s
Year of Publication: 30 December 2013 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
मलेसियामा १० वर्षअघि खुलेको नेपाली दूतावास अहिले रहेको भवनबाट अन्यत्रै सर्ने भएको छ। दूतावास स्थापनाकालमै लिइएको अपार्टमेन्टबाट छुट्टै भवनमा सार्न लागिएको हो।
मलेसियामा ५० हजार नेपाली रहेकै बेला दूतावास स्थापना भएको थियो। वैदेशिक रोजगारीका क्रममा अहिले मलेसियामा ६ लाखभन्दा बढी नेपाली छन्। यति ठूलो संख्यामा रहेका नेपालीलाई सेवा दिइरहेको दूतावास स्थानाभावको समस्या झेल्दै आएको छ। यही समस्याका कारण दूतावासलाई फराकिलो र खुला स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल दूतावास ट्विन टावर (केएल टावर) नजिकै रहेको एक भवनको १४ औं तलामा छ।
दूतावासमा कर्मचारी बसेर सेवा दिने स्थानको समेत अभाव भएपछि यसअघि नै कार्यालय सार्ने प्रयास गरिएको थियो।
राजदूत निरञ्जनमानसिंह बस्न्यात डेढ महिना मलेसियाको इम्तियाना होटेलमा बसेर यसै सातामात्र छुट्टै भवनमा सरेका छन्। आफू छुट्टै निवासमा सरेपछि उनले दूतावास सार्न पहल गरेका हुन्। मलेसिया सरकारले कूटनीतिक नियोगहरूका लागि छुट्ट्याएको पुत्राजयमा नेपालको आफ्नै जग्गा भए पनि त्यहाँ जानसक्ने अवस्था नरहेको भन्दै तत्कालका लागि अलि खुला स्थानमा रहेको भवनमा दूतावास सार्ने तयारी गरिएको हो।
दूतावास सार्नेबारे राजदूत बस्न्यातले टेलिफोनमा अन्नपूर्ण पोस्ट्सँग भने, 'दूतावास सार्नुको विकल्प देख्दिनँ। अहिले १४ औं तलामा दूतावास छ। निकै साँघुरो ठाउँमा रहेर काम गर्नुपरेको छ। नेपाली सेवाग्राही आउँदा वा कुनै विदेशीसँग बैठक गर्नु पर्दा सम्भव नहुने खालको बनावट रहेकाले पनि दूतावास सार्नुको विकल्प छैन।'
बस्न्यातले दूतावास सार्न स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका थिए। मन्त्रालयले स्थलगत अध्ययन टोलीले दूतावास भवन तत्काल सार्नुपर्ने सुझाउसहितको प्रतिवेदन दिएको थियो।
Published on: 30 December 2013 | Annapurna Post
GET IN TOUCH