s

श्रम गन्तव्यमा नेपाल

Year of Publication: 12 September 2022 | Gorkhapatra

Published by: CESLAM

नेपाली श्रमिकले विदेशमा काम गरेर स्वदेशमा पठाउने विप्रेषणको रकमले नेपाली अर्थतन्त्रलाई धेरै मात्रामा भरथेग गरेको यथार्थ हो। नेपालले वार्षिक २० खर्ब रुपियाँ हाराहारीको आयातमा विप्रेषणले आधा हिस्सा लिएको छ। कतिपय विज्ञको भनाइमा यही विप्रेषणका कारण नेपालको वैदेशिक व्यापार धानेको छ। व्यापार घाटा अत्यधिक हुँदाहुँदै पनि विदेशी वस्तु आयातमा विप्रेषण निकै सहयोगी भूमिका खेलिरहेको छ। गत वर्षको आँकडा मात्र केलाउने हो भने पनि वैदेशिक रोजगारीका निम्ति साढे तीन लाखभन्दा बढी नेपालीले अन्तिम श्रम स्वीकृति लिएका थिए। विदेश जाने ती नेपालीहरूले विप्रेषणबापत गत वर्ष आठ अर्ब डलरभन्दा बढी अर्थात् दस खर्ब सात अर्बभन्दा बढी रुपियाँ स्वदेश पठाएका थिए। मुलुकको उत्पादकत्व अभिवृद्धिका सन्दर्भमा विप्रेषण रकम पूर्ण रूपमा सदुपयोग हुन नसके पनि नेपालको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न धेरै हदसम्म यसको महत्वपूर्ण भूमिका रहेको तथ्यलाई अस्वीकार नगर्न सकिँदैन। विप्रेषणले ल्याउने आर्थिक गतिशीलताकै कारण नेपालको अर्थतन्त्रको मियो चलेको छ। अर्थतन्त्रमा कृषिभन्दा बढी योगदान हुन थालेको छ। यस्तै आर्थिक गतिशीलताका कारण राजस्वमा समेत योगदान पुगेको छ ।

विप्रेषण भित्र्याउने  मुलुकका रूपमा आमजनमानमा यो तथ्य जरो गाडेको पाइन्छ। तर यो वास्तविकतासँगै अर्को पक्ष पनि छ। त्यो अलिक भिन्न पनि रहेको छ। नेपालीहरूका लागि विश्वका विभिन्न मुलुक आकर्षक रोजगारी गन्तव्य बनिरहेका जस्तै नेपालसमेत विदेशीका लागि काम गर्ने गन्तव्य बनेको छ। नेपाल आकर्षक रोजगारी गन्तव्यका रूपमा विकसित हुँदै गएको तथ्याङ्कहरूले बोलिरहेका छन्। सुन्दा अविश्वसनीय लाग्न लागे पनि सत्य यही हो। विश्वका ६९ देशका नागरिक श्रम स्वीकृति लिएर नेपालमा विभिन्न रोजगारीका पेसा अपनाइरहेका छन्। विश्वका धनाढ्य मुलुक अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटलीदेखि एसियाली तथा अफ्रिकी मुलुकसम्मका नागरिकका लागि पनि नेपाल रोजगारीको गन्तव्यका रूपमा चिनिँदै छ। अझ आश्चर्य एवं अनौठो कुरो, नेपालीहरूको आकर्षक श्रम गन्तव्यका रूपमा लिइने मलेशियाका नागरिकसमेत श्रम इजाजतसहित यहाँ कार्यरत छन्। बर्सेनि आठ अर्ब बाहिर जानु हाम्रा लागि सानो कुरा होइन तर यो राशि अझै ठूलो छ। 

नेपालमा विदेशीले काम गर्ने भएपछि विप्रेषण रकम बाहिरिने भयो। त्यसैले नेपाल विप्रेषण भित्र्याउने  मात्र नभई विप्रेषण बाहिर प्रवाह गर्ने मुलुकका रूपमा समेत रहेको स्पष्ट हुन्छ। भारतलगायत ६९ देशका नागरिकले गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट करिब आठ अर्ब रुपियाँ विप्रेषण लगेका छन्। तर निश्चित रूपमा पनि यो आँकडा पूर्ण नभएकोमा दुई मत छैन। स्वयं नेपाल राष्ट्र बैङ्क पनि यो तथ्यमा सहमत देखिन्छ। विशेषगरी नेपालमा कार्यरत विदेशी कामदारमध्ये अधिकांश केही न केही दक्षता तथा सीपसहित आएका हुन्छन्। त्यसको पारिश्रमिक तुलनात्मक रूपमा निकै बढी हुन्छ। यसैगरी नेपालका साना तथा मझौला उद्योग भारतीय कामदारमाथि नै आश्रित छन्। उनीहरूको सङ्ख्या १३ लाखभन्दा बढिरहेको छ। इँटाभट्टा, काठ उद्योग, खुद्रा तरकारी व्यापारलगायत नेपालका अधिकांश साना ठूला उद्योग व्यापारमा भारतीय नागरिकको संलग्नता कसैबाट लुकेको छैन। यस अर्थमा पनि हिसाब गर्दा भारतीय श्रमिकले नेपालबाट प्रवाह गर्ने विप्रेषण आँकडा सार्वजनिक आँकडाभन्दा कैयौँ गुणा अधिक हुनेमा शङ्का छैन। नेपालबाट भारत जाने पैसा भनेको धेरैजसो अनौपचारिक माध्यमबाटै जाने गरेको देखिएको छ। औपचारिक तथ्याङ्कमा त्यस्तो विप्रेषण दर्ता हुने कुरा भएन। 

नेपालीहरू वैदेशिक रोजगारीका निम्ति विदेशमा भौँतारिरहँदा स्वदेशमा नै विदेशीले तुलनात्मक रूपमा सहज तवरले राम्रो आयआर्जन गरिरहेको पाइन्छ। विदेशी भूमिमा रगत पसिना बगाउनुभन्दा सरकारले पनि विदेशीको दाँजोमा स्वदेशी जनशक्तिलाई प्रशिक्षण, तालिम प्रदान गरेर दक्ष बनाएर विदेशी कामदारको स्थानमा उपयोग गर्न सके विप्रेषण बाह्य प्रवाहमा केही कमी आउने छ। स्वदेशीले स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना हुने आधार बन्ने छ। नेपालका आर्थिक विकासका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु ठूलो चुनौती हो। पचासौँ लाख युवा बाहिर गएका छन्। नेपालभित्रै रोजगारी सिर्जना गरेर नेपालीले नै काम गर्ने अवसर सिर्जनाले मात्र मुलुकको दीर्घकालीन हित हुन सक्ने देखिन्छ।  

Published on: 12 September 2022 | Gorkhapatra

Link

Back to list

;