s

पक्राउ विरोधमा फर्काइए ९० कामदार

Year of Publication: 25 August 2013 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

बिनाठोस प्रमाण भ्रष्टाचार आरोपमा सहकर्मीलाई अख्तियारले पक्राउ गरेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले शनिबारदेखि वैदेशिक रोजगारमा जाने कामदारमाथि कडाइ गरेका छन् । उनीहरूले 'विवरण नमिलेको' भन्दै वैदेशिक रोजगारमा हिँडेका ९० जनालाई फर्काएको स्रोतले बतायो । वैदेशिक रोजगार विभागका कर्मचारीले म्यानपावर कम्पनीको झूटो बेहोराका कागजातका आधारमा नेपाली कामदारलाई विदेशमा पठाएको र नक्कली कागजात हो भन्ने जान्दाजान्दै अध्यागमनका कर्मचारीले पासपोर्टमा छाप लगाई विदेश जान दिएको आरोपमा अख्तियारले वैदेशिकका १७ र अध्यागमनका १८ जनालाई शुक्रबार पक्राउ गरेको थियो ।

अध्यागमनका एक कर्मचारीले भिसा र वर्क पर्मिट छ कि छैन भनी हेरेर पासपोर्टमा छाप लगाएर कामदारलाई विदेश जान दिने हो भन्दै वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिमा कैफियत छ कि छैन भनी हेर्ने दायित्व आफूहरूको नभएको र तर अख्तियारले बिनाप्रमाण सहकर्मीलाई भ्रष्टाचारमा फसाएको दाबी गरे ।

अख्तियारले एउटा कम्पनी, पद र तलबसुविधा भन्दै अर्कै कम्पनी, तलबसुविधा र पदमा पठाएको मुख्य आरोप वैदेशिकका कर्मचारीमाथि लगाएको उल्लेख गर्दै ती कर्मचारीले भने, 'हामीले वर्क पर्मिटमात्र हेर्ने हो, कम्पनी परिवर्तन गरिए/नगरिएको थाहा हुँदैन । कम्पनी फरक पर्यो भनेर अध्यागमनका कर्मचारीलाई फसाउँदै जाने हो भने हामीले कसरी काम गर्न सक्छौं ?' अध्यागमनका कर्मचारीले श्रमले दिएको स्वीकृतिअनुसार भाषा नबुझिएका र कामको विवरण नमिलेका ९० कामदारलाई विदेश जानबाट रोकेको जानकारी दिए । 'पहिले हामीले श्रमले स्वीकृत दिएपछि सरासर पठाउने गरेका थियौं,' अध्यागमनका अर्का कर्मचारीले भने, 'अख्तियारले १८ जनालाई पक्राउ गरेपछि भिसामा कामको विवरण नमिलेका तथा भाषा नबुझिएका कामदारलाई रोकेका हौंं ।' उनले अरबीलगायत भाषा नबुझिएकाहरूलाई आधिकारिक स्थानबाट भाषा अनुवाद गरेर ल्याउन आग्रह गरिएकोसमेत बताए ।

Published on: 25 August 2013 | Kantipur 

Back to list

;