। साँच्चै काम गरेका भए त विशेष यसै भैहाल्थे नि ! अनि तिनैले भन्छन्– ‘देश नबन्नुमा हाम्रै देशका नेताहरू दोषी छन्।’ तर तिनैले जाति र क्षेत्रका नामबाट राजनीति गरे, कस्तो लाजमर्दो !

हो, धेरैजसो नेपाली बाध्यताले नै विदेशिएका पक्कै हुन्। आफूले हासिल गरेको शैक्षिक प्रमाणपत्रले स्वदेशमा खान नपुगेपछि बाउको औंठी र आमाको सिक्री धरौटी राखी सात समुद्रपारि धेरै नेपाली गएकै हुन्। देश १० बर्से जनयुद्धमा होमिएसँगै आफ्नो घर तथा छिमेकमा धेरैले ज्यान गुमाउँदा अनि कैयौं अंगभंग भएको देख्न नसकेर घाउको खाटो निको पार्न सकिएला कि भनेर नेपाल छाड्न धेरै बाध्य भएकै हुन्। बुद्धको देशमा शान्ति नभेटिएपछि शान्ति र सुरक्षाकै निम्ति कैयौं नेपाली बाहिरिनु परेको अवश्य हो। देश खाडीबाट आउने रेमिटान्सको भरमै चलेको छ। धनी देशमा गएका नेपालीले त देशमा पैसा होइन, आफ्नो परिवार लग्न भिसा पठाउँछन्। भुकम्प, बाढीपहिरोजस्ता आउने विपद् सामना गर्न सहयोग गर्न जुटेको कुरालाई नकार्न सकिन्न। खाडीको ५० डिग्रीको तापक्रम अनि क्यानाडाजस्तो देशको ५० डिग्रीको कठ्यांग्रिदो चिसोमा कमाएको पैसाले विपद्मा परेका नेपालीको मुहार खुसी बनाउन केही हदसम्म सफल भएकै छ। नेपाल पठाइएका ती रकम सदुपयोग भएको भए के हुन्थ्यो होला ? कल्पना मात्रै गर्न सकिन्छ। विदेशमा भाँडा माझेरै भए पनि कमाएको किन नहोस्, धेरैले सहयोग गरेकै हुन् तर तिनको दुःखले आर्जन गरेको रकम सदुपयोग होस् भन्ने चाहना जोकोही आप्रवासी नेपालीको हुन्छ। संसारका विकसित देश पार्टीगत सिद्धान्तले होइन, ज्ञान, सीप र नवीन सोच–विचारले चलेका छन्।

गम्भीर भएर सोच्दा त लाग्छ– जसोतसो विदेश आइपुगेका धेरैजसो नेपाली केसम्म गर्न पछि पर्दैनन् भनेर ! जस्तो ः विदेशमा कागज बनाउन जे पनि गर्ने। नक्कली बिहे गरेर होस् वा विभिन्न कार्यक्रमका सिलसिलामा आएर लुक्ने होस् अनि आफू सहजै सुकुमवासी बनेर होस्, विदेशमा बस्ने नै उद्देश्यले धेरै काम भएका छन्। कन्सल्टेन्सी र मेनपावरको भर परी उचित भाषा, सीप र ज्ञानको अभाव हुने र भिसै लागेकाहरूको पनि धेरैको नवीकरण नहुने हुँदा शरणार्थी भनेर कागज पेस गरी सरकारी भत्ता खाने थुप्रै नेपाली भेटिन्छन्। विभिन्न निहुँ बनाएर, अर्कै देशको शरणार्थी दाबी गर्न विदेशी वकिल राखी कागज बनाउन थुप्रै लागिपरेकै छन् अनि तिनैले आफू कतिसम्म गिरेको छु भन्ने बिर्सिन्छन्। उल्टै नेपालमा यो भएन, त्यो भएन भनेर नेता र देशलाई सराप्छन्। आफ्नो पृष्ठभूमि नै बिर्सेर अरूलाई सहजै अपनाउन मरिमेट्ने नै देशलाई गाली गर्ने चलन चलाइयो।

विदेशमा अर्काथरि नेपाली भेटिन्छन् जसले थुप्रै विद्यार्थीलगायत नेपालीलाई भाषा र सीपबिनै रोजगारी दिएको भनेर फलाक्छन्। धेरैजसो पश्चिमी मुलकमा नेपाली होटल तथा रेस्टुरेन्टमा काम गर्ने र त्यही काम सिकेर उतै व्यवसाय गर्ने चलनै छ। हिजो तल्लोस्तरका काम गरेर दुःख भोग्नेले आज आफू साहु बन्दा हिजो आफूले भोगेका दुःख भुल्छन् र जानीजानी अवैध बसोबास गर्ने र विद्यार्थी खोजेर अति निम्न पैसामा अवैध रूपले काममा लगाएर ज्यादा फाइदा लिने गर्छन्। पैसैको लागि आफ्नो इमान बेची एक नेपालीले अर्को नेपालीलाई शोषण गर्छन् अनि तिनैले सारा नेपाली विद्यार्थी र अवैध बसोबास गर्नेलाइ रोजगारी दिएको भनेर छाती फुलाउँछन्। कुनै नेपालीलाई विदेशमा साँच्चै आवश्यक पर्दा मनैबाट सहयोग गर्नेहरू कमै भेटिन्छन् अनि तिनैले मेरो देशमा केही भएन, केही गरेनन्, देश–विदेश सबै बिगारे भनेर गाली गर्छन्। सुशासन, उत्तरदायित्व र पारदर्शिता भएको देशमा बसेपछि त उस्तै सोच र व्यवहार हुनुपर्ने होइन र ?

एनआरएनएकै सन्दर्भमा हेर्ने हो भने यसपटकको चुनावले एकचोटि सबैलाई सोच्न बाध्य बनाएको छ। राजनीति गुटबन्दी बढेर उत्कर्षमा पुगेको महसुस जो कसैले गरे। सम्मेलनमा तोडफोड हुनु र प्रहरीले लाठीचार्ज गर्नै बाध्य भएको अवस्थाले सबैलाई चकित पारिदिएको छ। केही मिडियामा आएको कुरा पढ्दा र हेर्दा आफ्नै देशप्रति ‘कठै’ मात्रै भन्न सकिन्छ। झन्डै ३ हजार एनआरएनए प्रतिनिधि विश्वका कुनाकाप्चाबाट एकसाथ नेपाल भित्रिँदा पक्कै पनि देशको अर्थ बजारमा फाइदा पुगेकै होला। तर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ठोस कदम केही चालिएन। यति संवेदनशील विषयमा नेपाल सरकार, पर्यटन बोर्ड र एनआरएनए सबै सचेत हुनुपथ्र्यो कि पर्थेन ? नेपाली रेडियो, टिभीमा भ्रमण वर्षको नारा फुकेका भरमा विदेशी ओइरिन्न। न त भ्रमण वर्षको टिसर्ट र क्यापले केही नाप्नेवाला छ। गैरआवासीय नेपाली एकै ठाउँमा भेला भएका बेलामा त कसरी हातेमालो गरेर पर्यटन वर्ष सफल पार्ने भनेर पो गतिविधि बढाउन अघि बढ्नुपर्ने थियो जसले देशको आर्थिक, सामाजिक र सांस्कृतिक सबै पाटो झनै सुमधुर बनाएर लग्थ्यो। संसारका जुनसुकै ठाउँमा बसोबास गरेको भए पनि सबै नेपालीको शरीरमा आफ्नै मातृभूमिको तातो रगत बगेको छ। सबैको चाहना देशमा सुशासन, उत्तरदायित्व र पारदर्शिता होस् भन्ने नै हो। एनआरएनएको नयाँ कार्य समितिले सबैलाई समावेश गर्दै सहकार्य गरेर सबैले चाहेको राम्रो नेपाल बनाउन विशेष भूमिका खेलोस्, शुभकामना !

Published on: 22 October 2019 | Nagarik

Link

Back to list

;