s
Year of Publication: 23 January 20196 | Annapurna Post
Publication Type: NEWS
Published by: CESLAM
शम्भु कट्टेल
नेपालको नक्कली भिसा सहजै बेचबिखन भइरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता हो यो । नेपालले ११ देशका नागरिकबाहेक अन्यलाई अनअराइभल भिसा दिने गरेको छ । नेपालको नक्कली भिसा किनबेच हुनु र त्यस्तो भिसामा कुनै विदेशी यहाँ आउनु स्वाभाविक होइन ।
पछिल्लो पटक नेपालको नक्कली भिसामा यात्रा गर्ने ५ विदेशी अध्यागमनको हिरासतमा छन् । तीमध्ये ३ नाइजेरियाली र २ टर्किस हुन् । नक्कली भिसामा वर्षैभरि अनेकौं विदेशी नेपाल प्रवेश गर्नु र ओभरस्टे बस्नु, उनीहरू के गर्छन् गृह र सुरक्षा निकायले कुनै अनुगमन नगर्नुले देश कुनै संदिग्ध संगठित आपराधिक वा आतंककारी समूहको सुरक्षित ठेगाना त बनिरहेको छैन ? उनीहरूले ठूलै घटनाको योजना बनाइरहेका त छैनन् ? आशंका जन्माएको छ ।
सेनाका अवकासप्राप्त उपरथी ताराबहादुर कार्कीले नक्कली भिसा लिएर नेपाल प्रवेश गर्न खोज्ने विदेशीका गतिविधिले राष्ट्रिय सुरक्षामा चुनौती बढाउने बताए । ‘त्यस्ता व्यक्ति आतंककारी गतिविधिमा संलग्न भएका हुन सक्छन्’, उनले भने, ‘विदेशीमाथि प्रभावकारी अनुगमन हुनुपर्छ ।’ आतंकवाद, मानव तस्कर, लागुऔषध कारोबारलगायत अवाञ्छित गतिविधिमा संलग्न विदेशीले मात्र नक्कली भिसा प्रयोग गर्ने उपरथी कार्कीले बताए । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै त्यस्ता व्यक्तिले दुवै देशमा आपराधिक र आतंकवादी क्रियाकलाप गर्ने सम्भावना उनले व्यक्त गरे ।
कैयौं विदेशी नक्कली भिसा किनेर नेपाल आउन थालेका छन् । उनीहरू किन त्यस्तो भिसामा नेपाल यात्रा गर्छन् ? सुरक्षा निकाय, अध्यागमन विभाग र गृह मन्त्रालय कसैले पनि यसको कारण खोतल्ने प्रयाससम्म गरेका छैनन् । अधिकांश देशका बासिन्दाले नेपालको भिसा सहजै पाउँछन् तर किन नक्कली भिसा किन्छन् ? अनुसन्धानमा जुटेको अध्यागमन विभागसँग समेत यसको जवाफ छैन । विदेशी भूमिमा नेपालको नक्कली भिसा बन्नुमा कुनै नेपाली एजेन्टको नै सहभागिता हुनसक्ने देखिएको छ ।
प्रभावकारी अनुसन्धान नहुँदा जाली भिसा र राहदानीमा यात्रा गर्ने विदेशीले सजिलै उन्मुक्ति पाउँदै आएका छन् । नेपाल प्रवेश गरेदेखि नर्फकिउन्जेल सबै विदेशीमाथि निगरानी राख्नुपर्ने सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । विदेशीको प्रभावकारी निगरानी नगर्ने हो भने कुनै पनि समय उनीहरूका गतिविधिले समस्या निम्त्याउन सक्ने सुरक्षा मामिलाका जानकारको भनाइ छ ।
नक्कली भिसावाहक विदेशी पक्राउ परे पनि त्यस्तो भिसा कहाँ र कसले बनाउँछ अध्यागमन र गृह कसैले पनि अनुसन्धान गरेको छैन । अध्यागमन विभागका महानिर्देशक समेत भइसकेका पूर्वसचिव शरदचन्द्र पौडेलले किर्ते गर्न नसकिने सुरक्षित भिसा लागू गरे मात्र नक्कली भिसा प्रयोग रोकिने बताए । नेपालको भिसा हुलाक टिकट जस्तो सामान्य भएकाले सजिलै नक्कली बनाउन सकिन्छ । जाली भिसा प्रयोगकर्ताको बयानबाट मात्र नक्कली भिसा बनाउने गिरोहसम्म पुग्न सकिने पौडेलको भनाइ थियो । उनले भने, ‘जतिसक्दो छिटो धेरै सेक्युरिटी फिचर भएको भिसा लागू गर्नु पर्छ ।’
पुस अन्तिम साता ३ नाइजेरियाली नेपालको नक्कली भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले पक्रेको हो । नेपालको भिसा नक्कली भएको भन्दै थाई अध्यागमनले फर्काएका ३ टर्कीस पनि हिरासतमा छन् । ३ मध्ये २ टर्कीससँग नेपालको नक्कली भिसा छ । उनीहरूले एजेन्टको सहयोगमा भारतमा नेपालको भिसा किनेको बयान दिएका छन् ।
नाइजेरियालीले लिएको भिसा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावास र केन्याको नैराबीस्थित नेपालको कन्सुलेटबाट जारी भएको देखिएको छ । उक्त भिसा ती निकायबाट जारी नभएको पुष्टी भएको छ । उनीहरूले प्रति भिसा ५ सय अमेरिकी डलर तिरेको बयान दिएका छन् । बयानमा उनीहरूले नाइजेरियाली एजेन्टको सहयोगमा भिसा लिएको बताएका छन् । विभागले पक्राउ नाइजेरियाली ओनुओरा नेवेचुकवा, अजम एन्थोनी र इमेका पान उचेकाबारे थप अनुसन्धान गरिरहेको छ ।
Published On: 23 January 20196 | Annapurna Post
GET IN TOUCH